Skip to main content

असार


चुमेर सुस्तरि
गालाभरि फलेका आलुबोखराहरु
वसन्त, हिउँद र गृष्म बाँचेको
गुलमोहरको रुख जस्तै
वयोवृद्ध
सम्झनाका पत्रहरुलाई
नचाउँदै मन्द मन्द

बाफ उडिरहेको सडकमा
पर कतै धुलो उडाउँदै
एस एल सी पासको खबर
अम्मालाई सुनाउन
हतारिँदै साइकल कुदाइरहेकी किशोरीलाई
तर्साउँदै, जिस्काउँदै

ओडाइदिएर बादलको छाता
परदेशी श्रीमानको सम्झनामा
गुनगुनाउँदै
खेतको आलीमा
घाँस खुर्कीरहेकी
गर्भवतीलाई

पोहोर वर्षामै
हो क्यारे
कहिँ कतै
बेस्सरी रुझेको
सम्झाइदिएर
एउटा कविलाई

टाढा धेरै टाढाबाट
शीतल फोकाहरु
पानीका बोकेर
आइपुग्यो मनसुन
आइपुग्यो असार
तिर्खा लागेको बेला ।।

१७ जुन २०१२
काठमाण्डु

Comments