यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ । विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।