Skip to main content

Posts

Showing posts from February, 2013

बूढो माउते र हात्ती

अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल देखाउँछ जङ्गली जनावरहरु एक सिङ्गे गैंडा र मृगका बथान देखेर चिच्याउँदै गर्दा उसका सवारीहरु बुढो माहुते मोलिरहन्छ खैनी बेपर्वाह हरेक सूर्यास्तमा बाफ उडिरहेको खोलामा पिलाएर हात्तीलाई पेटभरि पानी बुढो माहुते धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु पिउन थाल्छ हात्ती जस्तै अन्धाको देशमा हात्ती जस्तै उ छामिरहन्छ जिन्दगी कहिले जिन्दगी खाँबो जस्तो कहिले जिन्दगी डोरी जस्तो कहिले जिन्दगी भित्तो जस्तो पिउँदा पिउँदा हरेक साँझ प्राय उसलाई लाग्छ जिन्दगी रित्तो रित्तो जस्तो

डेरियो लोपेज: एउटा नामको कथा

हुन त विलियम शेक्सपियरले 'नाममा के नै छ र ?' भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा । बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।

किम्बुको बोटमुनि

हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि तिमी पनि त रोज्ने गर्थ्यौ मेरै घर छेउको साँघुरो बाटो बजार जाँदा छाडेर छोटा र सजिला मूलबाटाहरु किम्बुको बोटमुनि खेल्ने गर्थ्यौं हामी गुडियाहरु जहाँ तिम्रा पुतली र मेरा पुतलीका अनगिन्ति विवाह महोत्सव भएका थिए किम्बुको बोटमुनि हुन्थेँ म सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न किनभने तिमी छोटो फ्रक लगाएर चढ्दथ्यौ किम्बुको रुख र झारिदिन्थ्यौ मेरा लागि गुलिया रसिला किम्बुहरु किम्बुको बोटमुनि बुन्ने गर्थ्यौं हामी थुप्रै थुप्रै कोमल रेशमी सपनाहरु गुजुल्टिएर किम्बु फलेझैं कुनै विहान अचानक फक्रेको थियौ तिमी हो त्यसैदिन देखि तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमुनि त्यसैदिनदेखि हुनु पर्छ तिमी हिँड्न पनि छाडेका थियौ बजार जाने मेरो घरको बाटो मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोटमा जतिखेर तिमी रँगिएर सिउँदोमा छाडेर जाँदै थियौ सँधै सँधै किम्बुक

आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए । काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मा