Skip to main content

एउटा युद्धको अन्त्य

घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको 'अन्त्य' हुँदै थियो ।

अंग्रेजीमा 'प्याराडक्स' भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटनीतिक अधिकारी आफ्नै गल्ती र इतिहासबाट पाठ सिक्दै गरेको एउटा सानो प्रजातान्त्रिक मुलुकका नेताहरूलाई फेसबुक स्टाटसकै भरमा नाकाबन्दीको शैलीमा चुनौती दिइरहेका थिए । अहिले बन्द हडतालको समीक्षा र राजदूत डेलिसीको आलोचनालाई छाडेर ९ वर्ष अगाडि, सन् २००३ तिर लागौं ।

मार्च महिनाको २० तारिख, एकाबिहानै अधिकांश इराकीहरू सुतिरहेका थिए । उनीहरूको गहिरो निद्रालाई अमेरिकी युद्ध विमानका आक्रमण र बमबारीले बिथोलिदियो । इराक आक्रमणको सुरुवात र अमेरिकी सेनाको अन्तिम टुकडी फर्किने बेला समय एउटै थियो । केवल तरिका फरक थियो । अमेरिकी सेनाले युद्ध सुरु गर्दा इराकीहरूको निद्रा बिथोलिदियो । युद्ध सकेर फर्किने बेला, ठीक विपरीत अमेरिकी सेना यसरी लुसुक्क फक्र्यो कि उनीहरूसँगै काम गर्ने इराकी सुरक्षाकर्मीहरूले समेत ब्रह्ममुहूर्तमै अमेरिकी सेनाले आफ्नो देश छाडेको थाहा पाएनन् ।

पेन्टागनले प्रेस वक्तव्यमा उल्लेख गर्ने कारण त 'सुरक्षा' नै होला । तर कुनै समय आफ्ना पौने २ लाख जवान मरुभूमिको रणभूमिमा उतारेको अमेरिकी सेनासँग उल्लास मनाउने कुनै कारण नै नभएर त्यो बहिर्गमन शान्त भएको हो भन्दा

अत्युक्ति नहोला ।

कज एन्ड इफेक्ट । अर्थात् कारण र परिणामको कोणबाट हेर्ने हो भने इराक युद्ध जनयुद्ध थिएन, सीमा विवादमा दुई देशबीच भएको युद्ध थिएन, जनता जागेर तानाशाहविरुद्ध गरिएको युद्ध थिएन । विवरणहरूका अनुसार सद्दाम हुसेनसँग आमविनाशकारी हतियार भएको आशंकाकै भरमा यो युद्ध सुरु गरिएको थियो । ९ वर्षसम्म चलेको युद्धमा त्यस्ता आमविनाशकारी हतियार कहिल्यै भेटिएन । अमेरिकी सेना मात्रै ४५ सय मारिए । इराकी जनता कति मारिए अमेरिकी सेनाले रेकर्ड राखेन । अमेरिकी सैन्य जनरलले भनेका नै थिए, 'इराक युद्धमा हामी लास गन्दैनौं ।' स्वतन्त्र संस्थाहरूका अनुसार सवा १ लाख मारिए । तर जति मारिए हरेक पाँच जनामा ४ जना गैरसैनिक मारिए ।

रिपोर्टहरूका अनुसार, इराक युद्ध चरममा पुगेका बेला झन्डै ७० प्रतिशत इराकीले भनेका थिए, 'सद्दाम हुसेनको कार्यकालमा भन्दा अमेरिकी सेनाको कार्यकालमा बढी असुरक्षित महसुस गर्छौ ।' अमेरिकी सञ्चारमाध्यममा छापिएका तथ्यचित्र हेर्दा पछिल्लो समय इराकमा मान्छेहरू साँझमा अलि बढी समय बाहिर बस्न थाले, विमानस्थल र अति सुरक्षित गि्रन जोनमा बम थोरै पड्किन थाले, इराकको तेल उत्पादन र निर्यात अलिकति भए पनि बढ्यो ।

देखिने र ठूलो परिवर्तनचाहिँ के हो भने इराकले जननिर्वाचित सरकार पायो । अझ त्यसमा पनि सरकारको अस्थिरता र अल्पसंख्यकको प्रतिनिधित्वको प्रश्नलाई घटाउने हो भने मात्र । तर के यो अपूरो परिणामका लागि ४५ सय अमेरिकी सेना, लाखभन्दा बढी इराकी जनता र १ सय खर्ब अमेरिकी डलरको बलिदान बढी भएन र ? युद्ध उच्च बिन्दुमा पुगेका बेला इराकमा १ लाख ७० हजार अमेरिकी सेना तैनाथ थिए । ५०० भन्दा बढी सैन्य आधार शिविर थिए ।

अर्को वर्ष चुनाव हुँदै छ अमेरिकामा । इराक युद्धप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि बडो सन्तुलित देखिन थालेका छन्, 'इराक युद्ध विवादास्पद रह्यो तर हाम्रा सेनाले एउटा सार्वभौम, स्थिर र स्वावलम्बी इराक निर्माण गरिदिएका छन् ।' राजनीतिक शब्दावलीमा ओबामाका शब्दहरूले गहिरा र ठूला अर्थ राख्छन् होला तर थुप्रै इराकीका लागि यो युद्धको अर्थ विनाश, विछोड, वेदना, वियोग रह्यो ।

सुरुवातदेखि नै अमेरिकी त्रुटिको सिकार भयो इराक । जब जर्ज डब्लु बुसको आदेशमा सन् २००३ को मार्च २० तारिख एकाबिहानै राजधानी बग्दादका 'निश्चित सैन्य इलाकामा' बमबारी सुरु भयो, अमेरिकी गुप्तचरका गलत सूचनाका कारण सद्दाम लुकेको आशंकमा निहत्था किसानहरूको बस्तीमा बम खसाइयो ।

अमेरिकी ट्याङ्कहरूलाई बग्दादका गल्लीगल्लीमा दौडिन एक महिना पनि लागेन र बग्दादस्थित सद्दाम हुसेनको सालिक ढालियो । जर्ज डब्लु बुस दंग थिए । तर उनी 'अगाडि अझै खतरा देख्थे' । आक्रमण सुरु भएको दुई महिनामै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले क्यालिफोर्नियास्थित एक सैन्य आधारमा आयोजित विजय सभालाई सम्बोधन गरे । तर उनले युद्ध अन्त्य भएको घोषणा गरेनन् । किनभने अमेरिकाले आधिकारिक रूपमा इराक युद्धको घोषणा कहिल्यै पनि गरेको थिएन ।

आमविनाशकारी हतियार बोकेका भनिएका सद्दाम हुसेनलाई अमेरिकाले त्यही वर्ष बडो दयनीय अवस्थामा पक्राउ गर्‍यो । युद्ध अपराधको अभियोगमा सन् २००६ मा सद्दामलाई झुन्ड्याएर मारियो । सन् २००४ पछि इराक झन् बिथोलियो । जातीय विद्रोही संस्थाहरू सशस्त्र युद्धमा उत्रिए । इराकी-इराकी लड्न थाले । आत्मघाती बमहरू पड्किए । युद्धका बिभत्स घटना र दुव्र्यवहारका तस्बिर सार्वजनिक हुन थाले । र बाँकी इतिहास भए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि मुख र मन अमिलो बनाउने युद्धका बिभत्स सम्झनालाई बिर्सने चेष्टा भयो । शान्ति भन्ने शब्दले ठूलै प्लेटर्फम पायो । बडाबडा देश मिले र वाचा गरे संसारले जति युद्ध देख्नु थियो देख्यो । अब पाउने पुस्ताले युद्धको त्रासदी झेल्नुपर्ने छैन । सबै मिलेर संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखे पनि '...मानव जातिको जीवनकालमा दुईपटकसम्म कहिल्यै वर्णन गर्न नसकिने दुःख ल्याएको युद्धको चपेटाबाट भावी पुस्तालाई जोगाउन ...' लाग्यो संसारले अब कहिल्यै युद्ध देख्ने छैन । तर इराक युद्ध त दोस्रो विश्व युद्धभन्दा पनि लामो पो भयो त ।

राष्ट्रपति ओबामाका लागि इराक युद्ध घाँडो सावित भयो । यो त्यही युद्ध थियो जसको उनले खुलेर विरोध गरेका थिए र प्रमुख चुनावी मुद्दा बनाएका थिए, सन् २००८ मा राष्ट्रपति बन्नुअघि । तर गएको अक्टोबरमा युद्ध सकिएको औपचारिक घोषणा गर्दा अमेरिकी सेनाको बागडोर उनको हातमा थियो ।

आफैंले कडा विरोध गर्ने युद्धमा लडेका अमेरिकी सेनाको तारिफ कसरी गरे होलान् उनले ? लहडमा युद्ध सुरु गरिदिएका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस न्युयोर्क टाइम्सको सम्पादकीय पढ्दै कतै बल्छी थापेर माछा मारिरहेका बेला, त्यही युद्धको घनघोर विरोध गर्ने ओबामा राष्ट्रपतिको रूपमा त्यही युद्धको बचाउ गर्न व्यस्त थिए, बडो कन्फ्युजिङ मुद्रामा । सायद यही हो अंग्रेजीको 'प्याराडक्स' र नेपालीको विरोधाभासपूर्ण ।

इराकका केही प्रमुख सहरमा बिजुली, बाटो र बजार सामान्य भएका छन् । सद्दाम हुसेनको पालामा जस्तो अल्पसंख्यक सुन्नी समुदायका सम्भ्रान्तहरू मात्रै सरकारमा छैनन् । केही इराकी जनता र अमेरिकी सेना इराक युद्धको यो महान् उपलब्धिप्रति गर्व गर्छन् । एउटा फरक पाटो के छ भने, सद्दाम हुसेनको पालामा इराकी जनता बग्दादको कुनै ठूलौ चोकमा भेला भएर 'सद्दाम मुर्दावाद' भन्न सक्दैनथे । तर अहिले हरेक शुक्रबार सयौं जनता धर्मगुरुको प्रवचन सुनेपछि ढुक्कसँग 'अमेरिका मुर्दावाद' भन्न सक्ने भएका छन् ।

आइतबार बिहानै २ सय माइलभन्दा लामो राजमार्गमा बिस्तारै गुडेका माइनप्रुफ ट्याङ्कभित्र बसेका ५०० अमेरिकी सैनिकहरू कुवेती सीमातर्फ गइरहँदा उनीहरूको लस्करलाई थुप्रै शक्तिशाली हेलिकोप्टरले सुरक्षा दिएका थिए । अमेरिकी सेनाले ठाउँठाउँमा सडक वरपर रहेका फोहोरका थुप्रो हटाउन स्थानीय अगुवाहरूलाई पैसा दिएको थियो । ताकि ती फोहोरको डङ्गुरमा सैनिक लस्करलाई लक्षित गरी विद्रोहीहरूले बम नराखुन् ।

बितेका ४० वर्षदेखि इराक संसारकै सबैभन्दा अस्थिर मुलुक रहँदै आएको छ । १९७० मा इराकमा राजा फाल्न सद्दाम हुसेनलाई सघाएको अमेरिकाले दोस्रो खाडी युद्धमा त्यही सद्दाम शासनविरुद्ध हमला गर्‍यो । स्रोत र साधनमा त्यति कमजोर नभएको र संसारकै चौथो तेल उत्पादन गर्न सक्ने इराकलाई अहिले केवल भाग्यको खाँचो छ । अमेरिकी राष्ट्रपतिहरूलाई त के छ र युद्ध सुरु गरिदिन्छन्, कार्यकाल सकिन्छ अनि बल्छी बोकेर माछा मार्न हिँड्छन् र बाँकी सबै इतिहास हुन्छ ।

प्राचीन ग्रीक दार्शनिक एस्किलसले भनेका थिए, 'इन वार, ट्रुथ इज द फस्र्ट क्याजल्टी' -युद्धमा सबैभन्दा पहिले सत्य मारिन्छ) ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to Reality

Dear Reality, You are really bitter. You are really unwanted. You are shocking, you are disgusting, you are disturbing, you are haunting, you are everything that I dont want you to be. But why you are always there behind the scene? Why you are playing the role of antagonist in my life. I know the reason, Because you are reality. I know you are reality but why I still hate you? I hate you that is the reality. Dear Reality, when I was dreaming to kiss the Mt Everest and drink the milk of paradise, you stopped me. You have always aborted the fetus of my dream. When I was saying I deserve, you were insisting that I dont. Reality, you are the jerk between the colorful transition between me and my angel. You are the reason why I love her and you are the reason why she doesnt. How dare you to be the reason of different feelings at a same time? Dont you ever feel guilty to change your mask frequently? Reality, Why you are always attached with me? you are the only thing conjoined with me th...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...