Skip to main content

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।



हुन त हामी हरेक वर्ष यस अवसरको चरम दुरुपयोगको सिकार हुँदै आएका छौं । आधुनिक नेपाली इतिहासका हरेक नयाँ वर्षमा कति शुभशुभ कामनाहरू गरिए होलान् । कति सपना देखाइए होलान् । पोहोर यसै बखतमा नयाँ संविधान बन्लाबन्लाजस्तो सपनाहरू अभूतपूर्व रूपमा वितरण गरिएका थिए । आज एक वर्षपछि ती सपनाहरू केवल पुराना भएका छन्, बितेको वर्षका दिनहरूजस्तै । उही महिना, गते र बारको नयाँ गणना सुरु हुन थालेजस्तै तिनै सपनाहरू अब फरक कलेबरमा फेरि बाँडिनेछन् सायद ।

पोहोर मैले यसै ठाउँमा लेखेको थिएँ, यो साल चुनाव हुने हो भने फेसबुक प्रयोगकर्ताहरूले निर्वाचित संस्थामा तेस्रो ठूलो दल हुने तागत राख्नेछन् । एक वर्ष बित्दा, संसार झन् साँघुरिएको छ । मान्छेका ज्ञान, बुझाइ, चेतना, झन् झाँगिएका छन् । आजको दिनमा फेसबुक चलाउने नेपाली २० लाख पुगेका छन् । जसमध्ये झन्डै पौने १८ लाख व्यक्ति १८ वर्षमाथिका छन् अर्थात् मतदाता । १८ लाखभोटले १ करोड चानचुन मत खस्ने निर्वाचनमा महत्त्वपूर्ण हिस्सा राख्दछ । गणितमै सही, नेपालको एउटा जुझारु, राजनीतिक वितृष्णाबाट वाक्क भएको पुस्ताले चाहने हो भने नयाँ वर्षमा हुने चुनावमा एउटा नाटकीय परिणाम दिने शक्ति राख्दछ ।

हामीमाझ एउटा सिङ्गो दशकले पनि बिदा लिएर गएको छ । नाफा नोक्सानका गणितहरू अलग्गै होलान् । तर बितेको दशकमा हामीले प्रशस्तै सामाजिक, राजनीतिक र आर्थिक कारोबारहरू देख्न पायौं । जुन कारोबारहरूले हामीले सोच्ने र गर्ने तरिकामा विशाल परिवर्तन ल्याइदिए । ६० साल सुरु हुँदै गर्दा ५० हजार इन्टरनेट प्रयोगकर्ता भएको देशमा ७० साल सुरु हुँदा त्यो संख्या ५० लाख पुगेको छ । इन्टेरनेट प्रविधिमात्रै होइन । त्योभन्दा बढी, यो एउटा समाज हो । समाजलाई एकतामा बाँध्ने सूत्र खोज्ने क्रममा पटक पटक नानाभाँतीका उदाहरण बाँडिने र बेचिने हाम्रो समाजमा कम्तीमा एउटा जवान प्रविधिले ५० लाखको समाजलाई बाँध्न सफल भएको छ । मोबाइल फोनले जनसंख्याको आधा आकाशलाई बाँध्यो । सडक सञ्जालले देशको ७३ जिल्लालाई बाँध्यो । बितेका दशकका यी महान् उपलब्धि हुन् । र, यी उपलब्धिका रफ्तार हेर्दा आउने दशकमा हामी झन् धेरै बलियोसँग एक अर्काप्रति बाँधिनेछौं । हामीबीचका दूरीहरू घट्नेछन् ।

बितेको दशकले झन्डै १० हजार किलोमिटर नयाँ सडक दियो देशलाई । देशका ६६ प्रतिशतभन्दा बढी परिवारका लागि नजिकैको बस चढ्ने ठाउँको दूरी आधा घन्टाभन्दा कम समयमा झर्यो । १० वर्षअघि ३७ प्रतिशत परिवार नजिकैको कालोपत्रे सडकबाट आधा घन्टाको दूरीमा थिए । ७० को दशक सुरु हुँदा देशका झन्डै ६० प्रतिशत घरबाट नजिकैको कालोपत्रे सडक पुग्न आधा घन्टाभन्दा कम समय लाग्छ । बितेको दशकले हामीबीच दूरी घटाएको छ । भलै रुकुमको दुर्गम गाउँबाट कतार जानको लागि काठमाडौंको हवाइजहाज बिसौनीसम्म आउने यात्रा अवधि किन नघटेको होस् । दूरदराज मरुभूमिमा भेडा चराइरहेका परदेशीसँगको दूरी मोबाइल फोनले घटायो । वित्तीय संस्थाका विस्तारले, पसिना भजाएर आएको कमाइ गाउँ आइपुग्ने दूरी पनि घट्यो ।

भूराजनीतिक परिधिभित्र हामी आउने दशकमा पनि उही स्थानमा नै हुनेछौं । उत्तरकोरिया र अमेरिकाको सम्बन्ध र इरानको परमाणु कार्यक्रमले हाम्रा लागि अखबारका विदेश पेजमा छापिने समाचारभन्दा खासै बढी अर्थ नराख्लान् । उसो त उत्तरकोरियाले दिने अणुबमको धम्की पनि उसले बर्सेनि मनाउने आफ्ना नेताको जन्मदिनको प्रचार प्रसारको सामग्रीभन्दा बढी कहिल्यै देखिएन । भारत र चीनसँगको सम्बन्ध पनि राजनीतिक वृत्तका तर्क वितर्कहरूमाझ नै अल्भिmरहलान् । अलिउग्र सोचाइ राख्नेले सिक्किमीकरणको खतरा बितेको दशकमा नि देखेकै थिए, आउने दिनमा देखिरहलान् । तर 'अमेरिकी साम्राज्यवाद' र 'भारतीय विस्तारवाद'को व्यावहारिक यथार्थको लागि भने संसारका पात्रोहरू धेरै अघि बढिसके । हामी आफैंले बनाइदिएका स्पेसहरूमा हुने सामान्य विदेशी चलखेलबाहेक राष्ट्रियतामा कुनै प्रस्ट खतरा हुनेछैन आउने दशकमा । त्यो सम्भव पनि छैन । स्वाभाविक रूपमा हुने भुइँचालोका धक्काबाहेक भूराजनीतिका अन्य सानाठूला धक्काहरूले हामीलाई खासै प्रभाव नपार्लान् ।

तर यस वृत्तमा उद्देश्यहीन गरमागरम छलफल, भाषण र बहसहरू भने अपेक्षा गर्न सकिन्छ । यी तपसिलका कुराहरू जे जस्ता भए पनि ६ करोड वर्षअगाडि ठडिएको सगरमाथा कहाँ पर्छ र २६०० वर्षअगाडि शाक्यमुनि बुद्ध कहाँ जन्मिएका थिए भन्ने बहस गर्नको लागि हामी पात्रोमा निकै अगाडि बढिसकेनौं र ?

बितेको दशक हाम्रा लागि शान्तिको दशक पनि रह्यो । ५० को दशकमा युद्ध भोगेको नेपाली समाजले ६० को दशकमा केही ठूला राजनीतिक परिवर्तनसँगै संकटकाल देख्न छाड्यो, निद्रा बिथोल्ने फायरिङ सुन्न छाड्यो, आमाहरूले छोराहरूलाई खाटमुनि सुताउन छाडे, लामो यात्रामा ठाउँ ठाउँमा हुने डरलाग्दा चेकिङ हुन छाडे, आफ्नै देशको जुनसुकै कुनामा घुम्न पनि डर लाग्न छाड्यो, सुतली बम र पाइपबमहरू समाचार बन्न छाडे र सबैभन्दा खुसीको कुरो त प्रेसर कुकरमाथिको अघोषित प्रतिबन्ध हट्यो ।

राजनीतिक पदावलीमा ठूलै घनत्व राख्ने परिवर्तनहरू भए पनि व्यावहारिक रूपमा त्यसका अर्थपूर्ण उपलब्धिहरू भने केही देखिएनन् । देशको लामो इतिहासमा १० वर्षले गौण अर्थ राख्ला । तर एउटा मान्छेको जिन्दगीमा १० वर्ष ठूलै हिस्सा हो । बितेको दशकमा जस्तै आउने दशकमा पनि सस्ता राजनीतिक कमेन्ट्ररीहरू र फुस्रा भाषणमा समाज केन्दि्रत भइरह्यो भने त्यसले नयाँ राजनीतिक अध्यायहरू जन्माउला तर एउटा व्यक्तिको जिन्दगीको गुणस्तर भने खासै उकास्न सक्दैन । औसत आयु ६० वर्ष भएका नेपालीले जिन्दगीका दसौं दस वर्ष सपनामात्रै देख्न खर्चिनु महँगो भएन र ? सपना देखाउनेका त पेसै सपना देखाउनु हो ।

भौतिक रूपमा शान्ति भए पनि मानसिक शान्ति भने खासै छाएन बितेको दशकमा । बेरोजगारीको रापले छटपटाएकाहरू झन् पोल्ने खाडीको गर्मीमा होमिन बाध्य भए । सायद नेपालको इतिहासमा सबैभन्दा धेरै युवाहरू बिदेसिए बितेको दशकमा । समाज बढी महत्त्वाकांक्षी भयो । पाखुरा लाग्नेबित्तिकै गच्छेअनुसार कोही खाडीतिर लागे कोही युरोप अमेरिका लागे । छिमेकीलाई छोरो अमेरिका छ भनेर धाक लगाउने आमाबाबुहरू बिस्तारै एक्लिए । आउने दशकमा नेपाली मध्यमवर्गीय समाजमा झन् धेरै एक्ला, निन्याउरा अनुहारहरू बढ्नेछन् ।

हेटौंडाको कर्रा टोलमा टोलबासी पाकाहरूले एउटा भजन मण्डली खडा गरेका छन् । 'पवित्र' तिथिमितिमा मन भुलाउन घरघरै साँझमा भजन गाउँदै समय कटाउने जमातका अधिकांशका छोराछोरी विदेशमा छन् । विदेशमा रहेका छोराछोरीका जन्मदिनका अवसरमा उनीहरू 'हरिहरि राम जपन, यो जिन्दगी सपना, राम जपन' भन्दै भजन गाउने गर्छन् । आउने दशकमा यी पाकाहरू आँखा कम देख्नेछन्, कान कम सुन्नेछन् । अनि भजन गाउने क्रम पनि बन्दहोला । टोल रित्तै होला सायद ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to Reality

Dear Reality, You are really bitter. You are really unwanted. You are shocking, you are disgusting, you are disturbing, you are haunting, you are everything that I dont want you to be. But why you are always there behind the scene? Why you are playing the role of antagonist in my life. I know the reason, Because you are reality. I know you are reality but why I still hate you? I hate you that is the reality. Dear Reality, when I was dreaming to kiss the Mt Everest and drink the milk of paradise, you stopped me. You have always aborted the fetus of my dream. When I was saying I deserve, you were insisting that I dont. Reality, you are the jerk between the colorful transition between me and my angel. You are the reason why I love her and you are the reason why she doesnt. How dare you to be the reason of different feelings at a same time? Dont you ever feel guilty to change your mask frequently? Reality, Why you are always attached with me? you are the only thing conjoined with me th...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...