नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए । काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मा...