Skip to main content

Posts

Showing posts from April, 2012

भन पण्डित्

भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ? भन पण्डीत बयान गरेर हातका रेखाहरु निधारका धर्काहरु र कुण्डलीका नक्साहरु कति बिरामीको ज्यान जोगायौ? कति जनालाई जागिर दिलायौ? रत्नपार्ककी ती वृद्धाको कति माना मकै बिकायौ? आधुनिक कंशका घरमा कृष्णलीलाको बयान गर्दैछौ वर्षौंदेखि साँच्चै, फुलाउँदै घाँटीका नशा वेजोड शंख फुकेर कति वटा क्रान्तिको उद्घोष गरायौ? गाडेर आँगनमा बाँसको लिङ्गो कति शहीदलाई स्वर्ग देखायौ? भन पण्डीत गौदानसँगै तारेर बीरजा नदी कति आत्मालाई वैकुण्ठ पुर्यायौ?

कुकुरहरु

किन भुक्छन् कुकुरहरु ? तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई किन झम्टिँदैनन्? मालिकहरुलाई देख्दैनन् किन कुनै आतंक? रगत लत्पतिएका कम्ब्याट पोशाकमा कम्मरमा लुकाइएका लोडेड नाइन एम एम पिस्तोलमा कुल्चिएका सपना हजार बुटहरुमा । किन वेपर्वाह सुतिरहन्छन् कुकुरहरु र्याल काढ्दै झम्टिँदै गड्यौला खाने भँगेराहरुलाई बिथोल्दै फूल र पुतलीको माधूर्य सम्बन्धलाई देखाउँछन् बहादुरी मालिकहरुलाई किन सुँघ्दैनन् र भुक्दैनन् कारको डिक्कीमा लुकाइएको मुर्तीलाई किन थाहा पाउँदैनन् तेस्का मालिक लुटेरा हो भनेर विचरा कुकुरहरु हड्डीको मोलमा शहादत दिन्छन् बफादारीको कुकुरको नाममा कलंकहरु, विद्रोह गर न हो कुक्कुरहरु!