Skip to main content

Posts

Showing posts with the label Opinion

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन । धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

बेलायत डायरी

मौसम हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरू...

डेरियो लोपेज: एउटा नामको कथा

हुन त विलियम शेक्सपियरले 'नाममा के नै छ र ?' भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा । बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।

आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए । काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मा...

जसले 'भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ । विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे । पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना । तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ । कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ...

मिसन मंगल

अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए । सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको 'स्पेस रेस'मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन । केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रम...

एउटा युद्धको अन्त्य

घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको 'अन्त्य' हुँदै थियो । अंग्रेजीमा 'प्याराडक्स' भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटन...

जसले बोल्दा आगो बल्छ

नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ । इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो । जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

प्रधानमन्त्रीको इमेल

प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो। तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो। इन्टरनेटको माध्यमबाट पठाइने सन्देशलाई इमेल भनिन्छ। सामान्यतः इमेलमा लेखिने सन्देशको लमाइ र प्रकारको कुनै सीमा हुँदैन। इमेल पठाउनेले अक्षरमात्र होइन, तस्बिर, आवाज र भिडियो पनि पठाउन सक्छन्। तर के देशको प्रधानमन्त्रीले जनताका कुरा सुन्न प्रविधिलाई नै साथ लिँदा पनि इमेल नै सबैभन्दा प्रभावकारी ...

एसएलसीको भूत र मिडिया

एसएलसीलाई वर्षौंदेखि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण तहको रुपमा अपव्याख्या गरिँदै आइएको छ । मिडियाले दिएको आइरन गेटको नाम पनि चर्चित भएको छ । नेपालको शैक्षिक व्यवस्था अनुसार एसएलसी परीक्षा १० वर्षे विद्यालय तहको अन्तिम परीक्षा हो जुन पास गरेपछि क्याम्पस पढ्न पाइन्छ । एसएलसी पास गर्दा विद्यार्थी को सरदर उमेर १५ देखि १९ वर्षसम्मको हुन्छ । तर दुर्भाग्यपूर्ण पक्ष के छ भने एसएलसी पास गरेको विद्यार्थीले स्वरोजगारको लागि कुनै व्यवहारिक शीप जानेको हुँदैन ।विद्यालयमा घुँडा धसेर सिकेको ज्ञानले उसलाई खेती गर्न आउँदैन गाडी चलाउन आउँदैन कम्प्युटर बनाउन आउँदैन फर्निचरको काम गर्न आउँदैन कस्टमर सर्भिसको काम गर्न आउँदैन । एसएलसी त केवल दशकौं अघिका शासकहरुले शिक्षित र अशिक्षितबीचको स्पष्ट विभाजन कायम गर्न सुरु गरेको एउटा डरलाग्दो प्रथा हो । एसएलसीको जुन ढंगले मिडियाले प्रचार प्रसार र बढाइचढाईं गर्दै आएको छ त्यसले यस प्रथालाई थप मलजल गरेको छ । विद्याथीमाझ एसएलसी नामको डरलाग्दो भूतको सिर्जना पनि मिडियाले गरेको हो । जसको कारण उतीर्ण हुनेको आँकडा कहिल्यै पनि सन्तोषजनक हुन सकेको छैन । विद्यालय...

के खोजेको गुगलले?

सन् २००६ मा चीनको विशाल इन्टरनेट बजार देखेर गुगलको आँखा यस गतिशील अर्थतन्त्रमा गाडिएको थियो । चीनमा सेवा सुरु गर्नको लागि चीन सरकारले अघि सारेको सेन्सरसिपको शर्तलाई समेत गुगलले मानेको थियो । उक्त शर्त अनुसार गुगलको सर्च रिजल्टमा तियानमेन हत्याकाण्ड, तिब्बत स्वतन्त्रता लगायतका विवादित र चीन सरकारको नीति बिपरितका कुराहरु देखाउन पाइँदैन थिए। सर्च रिजल्टमा सेन्सरशिप लगाउने चिनीयाँ प्रस्ताव मानेकोमा त्यो बेला गुगलको थुप्रै आलोचना पनि भएको थियो । तर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने बताउने गुगलले नहुनु मामा भन्दा कानो मामा ठीक भन्दै आफ्नो बचाउ गरेको थियो । गुगलको तर्क थियो चिनियाँहरुलाई सूचना दिँदै नदिनु भन्दा सेन्सर गरेको सूचना दिनु सही हो । ३ वर्ष पछि, गएको साता गुगलले चिनियाँ मानवअधिकारवादीहरुको जिमेल एकाउन्टमा चीनबाट पटक पटक सुनियोजित आक्रमण भएको भन्दै चीनमा आफ्नो कम्पनी बन्द गर्ने संकेत दिएको छ । गुगलले भनेको छ, उसले अब चीन सरकारको शर्त मान्ने छैन र चीनमा आफ्ना सर्च रिजल्टहरुमा सेन्सर गर्ने छैन । जसको मतलव चीनले सेन्सर नगरिएको गुगल सर्चमा प्रतिबन्ध लगाउनु हो र ७ सय जनालाई...

पाकेटमारलाई सावधान कि पाकेटमारदेखि सावधान ?

आरएनएसी अगाडिको सडक छेउमा रहेका विजुलीको पोलमा, हुलाकमा, अस्पतालमा, सिनेमा हलमा, सार्वजनिक सौचालयमा, लोकल बसमा, नेपाल यातायातमा, नाइट बसमा, ट्याम्पुमा, विमानस्थलमा, तरकारी बजारमा, माइक्रोमा, नेपाल टेलिकममा, विद्युत प्राधिकरणमा, खानेपानी लिमिटेडमा, सिँहदरबारमा- जहाँ त्यहिँ लेखिएको हुन्छ 'पाकेटमारदेखि सावधान' । राज्यका सुरक्षा निकायहरुले जनताको भिडभाड र व्यस्तता हुने सबै ठाउँमा पाकेटमारदेखि सावधानी गराएर ठूलो कर्तब्यवोध गरेका हुनुपर्छ । जर्ज अर्वेलको उपन्यास नाइन्टिन एट्टी फोर को पात्र बिग ब्रदरले जस्तै पाकेटमार देखि सावधानको सूचनाले हरेकलाई एकचोटि आफ्नो बगली छाम्न बाध्य पारेको छ, झसँङ्ग हुँदै महिलाहरुलाई बोकिरहेको ब्याग अझै कसेर समात्न प्रेरित गरेको छ । उभिने समेत ठाउँ नहुने सार्वजनिक बसमा चढ्दा डण्डी समाउने कि खल्तीमा हात राख्ने भन्ने तनाव पनि धेरैले महसुश गरेको हुनु पर्छ । तर... बेलायतको एउटा शहरको गल्लीमा प्रहरीले टाँसेका सूचनाहरु पढेपछि मलाई नेपालमा टाँसिएका सूचनाहरु जनतालाई तनाव दिन मात्र राखिएका हुन् भन्नेमा दुई मत भएन । यहाँको सूचनामा जनतालाई होइन, पाकेटमारलाई ...

आतंकवाद खतरनाक कि अमेरिका ?

सेप्टेम्बर ११ को आक्रमणमा ३ हजारले ज्यान गुमाए। यसको बदलामा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएका युद्धमा हालसम्म मर्नेको संख्या ७ लाख ५० हजार नाघिसकेको छ। जुन सेप्टेम्बर ११ मा भएको आक्रमणमा मारिनेको संख्याको २ सय ५१ गुणा बढि हो। इराक युद्ध र अफगान युद्धमा मारिनेको संख्या सन् १९९३ देखि सन् २००४ सम्म संसारभर भएका आतंकवादी आक्रमणमा मारिनेको संख्याको १ सय ८ गुणाभन्दा बढि हो। यी तथ्याङ्कबाट नै सजिलै बुझ्न सकिन्छ विश्वको लागि आतंकवाद भन्दा डरलाग्दो आतंकवादविरोधी युद्ध रहेको छ। अमेरिकी नेतृत्वमा भइरहेको यो युद्धले लाखौं सर्वसाधारणको ज्यान लिएको छ अरबौं डलर खर्च गरेको छ र विश्वलाई थप असुरक्षित बनाएको छ। सेप्टेम्बर ११ पछि त्यस्तै किसिमको आक्रमण अमेरिकामा त दोहोरिएको छैन तर आतंकवादको पछिल्ला शिकार भारत पाकिस्तान अफगानिस्तान र मध्यपूर्वका मुलुक भएका छन्। एउटा माहुरीले टोक्यो भनेर माहुरीको गोलामा ढुंगा हान्ने काम अमेरिकाले गरेको छ। शीत युद्धको बेलामा कम्युनिष्टहरुलाई आतंकवादी मानिन्थ्यो। शीत युद्धपछि मुसलमानहरुलाई अमेरिकाले आतंकवादी भन्न थाल्यो। इतिहासलाई राम्रोसँग नियाल्ने हो भने आतंक...