Skip to main content

Posts

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे । पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना । तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ । कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ...

नदी र सडक

पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी । अहिले नदी छेउ छेउ नदीको लम्बाइलाई नदीको बगाइलाई नदीको ‌बेगलाई चुनौती दिँदै सडक सुतेको छ । घीनलाग्दो सडक सुन्दर नदी छेउ मुर्दा जस्तै सुतेको छ, सडक न त नदी जस्तै लामो-लामो छ न त नदीजस्तै बग्छ न त नदीजस्तै बज्छ ! नदीमा त केवल मरेका मान्छेहरु मात्र बग्थे सडकले त जिउँदा मान्छेहरु बगायो, बलिया पाखुरा र बलिया घोडाहरु बगायो, परबाट घन्टी बजाउँदै लोमान्थाङबाट घोडा चढेर आउने दारा गुरुङका इष्टमित्र बगायो, कति सम्बन्ध बगायो, नदी छेउका कति देउता, ढुङ्गै सही: त्यो पनि बगायो, नदी त आफू धेरै बग्थ्यो अरुलाई कम बगाउँथ्यो तर यो सडक आफू बग्दै बग्दैन र अरुलाई बगाइरहन्छ । अक्टोबर २०१२, मुस्ताङ

मिसन मंगल

अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए । सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको 'स्पेस रेस'मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन । केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रम...

रित्तो बस‍

बस छुटिसकेको बसपार्कमा मलाई लिएर जाने बस फेरि फर्केर आए जस्तो नसोचेको आयौ तिमी एक बस खचाखच सम्झना बिउँताइदियौ मनमनै बोलिरहेँ म मौन डुलिरहेँ बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै अतीतका केही नागबेली बाटाहरुमा निथ्रुक्कै भिजेँ तिम्रो हेराइको वर्षात्‌मा, चप्पलले माथि-माथि सम्म हिलो छ्यापिरह्यो सम्झनाको गन्तब्यहीन अँध्यारा गल्लीहरुमा बेफिक्री फर्किएर हराएँ एकछिन रमाएँ एकछिन जसरि आयौ त्यसरी गयौ तिमी बिस्तारै गयौ तर एक्कासी गयौ म अझै मनमनै बोलिरहेको थिएँ आज कतै जाने रुट नभएको रित्तो बस भएर ।।

असार

चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द बाफ उडिरहेको सडकमा पर कतै धुलो उडाउँदै एस एल सी पासको खबर अम्मालाई सुनाउन हतारिँदै साइकल कुदाइरहेकी किशोरीलाई तर्साउँदै, जिस्काउँदै ओडाइदिएर बादलको छाता परदेशी श्रीमानको सम्झनामा गुनगुनाउँदै खेतको आलीमा घाँस खुर्कीरहेकी गर्भवतीलाई पोहोर वर्षामै हो क्यारे कहिँ कतै बेस्सरी रुझेको सम्झाइदिएर एउटा कविलाई टाढा धेरै टाढाबाट शीतल फोकाहरु पानीका बोकेर आइपुग्यो मनसुन आइपुग्यो असार तिर्खा लागेको बेला ।। १७ जुन २०१२ काठमाण्डु

एउटा कवि मरेर गयो

कवितामै भए पनि एउटा सुन्दर फूल फूल्दथ्यो सपना उदाउँथ्यो हरेक विहान अन्धकार झर्दथ्यो शीत भएर हिमाल रातै रंगिन्थ्यो बालक हाँस्दा कवितामै भए पनि देश विरलै दुख्दथ्यो भ्रुण हत्या नि हुँदैन थियो क्रान्तिका वीजहरुको रातारात हराउँदैन थिए सीमा स्तम्भहरु बस् कवितामै होस् हाम्फाल्दैन थिइन् आमा सन्तान च्यापेर पुलबाट, झर्दैन थियो आँशु अस्पतालको सैय्यामा प्यारालाइसीस भएर लडिरहेको सहीदको आँखाबाट कवितामै भए पनि परदेशिएको एउटा कसिलो पाखुराको कमलो मन बिझाउँदैन थियो हरेक रात प्रेमिका र खेत बन्धक राखेको साहुको अनुहार एक्कैपटक सम्झिएर कवितामा बँगैचा हुन्थे फूल हुन्थे हुन्थे पुतलीहरु कहाँ हुन्थे र शीकारी कवितामा? कहाँ हुन्थे र तस्करी कवितामा? तर अफशोच आज एउटा कवि मरेर गयो कसले लेख्ला अब फूलको कविता? कसले देख्ला अब फूलको देश ? ६ जुन २०१२, काठमाण्डु

गाउँ - शहर

गाउँदेखि शहरसम्म एउटा बाटो छ कहिँ हिलो कहिँ धुलो माटो छ एका विहानैदेखि गाउँ ट्याङ्करका ट्याङ्कर 'शुद्ध खाने पानी' दिन्छ शहरलाई खर्पनभरि साग दिन्छ शहरलाई उसको भाग दिन्छ दिन्छ मोटा सुँगुरहरु बाँधेर बिक्रम टेम्पोमा धुलो उडाउँदै गाउँ शहरले नै दिएको ट्रिपरमा गिट्टी दिन्छ दिन्छ बालुवा शहर बदलामा गाउँलाई केही अपार्टमेन्ट दिन्छ दिन्छ केही नौला सुकिला मान्छेहरु काला सिसाहरु र अग्ला पर्खालहरु पनि देखिन्छ गाउँको दृश्यमा गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा गाउँले सपना दिन्छ शहरले पासपोर्ट दिन्छ गाउँले बेरोजगारी दिन्छ शहरले लुडो र क्यारेमबोर्ड दिन्छ