Skip to main content

Posts

जसले बोल्दा आगो बल्छ

नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ । इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

बा, मकै र शान्ति

४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए 'बहुदल आयो' सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले 'माले' बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए दुइ चार वर्षपछि म पढ्ने स्कुलमा आएका गाउँकै मामा पर्नले भने 'माओवादी आयो' ६ कक्षाको नैतीक शिक्षाको उपदेश कविता र मामाले भनेको माओवादीको नाम दुबै बुझिनसक्नु थिए मेरा लागि स्कुलबाट घर फर्किँदा बा मकै गोड्दै थिए शहरमा क्याम्पस पढिरहँदा अचानक हल्ला खल्ला भयो सुनियो 'राजा आयो' अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले 'फिस नतिरे जाँच दिन नपाउने' मेरा लागि राजा भन्दा क्याम्पसको साहु भयानक थियो कर्फ्यु लाग्ने बेलामा गाउँ पुग्दा बा मकै गोड्दै थिए आउने र जाने क्रममा शहरमा भिड आयो सेना आयो पुलिस आयो भूत आयो अमेरिका आयो भारत आयो लोकतन्त्र आयो मलाई तलब आउनुको मात्र चिन्ता थियो बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो आज एकाविहानै चोकको पसलेले भन्यो शान्ति आयो फोन गरेँ बालाई लाग्यो होला तपाईंलाई मेरा बा ...

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो । जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

मजदुर र मट्टीतेल

मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा छापिएका हत्यारा मन्त्रीका भँगेरे अक्षर समाचारले कुनै अर्थ राख्दैन मलाई केवल अर्थ राख्छ बहिनीलाई हात हाल्न खोज्ने पुलिसलाई चड्काएको निहुँमा खोरमा सडाइएको छोरोको सम्झनाले जसको यादमा यसपालिको दशैं भिज्यो जहानको आँशुले पनि अर्थ राख्थ्यो होला शायद, त्यो आँशु नभएर मट्टीतेल भएको भए यसपालि दशैंमा मेरो घरमा पनि चुलो बल्थ्यो कि !

प्रधानमन्त्रीको इमेल

प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो। तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो। इन्टरनेटको माध्यमबाट पठाइने सन्देशलाई इमेल भनिन्छ। सामान्यतः इमेलमा लेखिने सन्देशको लमाइ र प्रकारको कुनै सीमा हुँदैन। इमेल पठाउनेले अक्षरमात्र होइन, तस्बिर, आवाज र भिडियो पनि पठाउन सक्छन्। तर के देशको प्रधानमन्त्रीले जनताका कुरा सुन्न प्रविधिलाई नै साथ लिँदा पनि इमेल नै सबैभन्दा प्रभावकारी ...

गजल वाचन

एक दिन अफिसमै बस्दा एउटा 'गजल' फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।

बाथरुम गायक

स्वर भए नि नभए नि रहरै लागेर मच्चि मच्चि गाउनेलाई बाथरुम सिङ्गर भन्छन् भने म पनि त्यो वर्गमा पर्छु । कहिले काहिँ मोबाइलमा, कहिले कम्प्युटरमा गीत यसो रेकर्ड गरेर इको सिको इफेक्ट हालेर आफैंले सुन्दा रमाइलो लाग्छ । अस्ति स्टुडियोमा छिरेको बेला माइक देख्ने बित्तिकै एउटा गीत ठोक्न मन लागि हाल्यो । सहकर्मी भानुले पनि रेकर्ड गरिदिएछन् । यो ब्याकग्राउन्डमा बजेको गिटार चाहिँ सहकर्मी शिरिषको देन हो । मलाई गीत गाइरहेको देखेर उनी पनि तात्तिए । शिरिषलाई व्यवसायिक संगितकर्मी नभए नि उनले आफ्नै स्वरमा एउटा एल्बम निकालिसकेका छन् । उनको एल्बमल् बजार पिटेको थियो केही महिना अघि । शिरिष जस्तो सृजनशील मान्छेले साथ दिएपछि म पनि हौसिएँ र एउटा गित गाएँ । त्यही गीत हो यो । सुन्नुहोला । मेरी श्रीमति चाहिँ यो गित सुनेर धेरै हाँसिन् :-)