Skip to main content

Posts

Showing posts from October, 2012

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे । पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना । तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ । कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ

नदी र सडक

पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी । अहिले नदी छेउ छेउ नदीको लम्बाइलाई नदीको बगाइलाई नदीको ‌बेगलाई चुनौती दिँदै सडक सुतेको छ । घीनलाग्दो सडक सुन्दर नदी छेउ मुर्दा जस्तै सुतेको छ, सडक न त नदी जस्तै लामो-लामो छ न त नदीजस्तै बग्छ न त नदीजस्तै बज्छ ! नदीमा त केवल मरेका मान्छेहरु मात्र बग्थे सडकले त जिउँदा मान्छेहरु बगायो, बलिया पाखुरा र बलिया घोडाहरु बगायो, परबाट घन्टी बजाउँदै लोमान्थाङबाट घोडा चढेर आउने दारा गुरुङका इष्टमित्र बगायो, कति सम्बन्ध बगायो, नदी छेउका कति देउता, ढुङ्गै सही: त्यो पनि बगायो, नदी त आफू धेरै बग्थ्यो अरुलाई कम बगाउँथ्यो तर यो सडक आफू बग्दै बग्दैन र अरुलाई बगाइरहन्छ । अक्टोबर २०१२, मुस्ताङ