Skip to main content

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं ।

उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो ।

गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही पोका बोकेर रेलबाट झर्थे र बाटो लाग्थे । कोही कोही त्यसै गरी चढ्थे ।

साँझ नपरुन्जेल रेलभित्र बजार हुन्थ्यो । साबुन, स्याम्पु, मन्जन, चटपटे, भात, केरा, पकौडा बेच्नेदेखि गीत गाएर, दिक्क लगाएर पैसा माग्नेको थरिथरिका अनुहारले रौनकता थपिरहन्थ्यो । रातभरि मान्छे सुत्थे । रेल दौडिरहन्थ्यो । कहिलेकाहिँ बिउँझिनेहरु झ्यालबाट बाहिर चियाउँथे । जुनको प्रकाशमा पर थुम्का थुम्की डाँडाहरु, ताल तलैया, विशाल धानका फाँट, नरिवलका बुटा, बस्ति केके केके देखिन्थे । ठाउँ ठाउँमा विशाल औद्योगिक क्षेत्र थिए ।

पूर्वोत्तर भारतमा अन्य क्षेत्रको तुलनामा रेलगाडीहरु समयमा चल्दा रहेनछन् । गोरखपुरबाट रेल चढेको २० घन्टा लामो सफरपछि भोलिपल्ट विहान हामी निर्धारित समयभन्दा करिब डेढ घन्टा ढिला हावडा पुग्यौं । हावडा पुललाई रविन्द्र सेतु भन्दा रहेछन् । अंग्रेजले १९४२ मा बनाइदिएको यो पुल कलकत्ताको 'ल्यान्डमार्क' हो । गङ्गाबाट भँगालो फाटेको विशाल होग्ली नदीमा बनेको ७०५ मिटर लामो आठ लेनको सडक बोकेको पुलमा एउटा पनि पिलर छैन भन्ने थाहा पाउँदा त्यो बेलाको इन्जिनियरिङ सम्झेर जिब्रो नटोकी बस्न सकिएन ।

पहाडको देशबाट झरेका हामीलाई समुद्र हेर्नु थियो । कलकत्ताको नामी समुद्री तट डिगा हो भन्ने गुगलले पहिले नै बताइसकेको थियो । हामी हावडा पुल हेरेर थप कलकत्ता भ्रमण थाँति राखेर डिगा जाने बस चढ्यौं र सुरु गर्यौं अर्को १ सय ८० किलोमिटर लामो बस यात्रा । आधाजसो दूरी बसले ८ लेनको विशाल एक्सप्रेस वेमा झिमिक्कै पार गर्यो । बाँकि आधा बाटो भने यताकै जस्तो, साँघुरो र खाल्डा खुल्डी । दायाँ बायाँका दृश्यहरुले दया नगरेको भए बसको उफ्र्याइ र अनवरत बजिरहने कर्कश हर्नको आवाजले बिरामी बनाउँथ्यो होला । झन्डै ६ घन्टाको यात्रा पछि डिगा पुगियो । बंगालको खाडीको एउटा सुन्दर तटीय शहर अनि सुन्दर विच । गोवाका निला समुद्री तटमा रमाइसकेका हामीलाई यो खासै नसुनिएको तटले निराश बनाउँछ कि जस्तो लागेको थियो, तर त्यसो भएन । हामी रमायौं ।

समुद्री तट व्यस्त थियो । विदेशी पर्यटक एकदम कम । अधिकांश भारतीय । हामी रात परुन्जेल छालसँग रमाइरह्यौं । कहिले छालले बगायो । कहिले छालसँगै बग्यौं । शरिर थाके नि मन थाकेको थिएन । पुणिर्माको रात थियो । घाम डुबेसी जुन उदायो । अनि झन् सुन्दर भयो । पुणिर्मामा ठूला छाल आउँदा रहेछन् । समुद्रको सतह पनि बढ्दै बढ्दै आयो । अघिसम्म पर देखिने छालहरु किनारामा ढुंगै ढुंगामाथि बसेका हाम्रा खुट्टासम्मै आइपुगे । पानीभरि जुनको उज्यालो टल्किएको थियो । छाल आउँथ्यो, जान्थ्यो । कहिले गडगडाएर आउँथ्यो । एकैछिन शान्त हुन्थ्यो फेरि । 'समुद्र जस्तै शान्त' भन्छन् नि कविहरु । त्यसरात मैले पत्ता लाउनै सकिनँ समुद्र शान्त हुन्छ कि अशान्त ?

भोलिपल्ट फर्कुनु थियो । कलकत्ता त घुम्नै बाँकि छ विहान होटलबाट झोला भिरेर जानु अघि एकपल्ट फेरि गंगासागर हेर्ने रहर पलायो । किनारामा नरिवल पानी बेच्नेले घाम छेक्न टाँगिदिएको पालमुनि बसेर एकछिन समुद्र हेरेपछि त मन कहाँ मान्थ्यो र ? फेरि हाम्फाल्यौं पानीमा । प्रचण्ड घामले छाला डढेको पत्तो भएन । पानीमा एक-डेढ घन्टा रमायौं । कलकत्ता जाने बस चढ्दा दिउँसोको १ बजिसकेको थियो । विशाल कलकत्तामा कुन ठाउँमा, कुन गल्लीमा गएर बस्ने भन्ने हाम्रो अनभिज्ञतालाई गुगलले नि मेटाउन सकेको थिएन । झमक्क रात परेपछि कलकत्ता पुगियो । बसबाट झरेपछि हामीले मान्छेहरुलाई सोध्यौं 'यहाँ टुरिस्टहरु आएर कहाँ बस्छन् ?' उनीहरुले 'पार्क स्ट्रीट' भने । हामी त्यतै लाग्यौं र होटल खोज्न थाल्यौं । त्यति धेरै होटल भाको ठाउँमा नि कतै कोठा खाली छ भन्दैनन् त । एउटा होटलवालाले कारण बताए, इदको छुट्टी पारेर त्यही साँझ मात्रै १० हजार बंगलादेशीहरु कोलकाता छिरेछन्, अनि होटलको हाहाकार । बल्लतल्ल एउटा ठीकैको होटलमा महँगो दाममा कोठा पाइयो ।

भोलिपल्ट निस्कियौं सडकमा । दिनभरि कलकत्ता घुम्ने इरादा थियो । तर कलकत्ता त विशाल पो छ त । अनि कहाँ कहाँ घुम्ने ? छुटाउनै नहुने ठाउँ कुन होला ? बस र रेलका भिडले तर्साइसकेको थियो । बाटो छेउमा चिया पिउँदै गर्दा एक सहकर्मीले जुक्ति निकाले, 'ट्याक्सी खोजौं' । दुइ जना ट्याक्सी खोज्न लागे । दिनभरि कलकत्ता घुमाइदिनु पर्ने हाम्रो शर्त । उसले भन्यो 'बेलुका ८ बजेसम्म घुमाएर होटलमा ल्याएर छोडिदिन्छु ३ हजार दिनोस्' हामीले भन्यौं १५ सय । कुरा मिल्यो २ हजार भारुमा ।

प्रोदीप दास नामका टुप्पीदेखि कपाल र्झन भर्खरै सुरु भएका श्याम वर्णका अन्दाजी ४० नाघेका ट्याक्सी ड्राइभर सँगै बसेर चिया पियौं । अनि उनको पहेँलो रङको सुन्दर एम्बेसडर कारमा चढ्यौं । नेपाल छोडेदेखि नै हल्काफुल्का रुघा खोकीले सताइएका एक सहयात्री आफूलाई 'मरिज' बताउँदै अगाडि सिटमा बसेर ड्राइभरसँग गफिन थाले । भारत घुम्न गइरहनेहरुको सँधै एउटा पूर्वाग्रह हुन्छः युपि विहारमा असल मानिस कम हुन्छन् सहयोगी हुँदैनन् ठग्न खोज्छन् र दक्षिण भारतीयहरु सहयोगी र असल हुन्छन् । हामी थियौं पूर्वी भारतमा । ट्याक्सी ड्राइभर सोझा थिए । १६ वर्षदेखि ट्याक्सी चलाएर उनले हालसालै आफैंले त्यो ट्याक्सी किनेका थिए । बेच्यो भने १ लाख आउँछ भन्दै थिए । धेरै नबोल्ने ट्याक्सी ड्राइभर त्रृणमुल काँग्रेसका भोटर रहेछन् । २ दशक पश्चिम बंगालमा राज गरेको कम्युनिष्टले सिन्को पनि नभाँचेको उनको बुझाइ थियो ।

प्रोदिप दासले हाम्रो यात्रा कालीघाटस्थित काली मन्दिरबाट सुरु गराइदिए । कलकत्ताको नाम पनि यसै मन्दिरबाट राखिएको भनिँदो रहेछ । दर्शनका लागि लामो लाइन हुने मन्दिरमा सर्टकर्टबाट दर्शन गराइदिने दलालहरुले घेरेर हैरान पार्दा रहेछन् । वागमति भन्दा धेरै फोहोर पानी बग्ने घाटछेउ घुमघाम गरेपछि हामीले त्योभन्दा धेरै सफा वागमती सम्भिmएर मनमनै गर्व गर्यौं । काली दर्शनपछि प्रोदीप दासले हामीलाई बाटो छेउको एउटा विशाल रेस कोर्स -घोडा दौड खेल हुने ठाउँ) देखाउँदै भिक्टोरिया मेमोरियल पुर्याए । त्यस ठाउँमा एउटा नाम चलेको पुरानो चर्च र खगोलिय पिन्डहरुको अध्ययन गर्ने तारामन्डल भनिने प्रयोगशाला नि रहेछ । प्रोदीप दासले आफूले ट्याक्सी रोक्ने ठाउँ देखाउँदै भने ः 'यी तीन वटै ठाउँ घुमेर आउनोस्, ४५ मिनेट जति लाग्छ' हामीले हस् भन्यौं र प्रोदिपलाई छोडेर भिक्टोरिया मेमोरियल छिर्यौं । तत्कालीन बेलायती महारानी भिक्टोरियाको सम्झनामा बनाइएको यो विशाल भवन चानचुने रहेनछ । कलकत्ताको ताजमहल । भित्र १३ औं शताब्दीदेखि भारतको इतिहास लेखिएका । घुम्दा घुम्दै हामीलाई भिक्टोरियामै १ घन्टा भन्दा बढि लाग्यो । त्यहाँबाट निस्केर तारामन्डलमा गएर ग्रह र ताराहरुको बारेमा आधा घन्टा लामो एउटा आकर्षक प्रस्तुति हेयौैं । चर्च पनि हेरेर आउँदा २ घन्टा जसो भइसकेको थियो ।

हतार हतार प्रोदीपले ट्याक्सी रोक्छु भनेको ठाउँमा जाँदा न उनी थिए न ट्याक्सी नै थियो । पार्किङ गर्न नपाएर अलि पर पुगेकी भनेर चारैतिर खोज्यौं । अँह प्रोदीप भेटिएनन् । परेन आपत । चार जना सहयात्री चारतिर बाँडिएर चर्को घाममा ट्याक्सीको खोजी गर्यौं । भेटिएन । विहान १० बजेतिर ट्याक्सी चढेका थियौं हामी । २ बजिसकेको थियो ।

हामीले भारतको सीम कार्ड किन्न खोज्दा विदेशीले पाउँदैनन् भन्ने जवाफ पाएका थियौं । त्यसैले हामीले ट्याक्सी ड्राइभरको नम्बर पनि लिएका थिएनौं । एकजना सहयात्रीले भने उनको ट्याक्सीको फोटो खिच्न भ्याएका रहेछन् । जहाँ ट्याक्सी नम्बर लेखिएको थियो डब्ल्यु बि ०४ बी ५९५९ । हामीमा अलिकति आशा पलायो । बुलेट बाइकमा दबंग स्टाइलमा गस्तिमा हिँड्ने सेतो बर्दि लगाएका कलकत्ते पुलिस गुहार्यौं । उनले सोधे ः 'सामान छुटेको थियो ट्याक्सीमा?'

हामीले भन्यौं, 'थिएन, पानीको एउटा बोतल मात्रै थियो'

'किन खोजेको त त्यसलाई ?'

हामीले भन्यौं 'हामीले उसलाई एक पैसा पनि दिएका थिएनौं । उसको आधा दिनको कमाइ भए पनि दिन चाहन्छौं ।'

पुलिसले हाँसेर उडाइदिएः 'जाने दो ।'

अर्का एक सहयोगी जस्ता देखिने पुलिस भेटिए । उनलाई नि व्यथा सुनाइयो । उनले प्रष्ट भने, 'कलकत्तामा यसरी ट्याक्सी खोज्ने सिस्टम छैन । कुनै हालतमा भेटिँदैन । बरु प्रहरी चौकीमा ट्याक्सी नम्बर दियो भने उसको फोन नम्बर र ठेगाना पाउन सकिन्छ ।' पुलिस चौकी जानुअघि भेटिएका सबै ट्याक्सीलाई हामीले खोजेको ट्याक्सी ड्राइभरको विवरण दियौं । कसैले कसैलाई चिन्दा रहेनछन् । हामीले पटक पटक एउटै जवाफ पायौं 'कलकत्तामा ३८ हजार ट्याक्सी छन् ।'

पुलिस चौकीमा थानेदारले हामीसँग एकछिन केरकार गरे । ठूलै तहकिकात हुन्छ कि झैं साना साना विवरण सोधे । अनि भने 'ट्याक्सी चाहिँ भेटिँदैन, बरु ट्याक्सीलाई दिने पैसा मलाई दिनोस्, त्यो ट्याक्सी ड्राइभर यहाँ आयो भने उसलाई दिउँला ।' हामीलाई ट्याक्सी डाइभर पुलिस चौकी जाला भन्ने रतिभर लागेको थिएन । बाटोमा हामीले प्रोदीप दासलाई सोधेका थियौं, 'कलकत्तामा तपाईंलाई सबभन्दा मन नपर्ने कुरा के हो ?' उसले भनेको थियो 'बर्दिवाले'

हामीले कलकत्ता घुम्ने समय ट्याक्सी हन्टिङमा खेर फालिरहेका थियौं । विहान चिया खाएदेखि केही खान पाइएको थिएन । प्रोदीप दासले नै बंगाली खाना पाइने ठाउँमा लान्छु, सँगै खाने भनेको थियो ।

हामीमध्येका पाका सहयात्री सबभन्दा उत्साही थिए । उनी भन्दै थिए 'घुमघाम छाडौं जसरि नि त्यो ट्याक्सी खोजेर उसलाई भाडा तिर्ने मिसनमा लागौं ।' हामी बाँकि तीनले नाइँ भन्न सकेका थिएनौं । तर अब कहाँ जाने ? कहाँ खोज्ने ? बाटोमा सोधखोज गरिरहँदा अर्का एक ट्याक्सी डाइभरले सुझाए, 'कलकत्ताको ट्याक्सी एसोसिएसनमा जानोस्, त्यहाँ ट्याक्सी नम्बर भनेपछि फोन नम्बर ठेगाना सब पाइन्छ' मध्य कलकत्ताको कुनै गल्लीभित्र तिनै ट्याक्सीवालाले पुर्याइदिए । उनी उत्साहित हुनुको कारण रहेछ, केही समयअघि एक जना प्रोफेसरले त्यसैगरी भाडा तिर्न बिर्सेका रहेछन् उनलाई । अनि प्रोफेसर ३ महिनापछि खोज्दै आएछन् र भाडा तिरेछन् ।

ट्याक्सी एशोसिएसनको कार्यालयमा केही पाका व्यक्ति चुपचाप फाइल पल्टाउँदै थिए । भित्तामा एक पूर्व कम्युनिष्ट मन्त्रीको तस्बिर टाँसिएको थियो । ट्याक्सी खोजीको कहानी हामीले सुरुदेखि बेलिबिस्तार लगायौं । उनीहरु एकदम उत्साही भएर भनेः 'सजिलै पाइन्छ उसको फोन नम्बर' हामी कुरेको कुरेइ गर्यौं । जतिखेर सोध्दा पनि 'एकछिन' 'एकछिन' भन्थे । उनीहरुले कहिले फाइल पल्टाउँथे कहिले फोन घुमाउँथे । हामीले भोक थाम्न सकेनौं । 'नम्बर खोज्दिराख्नोस् हामी आउँछौं' भनेर बाहिर निस्क्यौं । रोटी सोटी खाएर आधा घन्टापछि फर्केर जाँदा नि 'खोज्दैछौं' भन्ने जवाफ मात्र पायौं । केही अगाडि आशाको संचार भएको हामीमा फेरि निराशा छाउन थाल्यो । कुर्दा कुर्दै एसोसिएसनका कोषाध्यक्ष जसपाल सिंह आए । उनले नि फोन घुमाए । धन्न ट्याक्सीको ठेगाना चाहिँ पाइयो । फोन नम्बर पाइएन । पाइएको ठेगानामा जाउँ न त भन्ने सल्लाह हुँदै थियो, जसपाल सिँहले थर्काए, 'यो धेरै टाढा छ । असम्भव नै छ जान' फेरि त्यो उसको स्थायी ठेगाना थियो, ५० किलोमिटरको परिधिमा फैलिएको दक्षिण कोलकताको कुनै गल्ली । जान निकै टाढा, गएर नि भेट हुने सम्भावना निकै कम ।

५९५९ को खोजि प्रयास लगभग असफल भयो । अँध्यारो भइसकेको थियो । हामी होटलतिरको बाटो लाग्यौं ।

भोलिपल्ट विहान जहाँ प्रदीपलाई भेटिएको थियो त्यहिँ गएर खोज्यौं । सडकमा दौडेका हरेक ट्याक्सीको नम्बर प्लेटमा आँखा पुग्थ्यो । ५९५९ कतै देखिएन । यो खोजीको क्लाइमेक्स पर्खिरहनु भएको छ भने, छैन । प्रोदीप भेटिएनन् ।

ट्याक्सी एसोसिएसनका जसपाल सिँहले प्रोदीपको ठेगाना लेखिदिएको कागजको चिर्कटो गोजीमा बोकेर हामी निराश मनले नेपाल फक्र्यौं । बाटोमा भेटिएका दर्जनौंलाई ५९५९ खोज्दाको 'परेसानी'को कथा सुनायौं । कोही चाख मानेर सुन्थे । कोही हाम्रै गल्ती देखाउँथे । कोही 'जाने दो' भन्थे ।

प्रोदीपको ठेगानामा एउटा चिठीसम्म लेखेर पठाउने कि भनेर हामी सहयात्रीहरु सोच्दैछौं ।


प्रकाशित: कार्तिक १४, २०७१



Comments

Popular posts from this blog

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । *** सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैल...

Letter to She_Rocker

Dear She_rocker,          I remember I had written to you last time in the March of this year. That was a letter of no more than 10 sentences. I don't know whether you watched it. It might have been redirected to the junk folder, or it might have been deleted without being viewed. Or more possibly your boyfriend would have watched it and deleted before you could got it.   The thing that provoked me to write you again is the first anniversary of the day. It has re-intensified the memories, which were on their own way to be blurred.   Dear she_rocker, honestly I hope and I pray you are having a rocking life nowadays. I hope you are not getting disturbed by various factors as you used to be in the past.   The span of one year was just the cascades of another day. Every morning is equally new for you and me. How we play the rhythm of sunshine does matter to us. But unfortunately, I never tried to judge the melody of the life after you left. I never tried to evaluate the strength o...

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...