Skip to main content

Posts

Showing posts from June, 2011

कठै जुम्ला

डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु सुसाउँथिन् तिला माधूर्य बैँसमा पसीना पोखिन्थ्यो माटामा सपना फूल्दथ्यो माटैमा स्याउ फल्दथे गालामा कठै जुम्ला अमूर्त सपनाका दोकानहरुले बस्तीलाई कुरुप बनाएका छन् पसीना पोखिन्छ विदेशको चौकिदारीमा डाँफे लेकको डाँफे कैद छ स्नोल्याण्ड होटलमा जहाँ खचाखच एन जि ओ कार्यकर्ताहरु कथित विकटताको खेतमा रोप्दैछन् सपनाका विजहरु कठै जुम्ला रोपे हुन्थ्यो नि बरु स्याउका बोटहरु

सुनौली जाने बसमा

खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो सुनौली जाने बसमा गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो पहेँलो वान्ता कट्कटिएको झ्यालबाट आधा जिउ निकालेर बाहिर अन्तर्वार्ता लिँदैछ डेन्ड्राइट सुँघ्दै एक रुप्पे मागीरहेको बालकसँग 'घर काँ?' 'नागढुँगा' 'बाउ छ?' 'छैन' पढ्न अल्छी लागेर बसमा हिँडेको धादिङको खलाँसी केटो दौडिँदैछ भित्र-बाहिर सोच्दै होला त्यो फूटपाथमा हिँड्ने सबै जना चढेदेखि हुन्थ्यो नि सुनौली जाने बसमा ।