Wednesday, August 24, 2016

एउटा अधुरो कथा - घर कब आवोगे

घर कब आओगे?

लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले ।
***
सानो छँदा पिताजीले कपाल काटिदिनु हुन्थ्यो । अलि ठूलो भएपछि पिताजीले काटिदिएको कपाल टाटेपाटे लाग्न थाल्यो । त्यसपछि हाम्रो टोलतिर साइकलमा चढेर ‘क…..पा…..ल का….ट्ने’ भन्दै कराउँदै हिँड्ने एक जना हजामबाट मैले यो सेवा लिन थालेँ । उ धोती लाउँथ्यो । सेतो सर्ट लाउँथ्यो । मोटो ज्यानको थियो । उसको अगाडि म सारा कपडा खोलेर नतमस्तक भएर टुक्रुक्क बस्थेँ । उ सानो काठको बाकसबाट कैँची र काइँयो निकालेर मेरो कपालसँग एकछिन खेल्थ्यो । कपाल काटेको उसको आम्दानी ५ रुपैंया । कपाल काटेपछि मात्र उसले सानो गोलाकार ऐना हेर्न दिन्थ्यो । कपाल काटिरहँदा ऐना हेर्न खोजेको उसलाई मन पर्दैन थियो । मेरो पुर्पुरोमा उसका सुर्तीले पहेँलिएका खस्रा हत्केला हुन्थ्यो । जहाँबाट सँधै नमिठो गन्ध आइरहेको हुन्थ्यो । कपाल काट्दा काट्दै उ बेला बेलामा पिच पिच सुर्ती थुक्थ्यो । बस्दाखेरि बेपर्वाह उसका धोती काला तिघ्रासम्म माथि सरेका हुन्थे । उसले लगाउने नीलो रङको सुतीको कट्टु पनि सम्झिन्छु म ।
***
हुन त हेटौंडामा कपाल काट्नै सैलुन अरु पनि थिए । धेरै जसो बजारमा थिए । मेरो घर भएको ठाउँ कर्रामा पनि एउटा थियो । हाइवेको छेवैमा । यति छेवैमा कि नारायणघाटबाट विराटनगर जान कुदेको एक्सप्रेस बसले सडकमा उडाएको धुलो कपाल काटिरहँदा अनुहारमै आएर टाँसिन्थ्यो । काठको पुरानो छाप्रोमा रहेको त्यो कपाल काट्ने पसल मैले सम्झेदेखि नै त्यहिँ थियो । त्यो सैलुनमा ठूला ऐना थिए । कपाल काटेको नि अलि महँगो थियो । १० हो कि १५ रुपैंया । चाडबाड या यस्तै विशेष बेलामा चाहिँ त्यहाँ गएर कपाल काटिन्थ्यो । मलाई त्यहाँ सबैभन्दा मन पर्ने चाहिँ काठको ठूलो घुम्ने कुर्सी । अनि भित्तामा टाँसिएका हनुमान चालिसा, गीता सार देखि बलिउडका अर्धनग्न हिरोइनहरुको रंगीन पोस्टरहरु । भित्ताभरि यति पोस्टर हुन्थे कि हेरेर कहिल्यै सकिँदैन थियो । जति हेर्यो हेरुँ हेरुँ लाग्ने । कपाल काटिदिने हजामको उमेर भर्खरको थियो । उसको आवाज चाहिँ केटीको जस्तो थियो । कपाल काट्दिरहँदा बडो मिठो गित पनि गाउँथ्यो कहिले काहिँ । टोलका दादा केटाहरुसँग उसको हल्का दोस्ती पनि थियो । तर यो दोस्तीको मूल्य भने उ ती दादा केटाहरुको कपाल सित्तैमा काटिदिएर चुकाउँथ्यो । त्यो जवान हजाम सँधै उस्तै देखिन्थ्यो । उ कहिल्यै बुढो भएन । कर्रामा जनसंख्या बढ्यो । घरहरु बढे । बुढाहरु मरे । तर त्यो हजाम उस्तै थियो । कुनै दिन म घर जाँदा राजमार्गमा छेवैमा रहेको उसको त्यो काठको छाप्रो थिएन । त्यसकै अलि पर पक्की घरमा अर्कै हजामले नयाँ सैलुन खोलेको रहेछ ।

***
म त्यही सैलुनको पोस्टरमा फर्किन्छु । प्रमोदले ठाकुरले मेरो कपाल काटिरहँदा अफिस जान चिटिक्क परेर हिँडेका एक अँधबैंशे सैलुनमा छिर्छन् । घर्रामा राखेको मेसिन आफैंले निकाल्छन् । ऐनामा झण्डै गाला जोडेर आफ्ना बाक्ला जुँगामा आफैंले मेसिन लगाउँछन् । धन्यवाद भनेर हिँड्छन् । अर्का एक वृद्ध आउँछन् । प्रमोदले उसलाई बस्नुस् अंकल भन्छ । ती वृद्ध फुर्सदसँग एउटा पत्रिका च्याप्चछन् र बस्छन् ढोका छेउकै कुर्सीमा । प्रमोदको एउटा एसिस्टेन्ट पनि छ । भर्खर आए जस्तो छ । त्यति धेरै बोल्दैन ।
प्रमोदका अरु एसिस्टेन्ट पनि थिए । तर ती आउँथे-जान्थे । कुनै भर्खर जुँगाको रेखी बसेका हुन्थे । कुनै प्रमोद भन्दा पाका नि हुन्थे । प्राय सबै एसिस्टेन्ट प्रमोदको नाता गोता नै हुने गर्थे । कोही भतिज, कोही साला, कोही टाढाको यस्तै कोही । 'त्यो पहिलाको साथी कहाँ गयो?' मैले प्रमोदलाई सोधेँ । उसले बुझीहाल्यो मैले कसलाई सोध्दैछु भनेर । तुरुन्त प्रतिप्रश्न गर्यो, 'को? त्यो काले?' हो त्यही काले । काले भन्न मलाई अफ्ठ्यारो लागेको थियो । उसले नै प्याच्च भन्दियो । निकै काले थियो त्यो असिस्टेन्ट । हाँस्दा खेरि उसका सेता दाँत मर्करी बत्ती जस्ता टल्किन्थे । उसको नाम चैं थाहा थिएन । तर उसलाई लामो समयसम्म देखेको थिएँ प्रमोदको पसलमा ।
उ ती बूढा अंकलको गालामा ब्रस दल्न थाल्छ । 'दारी नै छैन बुढाको किन काट्नु परेको होला?' म मनमनै सोच्छु । बुढा अंकलको अनुहारमा निधार र आँखा बाहेक सबैतिर सेता गाजै गाजले ढाकेको हुन्छ । फेरि अर्को युवक झुस्स दारी र निराश अनुहार लिएर सैलुनमा छिर्छ । दुबै जना नाइलाई व्यस्त देखेपछि उसको अनुहार झन् चाहुरिन्छ । ती चौडा ऐनामा आफ्नो अनुहारलाई केहीबेर एक टकले नियाले पछि उ बाहिरिन्छ । अर्को लामो कपाल, कालो वर्ण र मैलो लुगा लगाएको २०-२५ को मान्छे सैलुनमा छिर्छ । प्रमोद नजिकैको कुर्सीमा आएर बस्छ । उसलाई हेर्दा लाग्दथ्यो उ भर्खर सिमेन्टीको ५० वटा बोरा गाडीबाट अनलोड गरेर आएको हो । उ कपाल काट्न हैन पीडा पोख्न आएको रैछ । टाउकोमा हात लाएर कुर्सीमा बसुन्जेल उसले एक पटक पनि ऐना हेरेन । ठेकेदारले पैसा खाएर भागेको कुरा उ मलीन आवाजमा सुनाउँछ । प्रमोद फिस्स हाँसेर प्रतिक्रिया जनाउँछ 'भाग्यो है?' । मजदूरको अनुहारको मलीनता उस्तो उन्छ । ऐनामा देखिएको प्रमोदको शान्त अनुहारले भन्छ 'धन्य, मेरो कुनै ठेकेदार छैन'

Saturday, January 23, 2016

पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

प्यारो म

मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त ।

मैले आफैंलाई प्यारो भनेर सम्बोधन गरेपछि मलाई माथीका हरफ फुरेका हुन्, सबभन्दा पहिला । अनि माथिका हरफमा धेरै ध्यान दिएर वर्षौं अथवा महिनौंपछि कुन संजोगले लेख्न थालेको पत्रको विषय नै बिर्सेछु । शायद अब यही 'प्यारो' को विषयमा  थप केही हरफ लेख्नु पर्ला ।

मेरो लेखाइ बिग्रेको हो कि मुड । पहिले जस्तो मजा आइरहेको छैन लेख्दा । जबर्जस्ति लेखेको जस्तो लागिराछ । अलिअलि जबर्जस्ती पनि हो । भाषा पनि बिग्रेछ । अगि जबर्जस्ति ह्रस्व लेखेँ । पछिल्लो लाइनमा दीर्घ ।

सामाजिक सन्जालमा पोखिएका वह साह्रै सस्तो लाग्छन् । त्यसैले मन लाग्दा लाग्दै पनि पोख्न सकिनँ । कतिचोटी लेख्दै मेट्दै गरेँ । हामीलाई सामाजिक मूल्याङ्कनदेखि डर लाग्ने बानी परेछ । लेनादेना केही नभए पनि । पूँजिको समाज । स्टाटस र इम्प्रेसनको समाज ।

अस्ति भर्खर ब्रीज अफ स्पाइज भन्ने फिल्म हेरेको थिएँ । त्यसमा एउटा साधारण संवाद थियो । जसले मलाई छोएको थियो । अँग्रेजीमा अर्कै थियो । नेपालीमा भन्न खोज्दा यस्तो हुन्छ 'तिमी आफू को हौ भनेर अरुलाई भनिरहनु पर्दैन' । अँह न्याय भएन त्यो संवादलाई । प्रसङ्ग यस्तो थियो फिल्ममा: रुसले पक्रेको अमेरिकन पाइलटलाई रुसीहरुले चरम यातना दिएर गोप्य सूचनाहरु चुहाउने प्रयास गर्छन् । फिल्ममा उसले सूचना चुहाएको वा नचुहाए दृश्य देखाइँदैन । अन्तिममा एउटा सम्झौता अनुसार उसलाई रिहा गरिन्छ । बाटोमा फर्किरहँदा प्लेनमा उसले उसलाई रिहा गराउने वकीललाई भन्छ 'मैले रसियनहरुलाई एउटा पनि सूचना दिइनँ' । त्यसपछि वकिलले भन्छ 'You know what you did. You dont need to tell others' । यो अँग्रेजीमा लेखेको पनि ठ्याक्कै त्यही संवाद नहुन सक्छ । तर यस्तै केही थियो ।

केही दिनअघि कसैले केही सोधेको थियो । सोधेको प्रश्न बिर्सिएँ । तर मैले दिएको जवाफ यस्तो थियो 'मान्छेलाई आफू असल छु भनेर प्रमाणित गरिरहन मन लाग्छ, आफूलाई असल प्रमाणित गर्न मान्छे जतिसुकै खराब हुन पनि चुक्दैन । '

मलाई झूठदेखि घृणा लाग्छ । झूटो बोल्नु र झूठमा धेरै फरक छ। कसैले मलाई कस्तो मान्छे मन पर्दैन भनेर सोध्दा मैले तुरुन्तै भनेको थिएँ 'ढोँगी' । ढोँगि भनेको के हो मलाई व्याख्या गर्न आउँदैन । अझै भन्नु पर्दा मलाई यो शब्दको एउटा पनि पर्यायवाची शब्द आउँदैन । (उमङ्गले सँधै आफूलाई नेपालीमा कमजोर भन्थी । तर भर्खरै मैले उसलाई synonym को नेपाली के हो भनेर सोधेँ । उसले नै पर्यायवाची भनेर सम्झाइदिई)

मेरो बुझाइमा झूठमा रमाउने मान्छे ढोँगी हुन् । आफूलाई असल प्रमाणित गर्न खराब हुने मान्छे ढोँगी हुन् ।

मलाई औपचारिकता मन नपरेजस्तै उदेश्य र लक्ष्य पनि मन पर्दैन । बडो बोझपूर्ण लाग्छन् मलाई यी शब्द । त्यसैले त निरुदेश्य लेखिरहेको छु । यति भन्दा भन्दै पनि कहिलेकाहिँ केही केही गरुँ गरुँ जस्तो चाहिँ लाग्छ । मलाई थाहा छ मैले सोचेका ती कुरा गर्ने आँट बटुल्न मैले थुप्रै सामाजिक मूल्याङ्कनलाई भत्काउनै पर्ने हुन्छ । ती कति टाढाका कुरा हुन् मैलै नापेको छैन । तर मनमनै कल्पेर बडो रमाइला रोडम्यापहरु बनाउँछु कहिलेकाहिँ ।

ह्या । कस्तो अमूर्त कुरा गरेको । त्यो ढोँगीपन ममा पनि होला अलिअलि ।

मेरा मनका सबै कुराहरुलाई व्यक्त गर्न सक्दिनँ । कत्ति कत्ति कुरा मनमा मात्र हुन्छन् । ती कुराको स्वरुप मनमा मात्र हुन्छ । बाहिर निकालेपछि जिरो ग्राभिटीमा हावा हराएजसरि हराउँछन् मात्र । मन प्यारो लाग्छ । म चाहिँ कुन्नि!

पछिल्ला दिनमा मलाई रोडम्यापहरुले साँच्चै सताइरहेका छन् । ती रोडम्याप कुनै दस्तावेज र भिजन नभएर केवल रोडम्याप नै हुन् । अर्थात् सडकका नक्सा । मलाई त्यस्तै नक्सामा भएका अथवा नभएका सडकै सडक । सडकै नभए पनि भीरै भीर, जंगलै जंगल कता कता जान मन्छ । आफूले जानेको काम भएर होला हातमा एउटा क्यामेरा नि बोकेर । आफ्नो कथा बिर्सिँदै, अरुको कथा सुन्दै ।

अफशोच । सामाजिक मूल्याङकनलाई भत्काउन यति सजिलो भएको भए सबै मान्छे गौतम बुद्ध हुन्थे होला ।

म पछिल्लो समय जागीर खोजीरहेको छु । म जागिरे हुँ । तर पनि । हिँडेर जाने बाटो अफ्ठ्यारो छ । चौतारामा कतिन्जेल बसुरहुँ, चौतारालाई पनि झ्याउ लागिसक्यो होला ।

फेरि पनि मूल्याङ्कन कै कुरा । इदर उदर ।

त्यही नक्सा भएका नभएका सटकमा भाग्न मन लाग्छ । तर पनि के ले रोक्छ केले । जागिर भन्ने कुरा यस्तो चुतिया लाग्छ । झन् नयाँ जागीरमा दरखास्त हाल्नका लागि लेखिएका बुँदाहरु यस्तो घटिया लाग्छ । जीवनका वास्तविकता अनुकुल हुँदै हुदैनन् । पुरा फेक ।

टेम्प्लेटमा बाँच्छन् कि क्या हो सबै जना ।

संसार यसमै रमाएको छ । आफू काम गर्ने सँस्थाको नाम सुनाउँदा नातेदार छिमेकीहरु 'प्रगति भएछ' भन्थे । मलाई प्रगति भन्ने सब्द सुनेर जरो आउँछ । (शब्द पनि अशुद्ध लेखेछु)  । सँगै काम गर्ने एक जना कम ढोँगी दाइ छन् । अस्ति फोनमा उनलाई नि कसैले यस्तै प्रगतिको कुरो सुनाएछन् क्यारे । उनी भन्दै थिए 'प्रगति र दूर्गतिसँग खासै सरोकार राख्दिनँ' । चित्त बुझेको थियो मलाई नि ।

लेख्दै थिएँ । अरु धेरै लेख्थेँ होला ।  उमङ्गले भात सेलायो भनेर धेरै चोटि भनीसकी । यो चाहिँ पारिवारिक मूल्याङ्कन हो ।

दाल, भात, अालु भुजिया, गोलभेडाको अचार र अमलेट । हाम्रो डिनरमा यति धेरै भेराइटी दुर्लभ हो । आज शनिबार हो ।

आफैंलाई लेखेँ कि अरुलाई लेखेँ । अरुलाई लेखेँ कि तिमीलाई लेखेँ । कति ठाउँमा ठीक्क पार्न लेखेँ होला ।
सामाजिक मूल्याङ्कनदेखि नडराउने प्रयास गर्दैछु ।


'You know what you did. You dont need to tell others'

तिम्रो म
२०१५ जनवरी २३
८:४८ साँझ














Monday, September 8, 2014

Question

I love questions without answers
And answers without question
Tell me
Would you answer
Or question?

Sometimes no question is question
And silence
Is the best answer

How many questions
exist between
One silence to another silence
How many answers
Lie between
One question to another

I love moments without memories
And memories without moments
Would you be
My memory or moment?

If you asked me same question
I would rather be silent.

Thursday, July 11, 2013

Where do the Children Play?

I have always been a big fan of Cat Stevens (Yusuf Islam). Though I can not articulate all the meanings of his songs and their impacts, I just find his songs very meaningful and connected with our societies. Even the songs he wrote and sang in 70s are still relevant and meaningful. One of my favorite is 'where do the children play?' Well, that is a big question for metro cities like Kathmandu. And the question is going to be even bigger in coming decades. One fine evening I filmed kids in my neighborhood in Eastern Kathmandu and tried to sync them with the song. Please enjoy the video and let me know how did you find it.



Please turn the captions [CC] on to see the lyrics.

Saturday, May 25, 2013

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन ।

धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।

Tuesday, May 7, 2013

कति पटक १२ बज्यो होला जिन्दगीमा?



१२ बजे गएको थियो भुइँचालो
च्यापेर लालाबाला
हुित्तँदै आँगनमा झरेकी उनी
रातभरि टोलाएकी थिइन्
तीन आँख्ले तारा हेर्दै
परदेशीको सम्झनामा

१२ बजेतिर
खोलामा भैंसी आहाल बस्थ्यो
र उनी डोकाभरि घाँस काटिरहन्थिन्
खोलाको डिलमा बसेर धोर्जे
सुसेली रहन्थ्यो
छिमेकको एउटा बुढो लाहुरे
बल्छी बोकेर आउँथ्यो खोलामा

१२ बजे कहिले घाम लाग्थ्यो
कहिले पानी पर्थ्यो
कहिले त बाढी नै आएको थियो
चट्याङ परेको थियो
हुरि चलेको थियो
धुलो उडेको थियो
रेडियोमा गित बजेको थियो
स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए
छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो
पेट दुखेको थियो
जुलुस देखिएको थियो
रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु

१२ त कति बज्यो कति जिन्दगीमा
कहिले दिउसोको १२ बज्यो
कहिले रातीको १२ बज्यो
कहिले ताराहरुले १२ बजाए
कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो
कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो
कहिले भोका बाख्राले १२ बजाए

परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा
ब्याट्री सक्किएको छ
र १२ नै बजेको छ

तर अफशोच
घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर
तैपनि उनको जिन्दगीमा
अझै थुप्रै पटक १२ बज्न बाँकि नै छ

Saturday, April 20, 2013

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।

Saturday, March 30, 2013

बेलायत डायरी

मौसम
हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरूप देखायो ।

Monday, February 25, 2013

बूढो माउते र हात्ती


अजङ्गको हात्तीको
गर्धनमा टाँसिएर
दिनभरि घुमिरहन्छ
र घुमाइरहन्छ
एउटा लुरे ज्यानको बुढो माउते

चहार्छ जङ्गल
देखाउँछ जङ्गली जनावरहरु
एक सिङ्गे गैंडा र मृगका बथान देखेर
चिच्याउँदै गर्दा उसका सवारीहरु
बुढो माहुते मोलिरहन्छ खैनी
बेपर्वाह

हरेक सूर्यास्तमा
बाफ उडिरहेको खोलामा
पिलाएर हात्तीलाई पेटभरि पानी
बुढो माहुते
धुवाँ उडिरहेको एउटा झुपडीमा पस्दछ
र टकटक्याएर गम्छाबाट दिनभरिका टिप्सहरु
पिउन थाल्छ हात्ती जस्तै

अन्धाको देशमा हात्ती जस्तै
उ छामिरहन्छ जिन्दगी
कहिले जिन्दगी
खाँबो जस्तो
कहिले जिन्दगी डोरी जस्तो
कहिले जिन्दगी
भित्तो जस्तो
पिउँदा पिउँदा हरेक साँझ
प्राय उसलाई लाग्छ जिन्दगी
रित्तो रित्तो जस्तो

Saturday, February 23, 2013

डेरियो लोपेज: एउटा नामको कथा

हुन त विलियम शेक्सपियरले 'नाममा के नै छ र ?' भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा ।

बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।

Wednesday, February 13, 2013

किम्बुको बोटमुनि

हामीसँगै हुर्केको थियो
किम्बुको बोट

तिम्रो आँगनको छेवैमा
छेलिएर किम्बुको बोटमा
म हेर्ने गर्थेँ
लुकेर
तिमीले नुहाएको

थाहा छ मलाई पनि
तिमी पनि त रोज्ने गर्थ्यौ
मेरै घर छेउको साँघुरो बाटो
बजार जाँदा
छाडेर
छोटा र सजिला मूलबाटाहरु


किम्बुको बोटमुनि
खेल्ने गर्थ्यौं हामी
गुडियाहरु
जहाँ तिम्रा पुतली
र मेरा पुतलीका
अनगिन्ति विवाह महोत्सव भएका थिए

किम्बुको बोटमुनि
हुन्थेँ म
सँधै डर लागेको नक्कल गर्थेँ रुख चढ्न
किनभने तिमी छोटो फ्रक लगाएर
चढ्दथ्यौ किम्बुको रुख
र झारिदिन्थ्यौ मेरा लागि
गुलिया रसिला किम्बुहरु

किम्बुको बोटमुनि
बुन्ने गर्थ्यौं हामी
थुप्रै थुप्रै
कोमल रेशमी सपनाहरु
गुजुल्टिएर

किम्बु फलेझैं
कुनै विहान अचानक फक्रेको थियौ तिमी
हो त्यसैदिन देखि
तिमी आँगन छेउको इनारमा नुहाउन छाडेका थियौ
मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई
छेलिएर किम्बुको बोटमुनि

त्यसैदिनदेखि हुनु पर्छ
तिमी हिँड्न पनि छाडेका थियौ
बजार जाने मेरो घरको बाटो

मैले अन्तिमपटक हेरेको थिएँ तिमीलाई
छेलिएर किम्बुको बोटमा
जतिखेर तिमी
रँगिएर सिउँदोमा
छाडेर जाँदै थियौ सँधै सँधै
किम्बुको बोट र आँगन छेउको इनारलाई

बुढो भएको किम्बुको बोट
काटिएको छ अहिले
र खुलेको छ एउटा फर्निचर पसल छेवैमा
तिमी नुहाउने त्यो पुरानो इनारको
नामो निशानै छैन
बरु भेटिन्छन् नयाँ छिमेकीहरु
रित्तो गाग्रि बोकेर भड्किरहेका यताउता

किम्बुको बोटमुनि हुर्केका
रेशमझैं पातला सम्झना
बोकेर
यतिखेर म सोचिरहेछु
एउटा किम्बुको बोट रोप्न मन छ कतै
तर को आएर खेल्ला
मैले रोप्ने किम्बुको बोटमुनि ?



फेब्रुअरी १२ २०१३ काठमाण्डु

Saturday, February 9, 2013

आउटसाइडरको नजरमा जयपुर साहित्य महोत्सव

नेपाली पत्रपत्रिकाका शनिबारीय परिशिष्टांकमा केही सालयता बर्सेनि साहित्यको कुम्भ मेलाजस्तै गरी छापिने 'जयपुर साहित्य महोत्सव'का नालिबेली पढ्दा पढ्दा मलाई पनि एकचोटि पुगौं न त भन्ने लागेको थियो । जुन मौका यसपटक जुर्‍यो । एसियाकै सबैभन्दा ठूलो रेल सञ्जालको रेल चढ्न गोरखपुरबाट ब्ल्याकमा काटिएको टिकट समातेर दिल्लीको रेल चढ्दा बाटामा भेटिएका सहयात्रीहरू भारत र बेलायतको जारी क्रिकेट म्याचको कमेन्ट्री गरेर बाक्लो हुस्सुमाझ दौडिरहेको रेलको पट्यारलाग्दो यात्रामा टाइम पास गरिररहेका थिए ।

काठमाण्डुबाट जयपुर केवल साहित्य मेला हेर्न हिँडेको भन्दा उनीहरू कान ठाडो पारेर अचम्म मानेझैं गर्दथे । बाटामा भेटिएका बिहारी मूलका ६० वर्षे एक व्यक्ति, जो हाल लखनउबासी भइसके, उनले आफ्ना अमेरिकामा रहेका छोरा, उनको तलब र उनले हालै किनिदिएको नयाँ गाडीका बारे गफ गरेर धेरै समय खर्च गरे । छोरीको बिहे नजिकिएको समेत उनले बताए । तर अफसोस, पण्डितले जुराइदिएको साइत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४ मा परेकोले उनी साह्रै चिन्तित थिए । यस्ता आयातित दिवसहरूका कट्टर विरोधी उनको विचारमा भारतले परम्परागत मूल्य मान्यताको लत्तो छोड्दै थियो । भारत अधोगतितिर लम्कँदै थियो । र उनी यी सारा कुराको दोष नेताहरूलाई दिन चाहन्थे । विशेषगरी प्रधानमन्त्री मनमोहन सिंहलाई ।

Sunday, January 20, 2013

जयपुर जाने हो सान्नानी?


जयपुर जाने हो सान्नानी?
मैले सान्नानीलाई सोधेँ

भनेँ
सान्नानी
लामो रेल चढौंला
हेरौंला उडेका चराहरु
र बगेका नदीहरु
लामा लामा पुलहरु
मान्छेहरु
बजारहरु
बस्तिहरु

जाउँ न सान्नानी जयपुर जाउँ
झिलिमिली शहरमा हराउँला
दौडौंला उँटका बथानहरुसँगै
मरुभूमिको नौलो र सुनौलो सूर्यास्तमा ।

जयपुर जाने हो सान्नानी?
दुई चार दिन घुमेर फर्कौंला नि ।

अनुहारमा खुशि र डर एक्कैचोटि पोख्दै
सान्नानीले मसिनो स्वरमा भनी :

जान त जान्थेँ होला नि तिमीसँगै जयपुर
२-४ दिन नि कुन ठूलो कुरा भो र!
तर,
फर्किएर आएपछि
मेरा बा
मेरी आमा
दाजु
भाउजु
सानो भाइ
दुई चार जना छिमेकी
अनि घरको भोटे कुकुर समेत
मेरो लागि ठूलो प्रश्न बनेर उभिनेछन
आँगनको डिलमा,

यति मात्र कहाँ हो र
गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो ।

जयपुर मात्रै होइन
लैजाउ मलाई
भागलपुर,
हाजिपुर,
मुजफफरपुर,
वासेपुर
वा जनकपुर नै किन नहोस

तर फर्केर नआउने गरी लैजाउ
त्यहिँ भक्तपुर भए पनि जान्छु

Saturday, December 29, 2012

जसले 'भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ ।

विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।

Tuesday, December 4, 2012

एउटा पत्र हराउनेका लागि


प्रिय हराएको तिमी,

हुन त तिमी हुनु र नहुनुमा खासै अन्तर लागेको छैन । तै पनि कता कता तिमी हरायौ कि जस्तो लाग्दो रहेछ । हुन सक्छ म पनि कहिँ कतै हराएँ होला । तिमी हराउनु अथवा म हराउनु; हुन सक्छ हामी दुबै हराउनुको 'महशुस गर्नु पनि त तिमी हुनु र नहुनुको अन्तर महशुस गर्नु नै हो' भनेर तर्क गर्न सक्छौ तिमी । थाहा छ तिमीलाई, म सँधै विरोधाभाषी छु ।

मैले भनिसकेँ तिमी हराएदेखि, अथवा त्यो पलदेखि जब तिमी हराएको एउटा गाढा महशुस हुन थालेदेखि खासै फरक पाएको छैन मैले म वरिपरिको दुनियाँमा । स्वभाविक र प्राकृतिक परिवर्तनहरु त तिमी हुँदा पनि हुन्छन्, तिमी नहुँदा नि हुन्छन्, हामी दुबै नहुँदा नि हुन्छन् । भइरहन्छन् । तिम्रो आँगन, तिम्रो झ्याल अथवा तिमी रहेको बन्द कोठाको एउटा सानो प्वालबाट पनि तिमी त्यो छिर्केमिर्के संसार देखिरहेकी छ्यौ होला जुन मैले पनि देखेको छु । तिमी हरेक साँझ एउटा रातो सूर्यास्त हेरेर केही बेर टोलाउँछ्यौ होला म पनि टोलाउने गर्दछु । अनि हरेक रङ्गीन विहानीमा तिमीमा पनि सपनाका उन्मुक्त रंग चढ्छ होला ममा जस्तै । फरक यत्ति छ हामी छिर्केमिर्के संसार, रातो सूर्यास्त र रङ्गीन विहानीका प्रतिबिम्ब एक अर्काको आँखामा पनि प्रष्ट देख्दथ्यौं । हेर्दथ्यौं ।

हराउन पनि एक्कासी हराएको हो र । बिस्तारी बिस्तारी धमिलो हुँदा हुँदै देखिनै छाड्यौ पो त । रात विहानीमा हराएजस्तो । दिन साँझमा हराएजस्तो । नढाँटीकन भन्छु त्यो त्यही डाँडा हो । त्यही घाम हो । तर अँह सूर्यास्तमा पहिलेजस्तो ग्ल्यामर पटक्कै छैन । कतै यो सूर्यास्त पनि तिमी हराएजस्तै बिस्तारी बिस्तारी हराउने त हैन कुनै दिन । शहरको पनि के कुरा गर्नु । पहिले कति गाढा र सजिव लाग्द्थ्यो शहरको चित्र । आजकल फिक्का र धमिलो लाग्दैछ । शहरको पनि रङ्ग खुइलिन्छ र ? तिमीलाई थाहा छ भने भनन ।
हुन त मेरा लागि तिमी मात्रै हराएनौ । तिमीसँगै केही गीत हराए । केही संगित हराए । कविता पनि हराए अलिअलि । केही दृश्य हराए । केही मूर्खता हराए । केही सौन्दर्य हराए ।  सम्झना त हराए अरुको कुरा छाड न ।

यति धेरै थोक हराएर त म रित्तो भएँ जस्तो लागेको होला तिमीलाई । अँह म पूर्ण छु । भरिभराउ छु । अगिनै भनिसकेँ तिमी हुनु र नहुनुमा केही फरक छैन । हराउनु पनि प्राकृतिक र स्वभाविक कुरा रहेछ भनेर बुझिसकेँ मैले । तिमी हराएकोमा गुनासो त पटक्कै छैन । यहाँबाट हराएर के भयो!  अन्त कतै भेटियौ होला । म पनि हराउने क्रममै छु । बिस्तारी बिस्तारी ।

उही
हराउँदै गरेको म

Sunday, December 2, 2012

7 Reasons Why Nepali Twitter users are not Cool


1. They tweet like celebrity : most of the time you don't understand what they are tweeting about. Only themselves or their close peers know.

2. They tweet less chat much: most of the tweets are personal conversation.

3. They have knowledge deficit: you don't get nothing from their tweets. They don't talk about ideas, knowledge, information, innovation, creativity or any other crazy things. Most of tweets are about everyday prattles.

4. They don't help: you ask where is the best place in Kathmandu for a nice dinner or you ask about coolest android device in the town. You don't get goddamn answer because people don't help you or people are not able to help you.

5. People have very very close or limited circle: almost everybody knows of everybody. That means they have lots of prejudiced opinion.

6. People don't know about technology: they use technology but they don't talk about it and they don't want to extend their knowledge. They don't tweet about their experience, troubleshooting, tips n tricks, except some 'social media experts' sharing some of the Mashable links.

7. They tweet for the sake of tweeting: They just tweet because they think tweeting makes them cool

Monday, November 19, 2012

गाउँ, बाउ र छोराहरु


रातो सूर्यास्तका बेला
गाउँ एक्लो छ
बाउ एक्लो छ
दिनभरि कामबाट फर्केर
ढोका उघार्न आइपुग्दैन कुनै छोरो ।

नजिकै छिमेकमा
हरेक सूर्यास्तपछि
सुनिन्छ हार्मोनियमको झंकार,
जहाँ मोटो चश्मा लगाएको
एउटा एक्लो बाउ
भजन गाइरहन्छ
दबाएर छोरोको सम्झना
दबाएर हार्मोनियम ।

रातो सूर्यास्तमा
धुलो उड्दैन
गाउँको एउटा पुरानो चौरमा,
जहाँ खेल्दैनन् छोराहरु
खेल्दा खेल्दै लड्दैनन् साना छोराहरु
किनकि
हुत्तिँदै घर पुगेर हाम्फाल्ने
बाउका काखहरु छैनन् घरमा
घरमा बाउहरु छैनन्

हरेक रातो सूर्यास्तमा
गाउँ सुन्दर छैन पहिले जस्तो,
जहाँ बाउ-छोराहरु छैनन्
केवल छन् त
बाउविनाका छोराहरु
र छोराविनाका बाउहरु

Inspired by recent visit to my hometown Hetauda

नोभेम्बर १९, २०१२
काठमाण्डु

Saturday, October 20, 2012

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे ।

पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना ।

तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ ।

कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ डे छुट्टी भयो । दादुराको खोप लगाउन आएको टोलीले हात चाट्दै भात खाएर बिदा भएपछि गेस्टहाउसका म्यानेजर र स्कुलका पि्रन्सिपल डाक्पा किचनको कुनामा बसेर स्याउको छ्याङ खान थाले एक्लै भावुक भएर । एक ग्लास घिउ कलरको छ्याङ टक्य्राउँदै उनले भने, 'सर प्योर हो । प|mुट्सबाट बनाएको टिब्बेटन वाइन । काठमाण्डुको जस्तो केमिकल मिसाएको होइन ।'

डाक्पा त्यतिखेर ४, ५ वर्षका मात्र थिए जतिबेला उनका आमाबाबु बिते । पोखराको हेम्जामा शरणार्थी क्याम्पमै जन्मेका डाक्पालाई तिब्बतबाट नेपाल भागेर आउँदाका कथा सुनाउने कोही भएनन् । नेपालमा जन्मेर ४० नाघिसकेका डाक्पा आफ्नो परिचयबारे सधैं कन्फ्युज्ड छन् । आफूलाई टिबेटन भन्छन् । तर तिब्बत त एकादेशको कथा पो हो त । १९४९ मा चिनियाँ आक्रमणपछि धेरै तिब्बतीहरू भागेर नेपालमा शरण लिन आइपुगेका हुन् । डाक्पा दोस्रो पुस्ताका शरणार्थी हुन् । जो नेपालमा जन्मिए । डाक्पाले पनि धेरै नेपालीले जस्तै तिब्बतीको बारेमा किताबमा लेखिएका कुरा मात्रै पढेका छन् । नदेखेको र नपुगेको एउटा बिरानो भूमिसँग जोडिएको ६० वर्ष पुरानो परिचयको त्यान्द्रो समातेर डाक्पा अझै भन्न बाध्य छन्, 'म टिब्बेटन हो ।'

हेम्जामा बाआमा बितेपछि डाक्पा भारतका बालमन्दिरहरूमा पढ्न पुगे । १९९८ मा मुस्ताङको यो क्याम्पमा फर्केर आए र स्कुलमा बालबालिकालाई पढाउन थाले । जिन्दगी यसैगरी चलिरहेको छ । डाक्पा न सुखी छन् न दुःखी छन् । उनको हाँसो मिठो छ । राष्ट्रियताको कित्तामा डाक्पाजस्ता अरू थुप्रै तिब्बती शरणार्थीहरू कहाँ उभिने हो उनीहरूलाई नै थाहा छैन ।

मैले निष्ठुरी भएर डाक्पालाई फ्याट्टै सोधेँ, 'नेपालको माया लाग्छ कि लाग्दैन ?' डाक्पाको सहज र कन्पिmडेन्ट जवाफ आयो, 'लाग्छ, किन लाग्दैन । नेपाल सुखी भयो भने हामी सुखी हुन्छौं, नेपाल दुःखी भयो भने हामी दुःखी हुन्छौं । यहाँको पोलिटिक्सले हामीलाई पनि चिन्ता लाग्छ ।'

समस्या परिचयको मात्रै रहेछ । राज्यले सही गरेर दिने एउटा कागजको टुक्रा, जसलाई नागरिकता भनिन्छ, त्यही नागरिकता नपाउनुले डाक्पाजस्ता तिब्बतीहरू नेपालमा जन्मेर ४ दशकभन्दा बढी बाँचिसक्दा पनि परिचयविहीन छन् । डाक्पा भन्छन्, 'आईए बीए पढेका, सीए पढेका, डाक्टर पढेका सबै छन् यहाँ । नागरिकताबिना काम नपाइने रैछ । प्रब्लम छ ।'

आफूले दिनदिनै स्कुलमा पढाउने नानीहरू ः जो नेपालमा जन्मेका तेस्रो पुस्ताका अनागरिक हुन्, नेपालमै जन्मेका आमाबाबुबाट जन्मेका यी गैरनेपाली नानीहरूको भविष्य पनि डाक्पाले सुन्दर देखेका छैनन् ।

िि

गिाउँपारि बजार छ । मार्फा बजार । मार्फा बजारका पुराना गल्लीहरूमा यही क्याम्पका थुप्रै शरणार्थीहरूको उपहार पसल छ । आजकल बजारमुन्तिर सडकमा बस र जिप चल्छन् । पहिलेजस्तो कुइरेहरूको भीड लाग्दैन पसलमा । सुनसान गल्लीका उपहार पसलमा ग्राहक ढुकेर बसेका देखिन्छन् तिब्बती शरणार्थीहरू ।

मिङमारको उमेर ३३ वर्ष भयो । उनी पनि नेपालमै जन्मेकी हुन् । उनका दुई नानीहरू पनि छन् । मिङमार दिनभरि पसलमा ग्राहक कुरेर बस्छिन् । पसलअघिल्तिर हिँडिरहेका कुइरे देखिन् भने 'प्लिज कम इनसाइड' भनेर बोलाउँछिन् । बेलाबखतमा थर्मसमा राखिएको घिउ हालेको चिया कपमा खन्याउँछिन् । कानमा लगाउने झुम्का र हातमा लगाउने तिब्बती गहनाका पुराना मक्केका धागोमा नयाँ धागो हालेर बसिरहन्छिन् । वर्षमा एक दुईचोटि छोरीहरूलाई घुमाउन भारतका केही तीर्थस्थल जान्छिन् । उनका छोरीहरू पनि क्याम्पकै स्कुलमा पढ्छन् । मिङमार त्यति राम्रो नेपाली बोल्दिनन् । उसो त मिङमार मात्र होइन क्याम्पका अधिकांश नेपालीमा बोल्न सहज महसुस गर्दैनन् । यहीँ जन्मेर दशकौं बाँचिसक्दा पनि नेपाली भाषा अझै सहजसँग बोल्न नसक्नुले यो समुदायको अरू समुदायसँग हुने अन्तरक्रिया कति पातलो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । भन्न खाजेको यो समुदाय कति एक्लो रहेछ ।

मिङमारको पसलमा कुनै सामान बार्गेन नगरी किनिदिने सर्तमा पनि उनले माइक्रोफोन अगाडि अन्तर्वार्ता दिन मानिनन् । कारण उही दोहोर्‍याउँथिन्, नेपाली राम्रो छैन । उनले 'अर्को साल आउनुस् अनि अन्तर्वार्ता दिउँला' भनिन् ।

मिङमारकै पसलमा झुलुक्क आइपुगिन् थुक्तेन डोल्का । ४४ वर्षकी थुक्तेनलाई आमाले डोल्पामा पाएको रे । आमाबाबु तिब्बतबाट भागेर नेपाल आइरहँदा बाटोमा जन्मेकी हुन् थुक्तेन । पछि बाआमा भर्खरकी छोरी बोकेर काठमाण्डुमा स्वयम्भू र बौद्धको दर्शन गर्न गए । अनि फर्केर आई यही हिमालको काखमा रहेको शिविरलाई आफ्नो थलो बनाए ।

एउटा मान्छेको जिन्दगीमा ४४ वर्षले के अर्थ राख्छ ? थुक्तेन त आफ्नो जिन्दगी दुःख सुखमा बितिसकेको बताउँछिन् । उनलाई फेरि छोराछोरीको पो चिन्ता छ त । १२ कक्षासम्म जसोतसो पढाए पनि त्यसमाथि पढ्न पैसा चाहिन्छ । पढेर पनि के गर्ने शरणार्थीलाई कसले काम दिन्छ र । काम गर्न नागरिकता चाहिन्छ ।

मिङमारको पसलभन्दा अलि पर कर्माको पसल छ । कर्माका दिनहरू पनि धेरैजसो ग्राहक कुरेरै बित्छ । खास भन्ने हो भने, मेरो पहिलो भेट कर्मासँगै भएको थियो । उनको पसलमा राखिएको एउटा पुरानो श्यामश्वेत तस्बिरबाट सुरु भएको कुराकानीका क्रममा उनले नै क्याम्पमा जान अनुरोध गरेका थिए । झोलुङ्गे पुल तरेर क्याम्प पुगेको थिएँ म । क्याम्पका युवाहरू पनि बोल्न साह्रै हिच्किचाएको अनुभव फर्केर आएर कर्मालाई सुनाएको थिएँ । कर्मा भन्दै थिए, 'टिबेटनहरू साह्रै सोझा हुन्छन् । हाम्रोभित्रको मिटिङमा मुठ्ठी कस्छन्, बाहिर बोल्न पनि सक्दैनन् ।'

कर्माको उमेर ३५ वर्ष भयो । उनी पनि नेपालमै जन्मेका हुन् । भनिरहन पर्दैन उनी पनि गैरनेपाली हुन् । अहिलेसम्म बिहे गरेको छैन । बिहे गर्न पनि मन छैन । कारण भन्छन् कर्मा, 'बिहे गरेपछि भविष्य र देश नभएको अर्को पुस्ता जन्मिन्छ ।'

कमसेकम बोलीमा कर्मा सबैभन्दा क्रान्तिकारी देखिए । आफ्ना समस्या भन्न पनि डराउने यो समुदायमा कर्माले समस्या धेरैलाई पोखिसकेका छन्, गाउँ डुल्न आएका पूर्वराजा ज्ञानेन्द्रदेखि अमेरिकी राजदूतसम्मलाई ।

देश नहुनुको पीडा कस्तो हुँदो रहेछ कर्मा ? निकै दबेको आवाजमा कर्माले भने, 'संसारमा सबैभन्दा ठूलो पीडा नै शरणार्थी भएर बाँच्नु रहेछ । आमा नहुनुको पीडाजस्तै हुन्छ देश नहुनुको पीडा ।'

तिब्बती हस्तकलाको कर्माको पसलमा एउटा पुरानो तस्बिर छ । श्यामश्वेत तस्बिर । १९६४ को तस्बिर हो त्यो । जहाँ कर्माका बाबु बन्दुक बोकेर उभिएका छन् । कर्माका बाबु खम्पा विद्रोही थिए । तिब्बत कब्जा गरेको चिनियाँ सेनाविरुद्ध लड्न तयार पारिएको भूमिगत विद्रोही जत्थाका एक ठूलै कमान्डर थिए कर्माका बाबु । कर्मा भन्छन्, 'सीआईएले हात झिक्यो । विद्रोह असफल भयो ।' कर्माका बाबु त्यो फोटो खिचाउँदा सीआईएको तालिम लिन अमेरिकाको कोलोराडो गएका थिए ।

एउटा योद्धा बाबुको छोरा पसलमा हस्तकला बेचेर बस्छ । भात खाने मेलो त्यही हो । जुन देश छोडेर बाआमा आए त्यो देश त आफ्नो हुँदै भएन, जुन देशमा जन्मेर ३५ वर्ष काटियो त्यो देश पनि आफ्नो हुन सकेन । अरू धेरैका जस्तै कर्माको पनि समस्या परिचयको हो जसले उनलाई जिन्दगीभर दोधारमा पारिरह्यो । कर्माको देश खोइ ? सायद उनी शरणार्थी क्याम्प जाने बाटोमा पर्ने झोलुङ्गे पुलजस्तै हुन् जुन दुई किनारमा बाँधिएको छ । न वल्लो किनाराको हो, न पल्लो किनाराको । अनि हावाले बेजोडले हल्लाइरहन्छ, लिन्ठिङ-लिन्ठिङ ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Friday, October 12, 2012

नदी र सडक


पहिले यहाँ नदी थियो
एउटा लामो
निकै लामो
जीवनजस्तै लामो नदी,
बगिरहने नदी
बजिरहने नदी ।

अहिले नदी छेउ छेउ
नदीको लम्बाइलाई
नदीको बगाइलाई
नदीको ‌बेगलाई
चुनौती दिँदै
सडक सुतेको छ ।
घीनलाग्दो सडक
सुन्दर नदी छेउ
मुर्दा जस्तै सुतेको छ,

सडक न त
नदी जस्तै लामो-लामो छ
न त नदीजस्तै बग्छ
न त नदीजस्तै बज्छ !

नदीमा त केवल
मरेका मान्छेहरु मात्र बग्थे

सडकले त जिउँदा मान्छेहरु बगायो,
बलिया पाखुरा
र बलिया घोडाहरु बगायो,
परबाट घन्टी बजाउँदै
लोमान्थाङबाट घोडा चढेर आउने
दारा गुरुङका इष्टमित्र बगायो,
कति सम्बन्ध बगायो,
नदी छेउका कति देउता,
ढुङ्गै सही:
त्यो पनि बगायो,

नदी त
आफू धेरै बग्थ्यो
अरुलाई कम बगाउँथ्यो
तर यो सडक
आफू बग्दै बग्दैन
र अरुलाई बगाइरहन्छ ।

अक्टोबर २०१२, मुस्ताङ

Saturday, August 18, 2012

मिसन मंगल

अघिल्लो साता दुई प्रकारका ठूला खेल भइरहेका थिए संसारमा । कोही ओलम्पिक्समा दौडिँदै थिए भने क्युरियोसिटी नामको यान मंगल ग्रहतिर दौडिँदै थियो । झन्डै ९ महिना लामो रेस पार गरेर क्युरियोसिटीको मंगल सतहमा अवतरण हुने तयारी भइरहँदा धेरैले लन्डन ओलम्पिक्सलाई बिर्सेका थिए ।

सन् १९६१ तिर एउटा भाषणको क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्रै अमेरिकाले चन्द्रमामा मान्छे पठाउने घोषणा गरिदिए । शीतयुद्धको बेला सोभियत संघसँग चलिरहेको 'स्पेस रेस'मा पछि पर्न लागेको देखेपछि अलि बढी नै आवेगमा आएर राष्ट्रपति महोदयले चन्द्रमामा मान्छे नै पठाउने योजना सार्वजनिक गरिदिएपछि नासालाई बडो धर्मसंकट परेको थियो । किनभने त्यतिबेला नासासँग चन्द्रमामा मान्छे पठाउने कुनै योजना थिएन ।

केनेडी राष्ट्रपति मात्र थिएनन् । त्यतिबेलाका सबभन्दा प्रभावशाली र चर्चित नेता पनि थिए । आखिर उनको त्यही लहडी भाषणबाट सुरु भएको योजनाले सन् १९६९ मा मूर्त रूप पायो । अमेरिकाले चन्द्रमामा मान्छे पठाइछाड्यो । संसारका लागि त्यो घटना ऐतिहासिक भयो । नेपालसम्मका अंग्रेजी स्कुलका विज्ञान विषयका पाठ्यपुस्तकमा चन्द्रमामा पाइला राखिरहेका निल आर्मस्ट्रङको आवरण तस्बिर छापियो र मान्छेको जातले भनिरहन पायो, मान्छे महान् छ हामीले चन्द्रमालाई पनि छाडेनौं । कतिपयले त अमेरिकाले चन्द्रमामा मान्छे पठाएको समेत पत्याएनन् । सन् १९६९ देखि ७३ सम्म एपोलो मिसनमा १२ जनाले चन्द्रमामा पाइला टेके । त्यसपछि अहिलेसम्मका ४० वर्षमा कुनै मान्छे पनि चन्द्रमामा पुग्न सकेको छैन । सायद चन्द्रमामा जानुको उदेश्य केवल जानु मात्रै थियो, त्यहाँबाट हात पर्ने केही थिएन ।

अहिलेचाहिँ कुरो मंगल ग्रहको हो । पृथ्वीसँग मिल्दोजुल्दो स्वभाव भएको यो ग्रहसँग धेरै पहिलेदेखि नै मान्छेको जिज्ञासा र कल्पना जोडिँदै आएको छ । अमेरिका र उसको अन्तरिक्ष नियोग नासालाई नजिकबाट बुझ्नेहरूले सधैं के भन्ने गरेका छन् भने, नासा साँचो कुरा लुकाउन खप्पिस छ । मंगल ग्रहको पातलो वायुमण्डलमा १३ हजार माइलको गतिमा खस्दै गरेको क्युरियोसिटी यान हावामै जलेर भष्म भएको भए पनि नासाले केही सुन्दर र रोचक जवाफहरू तयार पारेर राखेको थियो, जसले उसको असफल प्रयासलाई पनि उपलब्धिकै रूपमा सावित गथ्र्यो । भइदियो के भने, नासा सफल भयो । यान मंगल ग्रहकै सतहमा उत्र्यो र भटाभट फोटो खिचेर पठाउन थाल्यो ।

नासाले जे गरे पनि गलत देख्ने 'षड्यन्त्रको सिद्धान्त'मा विश्वास गर्नेहरूले यानले पठाएको पहिलो फोटोमै षड्यन्त्रको गन्ध देखे । त्यो फोटोमा एउटा कालो धब्बा थियो । त्यो धब्बा के थियो ? मंगलको कुनै जीव ? कुनै रहस्य ? आखिर के ? मंगल अवतरणका प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहँदा सामाजिक सञ्जालमा यस्ता प्रश्नहरूको ओइरो लागेका थिए । नासाले जवाफ दिन कर लाग्यो, 'यो अरू केही होइन हाम्रै यानले उडाएको धूलो हो ।' कतिले पत्याए । कतिले पत्याएनन् । हुन पनि मंगलबाट पृथ्वीमा आइपुगेको पछिल्लो फोटोले मानिसहरूलाई एकपटक फेरि सन् १९७६ सम्झाइदिएको थियो । जतिखेर भाइकिङ १ यानले खिचेको मंगल सतहको एउटा तस्बिरमा मान्छेको अनुहारझैं लाग्ने आकृति देखिएको थियो । कालान्तरमा त्यो एउटा चट्टान मात्रै भएको पुष्टि भयो ।

***

पृथ्वीबाट मंगल ग्रहको दूरी २५ करोड माइल छ । १९६० को दशकमा मंगलको आकाशसम्मै यान पुग्यो । त्यसपछि यस ग्रहका थप रहस्यहरू बाहिर आउन थाले । यहाँ कुनै समय पानीको अस्तित्व थियो । अहिले पनि बरफका रूपमा रहेको पानी भेटिएको छ । पृथ्वीजस्तै वायुमण्डल र पृथ्वीजस्तै सूर्यबाट ठिक्कको दूरीमा न धेरै तातो न धेरै चिसो अवस्थिति । यी यावत् कुराहरूले जिज्ञासु मानव जातिको यो ग्रहप्रति रुचि बढाइदिएको हो ।

मंगल ग्रहका यी सबै भूगर्भीय र जैविक सर्तहरूले जीवनको सम्भावनालाई एउटा सानो स्थान दिन्छन् । र जिज्ञासु प्राणी मान्छेले यही सम्भावनालाई खोतल्ने क्रममा मंगलमा यति धेरै रुचि दिएको हो । अमेरिकाले मंगल ग्रहमा पनि आफ्नो साम्राज्यवाद विस्तार गर्न, त्यहाँ रातारात सहर बसाउन र त्यहाँबाट महँगा खानीहरू पृथ्वीमा ओसार्नकै लागि दुई चार वर्षको अन्तरमा अर्बौं खर्च गरेर यानहरू पठाइरहेको हो भन्ने विश्लेषणचाहिँ हालको लागि यथार्थभन्दा अलि पर नै रहन्छ । अर्थात् हावादारी । कमसे कम अहिलेका लागि मंगल जेम्स क्यामरुनले 'अवतार'मा देखाएको प्यान्डोराजस्तो ग्रह होइन ।

यसको अर्थ यो होइन कि, अमेरिकाले नितान्त वैज्ञानिक र पवित्र सामाजिक उद्देश्य बोकेर यी महँगा मिसनहरू सञ्चालन गरिरहेको छ । अमेरिकी प्रशासन, यसका विज्ञान र प्रविधिका अनुसन्धान र भविष्यवाणीका विश्लेषणहरू आम विश्वासीको बुझाइ र पहुँचभन्दा धेरै टाढा छन् । स्वयं अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलमा यान पठाउने नासाको टोलीलाई फोन गरेर भनेका थिए, मंगलमा जीव भेटियो भने सुरुमा मलाई भन्नुहोला, सानो जीवाणु भेटिए पनि मैले सुरुमा थाहा पाउनुपर्छ । ओबामाले ठट्टै गरेका भए पनि नासाले मंगलमा जीवाशेष भेट्यो भने ओबामाले समेत तत्काल थाहा पाउने छैनन् । बाँकी संसार त परको कुरा । एउटा भनाइ छ नि, 'वी नेभर नो ह्वाट वी डन्ट नो' अर्थात् हामीलाई के थाहा छैन भन्ने कुरा, हामीलाई कहिले नि थाहा हुँदैन ।

मंगलमा अवतरण गरेको क्युरियोसिटी यान यसअघि त्यहाँ पठाइएका यानहरूभन्दा शक्तिशाली छ । यसअघिका सम्पूर्ण यानहरूले गर्न सक्ने कामलाई जोड्ने हो भने पनि क्युरियोसिटीले गर्न सक्ने कामभन्दा कम नै हुन्छ । यसअघि साना यान पठाइन्थ्यो । यसपटक सिङ्गै प्रयोगशाला नै मंगलमा खसालिएको छ । प्राविधिक हिसाबले अत्यन्त जटिल प्रक्रियाबाट । केश फुलेका अनुभवी वैज्ञानिकहरूले पनि क्युरियोसिटी यान मंगल ग्रहको सतहमै नपुगी नष्ट हुने अनुमान गरेका थिए । त्यसैले नासाको लागि मंगल अवतरणले नै एउटा प्रमुख उदेश्य पूरा गरिदियो । त्यो यानले पत्ता लगाउने थप कुराहरू त सबै नासाको नाफामा जोडिनेछ ।

***

नासाले मंगल ग्रहमा पठाएको पछिल्लो यान, अहिलेसम्म कुनै ग्रहमा पठाइएको सबैभन्दा ठूलो यान हो । पृथ्वीबाट मंगलसम्मको दूरी, यान पठाउन लागेको खर्च, यसमा प्रयोग भएका अत्याधुनिक उपकरण र मंगलमा जीव अवशेष खोज्ने यसको उद्देश्यजस्ता फ्याक्टरहरूले नासाको मंगल यात्रालाई कुनै रोमाञ्चकारी कथा या फिल्मजस्तो बनाइदिएको छ । मान्छे रमाएका छन् । एउटा गरिब देशको मान्छेले पनि संसारको अर्को कुनोको मान्छेले नै गरेको यो उपलब्धिमा गर्व महसुस गरेको छ । २३ महिनापछि क्युरियोसिटी यानको आयु सकिनेछ । मंगलको कुनै खाल्टोमा यो यान निष्त्रिmय हुनेछ । नासाले पत्रकार सम्मलेन गर्नेछ । र उसले पत्ता लगाएका कुराहरू बडो जटिल र प्राविधिक शब्दावलीमा सुनाउनेछ । संसारले बुझेजस्तो गर्नेछ र धेरै कुरा थाहा पाउने छैन ।

हुन पनि सामान्य मानिसलाई मंगल ग्रहसम्म पुग्न लागेको इन्धन, क्युरियोसिटीमा जडान गरिएका क्यामेरका लेन्सका विशेषताजस्ता प्राविधिक पक्षसँग खासै चासो हुँदैन । यो विशाल ब्रह्रमाण्डको कुनै टाढा टाढा कुनामा हामीजस्तै प्राण भएका जीव होलान् कि नहोलान् भन्ने लेम्यान उत्सुकता न हो । र केवल नासाको यसपटकको मंगल अन्वेषणबाट हाम्रो उत्सुकताको तिर्खा पूर्ण रूपमा मेटिएला भनेर अपेक्षा नगरे पनि हुन्छ । विज्ञानका सर्तहरूका अनुसार मंगल ग्रहमा जीवन असम्भव छ । यहाँको पातलो वायुमण्डलमा पर्याप्त अक्सिजन छैन । सूर्यका हानिकारक किरण रोक्ने ओजोन तह छैन । पानी छैन । एउटा ब्याक्टेरियासमेत १५ सेकेन्ड बाँच्ने आधार पनि छैन ।

तर केही झिनो आधारहरू छन् जसले विगत कुनै समयमा मंगलमा जीवन थियो कि भन्ने सम्भावनालाई जीवित राखेको छ । कुनै समय त्यहाँ जीवन भएको भए, के कुराले त्यसलाई नष्ट गर्‍यो ? मंगलमा बसाइ सर्नेभन्दा पनि यो प्रश्नको जवाफ खोज्ने कामचाहिँ नासाको लागि र मानव जातिका लागि बढी महत्त्वपूर्ण हो । सौर्यमण्डलमा एउटै तरिकाले बनेका पृथ्वी र मंगलका समानताहरूबीच, मंगल ग्रहमा जीव अस्तित्व सखाप पार्ने कारण, पृथ्वीको लागि पनि कुनै समयमा एउटा गम्भीर कारण बन्न सक्छ । पृथ्वीका प्राणीलाई बचाउने एउटा महत्त्वपूर्ण पाठ बन्न सक्छ । मंगल अन्वेशषणले खोजेको जवाफ पनि त्यही नै हो ।

***

१९९० को दशकमा मंगल ग्रह अन्वेषणको कुनै मिसनमा ३ महिना काम गरेका एन्ड्रयु केसलर हफिङटनपोस्टमा लेख्छन्, 'बाहिर सुनिने गरेको कुरा र नासाको मिसन कन्ट्रोल रूममा देखिने कुरामा धेरै अन्तर छ । नासा सधैं आफ्नो असफलता लुकाउने प्रयासमा हुन्छ र सुन्दर कथा बुनेर प्रस्तुत गर्छ । ओलिम्पिक्समा जम्मा सय मिटर दौडनेले के

पाउँछ ? एउटा सुनको तक्मा ? उसको तारिफ, चर्चा, समाचार, महत्त्व कति हुन्छन् कति । यसको पछाडि ओलम्पिक्सको प्रतिष्ठा र त्यो खेलाडीले सय मिटर दौड जित्न जिन्दगीभर गरेको मिहिनेतलाई प्रमुख कारण मानिन्छ । सय मिटर दौड्दा त यत्रो नाम र हल्ला हुन्छ भने ब्रह्माण्डमा अर्बौं मिटर दौडँदा त्यसले चर्चा पाउनु स्वाभाविक हैन र ? त्यसमा पनि त मिहिनेत र प्रतिष्ठा दुवै जोडिएको छ, ओलम्पिक्समा जस्तै ।'

कान्तिपुर कोसेलीमा प्रकाशित

Tuesday, July 24, 2012

रित्तो बस‍


बस छुटिसकेको बसपार्कमा
मलाई लिएर जाने बस
फेरि फर्केर आए जस्तो
नसोचेको आयौ तिमी

एक बस
खचाखच सम्झना बिउँताइदियौ

मनमनै बोलिरहेँ म

मौन डुलिरहेँ
बसपार्क छेउका टुङ्गो नभएका गल्लीहरु जस्तै
अतीतका केही नागबेली बाटाहरुमा

निथ्रुक्कै भिजेँ
तिम्रो हेराइको वर्षात्‌मा,
चप्पलले माथि-माथि सम्म
हिलो छ्यापिरह्यो
सम्झनाको

गन्तब्यहीन अँध्यारा गल्लीहरुमा
बेफिक्री फर्किएर
हराएँ एकछिन
रमाएँ एकछिन

जसरि आयौ
त्यसरी गयौ तिमी
बिस्तारै गयौ
तर एक्कासी गयौ

म अझै मनमनै बोलिरहेको थिएँ
आज कतै जाने रुट नभएको
रित्तो बस भएर ।।

Sunday, June 17, 2012

असार


चुमेर सुस्तरि
गालाभरि फलेका आलुबोखराहरु
वसन्त, हिउँद र गृष्म बाँचेको
गुलमोहरको रुख जस्तै
वयोवृद्ध
सम्झनाका पत्रहरुलाई
नचाउँदै मन्द मन्द

बाफ उडिरहेको सडकमा
पर कतै धुलो उडाउँदै
एस एल सी पासको खबर
अम्मालाई सुनाउन
हतारिँदै साइकल कुदाइरहेकी किशोरीलाई
तर्साउँदै, जिस्काउँदै

ओडाइदिएर बादलको छाता
परदेशी श्रीमानको सम्झनामा
गुनगुनाउँदै
खेतको आलीमा
घाँस खुर्कीरहेकी
गर्भवतीलाई

पोहोर वर्षामै
हो क्यारे
कहिँ कतै
बेस्सरी रुझेको
सम्झाइदिएर
एउटा कविलाई

टाढा धेरै टाढाबाट
शीतल फोकाहरु
पानीका बोकेर
आइपुग्यो मनसुन
आइपुग्यो असार
तिर्खा लागेको बेला ।।

१७ जुन २०१२
काठमाण्डु

Wednesday, June 6, 2012

एउटा कवि मरेर गयो


कवितामै भए पनि
एउटा सुन्दर फूल फूल्दथ्यो
सपना उदाउँथ्यो हरेक विहान
अन्धकार झर्दथ्यो शीत भएर
हिमाल रातै रंगिन्थ्यो
बालक हाँस्दा

कवितामै भए पनि
देश विरलै दुख्दथ्यो
भ्रुण हत्या नि हुँदैन थियो क्रान्तिका वीजहरुको
रातारात हराउँदैन थिए सीमा स्तम्भहरु

बस् कवितामै होस्
हाम्फाल्दैन थिइन् आमा
सन्तान च्यापेर पुलबाट,
झर्दैन थियो आँशु
अस्पतालको सैय्यामा प्यारालाइसीस भएर
लडिरहेको सहीदको आँखाबाट


कवितामै भए पनि
परदेशिएको एउटा कसिलो पाखुराको
कमलो मन
बिझाउँदैन थियो हरेक रात
प्रेमिका र खेत बन्धक राखेको साहुको अनुहार
एक्कैपटक सम्झिएर

कवितामा
बँगैचा हुन्थे
फूल हुन्थे
हुन्थे पुतलीहरु
कहाँ हुन्थे र शीकारी कवितामा?
कहाँ हुन्थे र तस्करी कवितामा?

तर अफशोच
आज एउटा कवि मरेर गयो
कसले लेख्ला अब
फूलको कविता?
कसले देख्ला अब
फूलको देश ?

६ जुन २०१२, काठमाण्डु

Monday, May 14, 2012

गाउँ - शहर


गाउँदेखि शहरसम्म एउटा बाटो छ
कहिँ हिलो कहिँ धुलो माटो छ

एका विहानैदेखि गाउँ
ट्याङ्करका ट्याङ्कर
'शुद्ध खाने पानी' दिन्छ शहरलाई

खर्पनभरि साग दिन्छ
शहरलाई उसको भाग दिन्छ
दिन्छ मोटा सुँगुरहरु
बाँधेर बिक्रम टेम्पोमा

धुलो उडाउँदै गाउँ
शहरले नै दिएको ट्रिपरमा
गिट्टी दिन्छ
दिन्छ बालुवा

शहर बदलामा गाउँलाई
केही अपार्टमेन्ट दिन्छ
दिन्छ केही नौला सुकिला मान्छेहरु
काला सिसाहरु
र अग्ला पर्खालहरु पनि देखिन्छ गाउँको दृश्यमा
गाउँलाई शहरले दिएको गाउँभित्रको शहरमा

गाउँले सपना दिन्छ
शहरले पासपोर्ट दिन्छ
गाउँले बेरोजगारी दिन्छ
शहरले लुडो र क्यारेमबोर्ड दिन्छ

Thursday, April 26, 2012

भन पण्डित्


भन पण्डित्
फलाकेर क्लिष्ट मन्त्रहरु
कति बालिकालाई पढ्न सिकायौ?

घिउमा मुछेका अन्नका दानाहरु
होमेर अग्नी देवतालाई
कति भोकलाई शान्त पार्यौ?

भन पण्डीत
बयान गरेर हातका रेखाहरु
निधारका धर्काहरु
र कुण्डलीका नक्साहरु
कति बिरामीको ज्यान जोगायौ?
कति जनालाई जागिर दिलायौ?
रत्नपार्ककी ती वृद्धाको
कति माना मकै बिकायौ?

आधुनिक कंशका घरमा
कृष्णलीलाको बयान गर्दैछौ
वर्षौंदेखि
साँच्चै,
फुलाउँदै घाँटीका नशा
वेजोड शंख फुकेर
कति वटा क्रान्तिको उद्घोष गरायौ?

गाडेर आँगनमा बाँसको लिङ्गो
कति शहीदलाई स्वर्ग देखायौ?

भन पण्डीत
गौदानसँगै तारेर बीरजा नदी
कति आत्मालाई वैकुण्ठ पुर्यायौ?

Friday, April 6, 2012

कुकुरहरु


किन भुक्छन् कुकुरहरु ?
तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई

किन झम्टिँदैनन्?
मालिकहरुलाई
देख्दैनन् किन कुनै आतंक?
रगत लत्पतिएका कम्ब्याट पोशाकमा
कम्मरमा लुकाइएका
लोडेड नाइन एम एम पिस्तोलमा
कुल्चिएका सपना हजार
बुटहरुमा ।

किन वेपर्वाह सुतिरहन्छन् कुकुरहरु
र्याल काढ्दै

झम्टिँदै गड्यौला खाने भँगेराहरुलाई
बिथोल्दै फूल र पुतलीको माधूर्य सम्बन्धलाई
देखाउँछन् बहादुरी मालिकहरुलाई

किन सुँघ्दैनन्
र भुक्दैनन्
कारको डिक्कीमा लुकाइएको
मुर्तीलाई
किन थाहा पाउँदैनन्
तेस्का मालिक लुटेरा हो भनेर

विचरा कुकुरहरु
हड्डीको मोलमा शहादत दिन्छन्
बफादारीको

कुकुरको नाममा कलंकहरु,

विद्रोह गर न हो
कुक्कुरहरु!

Wednesday, February 15, 2012

आउनेछ त्यो दिन


आउनेछ त्यो दिन
जहाँ पड्किनेछन् ट्वीटहरु
बहिराको नक्कल गर्नेका
फुट्नेछन् कानका जालीहरु

आउनेछ त्यो दिन
जहाँ भित्ताभरि पोतिनेछन्
अन्धाले पनि देख्न सक्ने
गाढा, चम्किला रङहरु
र पोल्नेछ केवल रङको रापले

त्यो दिन पक्कै आउनेछ
जब भन्न सक्छौं
कालो कालो नै हो
सेतो सेतो नै हो
पक्कै आउँछ त्यो दिन
जुन दिन जङ्गबहादुरले
सिधा रुखलाई बाङ्गो भन्ने छैन

त्यो दिन
सुनिने र देखिने भएर आउँछ
जहाँ भीड र झण्डाले होइन
आन्दोलन गर्नेछन्
अक्षरहरुले
साँच्चै पड्किनेछन् ट्वीटहरु
रङ्गिनेछन् फेसबुकका भित्ताहरु

त्यो दिन
उठ्नेछन् आवाजहरु
भाते स्वार्थभन्दा धेरै माथि
खकार झैं चिल्ला र घीनलाग्दा सम्बन्धभन्दा
धेरै धेरै माथि

जहाँ सत्य जस्तै झूठ हुनेछैन
जहाँ सत्य झूठ जस्तै हुनेछैन ।।

फेब्रुअरी १५, २०१२ काठमाण्डु

Tuesday, January 17, 2012

सुन्दर, अति सुन्दर


तिमी सँगै हुनु कति सुन्दर
तिमी नहुनु झनै सुन्दर
तिम्रो याद अति सुन्दर

सम्झिनु कति सुन्दर
सम्झिँदै हराउनु झनै सुन्दर
हराउँदै सम्झिनु त अझै सुन्दर
बिर्सिएको सम्झना अति सुन्दर

सपना कति सुन्दर
सपनाको कल्पना झनै सुन्दर
सपनामा तिमी भए अझै सुन्दर
सपना झैं लाग्ने सम्झना सुन्दर

बोल्दा खेरि कति सुन्दर
नबोल्दा त झनै सुन्दर
मनले बोल्दा अति सुन्दर
आँखाको भाका अझै सुन्दर

पहाड सुन्दर
नदी सुन्दर
धर्ती सुन्दर
आकाश सुन्दर
त्यो आकाशमुनि तिमी सुन्दर
तिमीसँगै म भए झनै सुन्दर
नभए नि कल्पना सुन्दर

तिमी सुन्दर
म सुन्दर
सँगै भए संसार सुन्दर
नभए नि सपना सुन्दर
सपना झैं लाग्ने जिन्दगी सुन्दर


जनवरी १७, २०१२, काठमाण्डु

Sunday, January 15, 2012

Bio of a Dog


I was born as a typical Nepali street dog, somewhere near Chitwan National Park. I do not remember my birthday. But my god-parents have given me a birthday.

January 11, 2012 was just another cold night in Saurha. Restaurants were crowded with tourists, there were music, alcohol, food, and fire. Nobody would see me or care me. I lost my parents. I was trying to live with thrown leftovers and whatever I could find to eat. I had wounds, scratches and lots of leeches all over my body.

Life was a misery. And I had stopped crying. For few days I cried a lot but nobody cared.

Suddenly some boys and girls came and picked me just to say hello. They held me for few minutes on their warm lap. Later they tried to leave me where they found me earlier, near a restaurant in the beach. They thought that I belong to the restaurant owner.

But the restaurant owner did not allow them to leave me there, claiming that I do not belong to them. Those 4 guys did not have any option except taking me with them. Finally they did. And I was happy. Because I had already thought they were good; the way they handled me. Nobodoy (I mean no human being) carried me like that earlier in my life.

First they gave me lots of milk and bread to eat. I never got that much food to eat. I spent that night in a warm hotel room. The next day I flied to Kathmandu with one of them.

I am happy now. But there are so many other abandoned street dogs in my place. I hope people would treat them humanely.

And yes, I know that Mark Zuckerberg has got a dog named Beast. She has got a facebook page with more than 400 thousand likes. One of my god parents thought why not create a facebook page for me too? So.. I am here. Like me :P

Follow the link to like me: https://www.facebook.com/pages/Sabika/284839254908360?sk=wall

Friday, January 6, 2012

I Forget


I am happy
happier than I look
you see,
I am sad
Sadder than I look

I forgive more than I do
I forget
more than I remember,
you remember.

I forgive god for their cruelty
I forgive devils for their kindness
I even forgive politicians of my country.

I forget
the color of my skin,
your skin,
my blood,
your blood,
my flag,
your flag,
my sky,
your sky.
I forget the size of the universe
shape of the earth,
I forget
wars,
I forget bodies,
I forget bloods,
I forget more than I remember

I love
more than I do
you feel.

I revolt
I raise
I rise
I rage
more, more than I do
more than you see,
they feel.

Saturday, December 24, 2011

एउटा युद्धको अन्त्य

घाँटीमा पावरदार चश्मा । हिँड्दा डुल्दा उस्तै पावरदार क्यामेरा पनि झुन्ड्याउने, वन जंगल शयर गर्न रुचाउने, चरा चुरुङ्गीका तस्बिर खिचेर फेसबुकका एल्बममा राख्न रुचाउने नेेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी । उनलेफेसबुक स्टाटसमार्फत् नेपालका नेताहरूलाई हिंसात्मक विरोध नगर्न र बन्द नगर्न गरेका आग्रह । महामहिमका तिनै भाइरल स्टाटसबाट दिव्यज्ञान पाएर राष्ट्रिय अखबारहरू रंगीन भएर चिया पसल र फेसबुकमा यो साता फैलिए । त्यही बेला काठमाण्डुबाट सीधा नाप्ने हो भने २ हजार ५ सय माइल पश्चिम इराक भन्ने देशमा झन्डै ९ वर्ष युद्ध गरेको त्यही अमेरिकी सेनाको अन्तिम टुकडी मध्यरातमा सीमा नाघेर कुवेततिर छिर्दै थियो । यो आइतबार एक्काईसौं शताब्दीको पहिलो र ठूलो युद्धको 'अन्त्य' हुँदै थियो ।

अंग्रेजीमा 'प्याराडक्स' भन्ने एउटा शब्द छ । नेपालीमा ठ्याक्कै उल्था गर्दा विरोधाभासपूर्ण भन्न मिल्छ । उदाहरण दिने हो भने अमेरिकी राजदूतको चेतावनीयुक्त स्टाटसलाई लिन सकिन्छ । जसको सरकारले मध्यपूर्वको एउटा सार्वभौम मुलुकमा ९ वर्षसम्म बमबारी गरेर न हार न जित न त उद्देश्यै बिनाको युद्ध लड्यो त्यो देशका एक कूटनीतिक अधिकारी आफ्नै गल्ती र इतिहासबाट पाठ सिक्दै गरेको एउटा सानो प्रजातान्त्रिक मुलुकका नेताहरूलाई फेसबुक स्टाटसकै भरमा नाकाबन्दीको शैलीमा चुनौती दिइरहेका थिए । अहिले बन्द हडतालको समीक्षा र राजदूत डेलिसीको आलोचनालाई छाडेर ९ वर्ष अगाडि, सन् २००३ तिर लागौं ।

मार्च महिनाको २० तारिख, एकाबिहानै अधिकांश इराकीहरू सुतिरहेका थिए । उनीहरूको गहिरो निद्रालाई अमेरिकी युद्ध विमानका आक्रमण र बमबारीले बिथोलिदियो । इराक आक्रमणको सुरुवात र अमेरिकी सेनाको अन्तिम टुकडी फर्किने बेला समय एउटै थियो । केवल तरिका फरक थियो । अमेरिकी सेनाले युद्ध सुरु गर्दा इराकीहरूको निद्रा बिथोलिदियो । युद्ध सकेर फर्किने बेला, ठीक विपरीत अमेरिकी सेना यसरी लुसुक्क फक्र्यो कि उनीहरूसँगै काम गर्ने इराकी सुरक्षाकर्मीहरूले समेत ब्रह्ममुहूर्तमै अमेरिकी सेनाले आफ्नो देश छाडेको थाहा पाएनन् ।

पेन्टागनले प्रेस वक्तव्यमा उल्लेख गर्ने कारण त 'सुरक्षा' नै होला । तर कुनै समय आफ्ना पौने २ लाख जवान मरुभूमिको रणभूमिमा उतारेको अमेरिकी सेनासँग उल्लास मनाउने कुनै कारण नै नभएर त्यो बहिर्गमन शान्त भएको हो भन्दा

अत्युक्ति नहोला ।

कज एन्ड इफेक्ट । अर्थात् कारण र परिणामको कोणबाट हेर्ने हो भने इराक युद्ध जनयुद्ध थिएन, सीमा विवादमा दुई देशबीच भएको युद्ध थिएन, जनता जागेर तानाशाहविरुद्ध गरिएको युद्ध थिएन । विवरणहरूका अनुसार सद्दाम हुसेनसँग आमविनाशकारी हतियार भएको आशंकाकै भरमा यो युद्ध सुरु गरिएको थियो । ९ वर्षसम्म चलेको युद्धमा त्यस्ता आमविनाशकारी हतियार कहिल्यै भेटिएन । अमेरिकी सेना मात्रै ४५ सय मारिए । इराकी जनता कति मारिए अमेरिकी सेनाले रेकर्ड राखेन । अमेरिकी सैन्य जनरलले भनेका नै थिए, 'इराक युद्धमा हामी लास गन्दैनौं ।' स्वतन्त्र संस्थाहरूका अनुसार सवा १ लाख मारिए । तर जति मारिए हरेक पाँच जनामा ४ जना गैरसैनिक मारिए ।

रिपोर्टहरूका अनुसार, इराक युद्ध चरममा पुगेका बेला झन्डै ७० प्रतिशत इराकीले भनेका थिए, 'सद्दाम हुसेनको कार्यकालमा भन्दा अमेरिकी सेनाको कार्यकालमा बढी असुरक्षित महसुस गर्छौ ।' अमेरिकी सञ्चारमाध्यममा छापिएका तथ्यचित्र हेर्दा पछिल्लो समय इराकमा मान्छेहरू साँझमा अलि बढी समय बाहिर बस्न थाले, विमानस्थल र अति सुरक्षित गि्रन जोनमा बम थोरै पड्किन थाले, इराकको तेल उत्पादन र निर्यात अलिकति भए पनि बढ्यो ।

देखिने र ठूलो परिवर्तनचाहिँ के हो भने इराकले जननिर्वाचित सरकार पायो । अझ त्यसमा पनि सरकारको अस्थिरता र अल्पसंख्यकको प्रतिनिधित्वको प्रश्नलाई घटाउने हो भने मात्र । तर के यो अपूरो परिणामका लागि ४५ सय अमेरिकी सेना, लाखभन्दा बढी इराकी जनता र १ सय खर्ब अमेरिकी डलरको बलिदान बढी भएन र ? युद्ध उच्च बिन्दुमा पुगेका बेला इराकमा १ लाख ७० हजार अमेरिकी सेना तैनाथ थिए । ५०० भन्दा बढी सैन्य आधार शिविर थिए ।

अर्को वर्ष चुनाव हुँदै छ अमेरिकामा । इराक युद्धप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि बडो सन्तुलित देखिन थालेका छन्, 'इराक युद्ध विवादास्पद रह्यो तर हाम्रा सेनाले एउटा सार्वभौम, स्थिर र स्वावलम्बी इराक निर्माण गरिदिएका छन् ।' राजनीतिक शब्दावलीमा ओबामाका शब्दहरूले गहिरा र ठूला अर्थ राख्छन् होला तर थुप्रै इराकीका लागि यो युद्धको अर्थ विनाश, विछोड, वेदना, वियोग रह्यो ।

सुरुवातदेखि नै अमेरिकी त्रुटिको सिकार भयो इराक । जब जर्ज डब्लु बुसको आदेशमा सन् २००३ को मार्च २० तारिख एकाबिहानै राजधानी बग्दादका 'निश्चित सैन्य इलाकामा' बमबारी सुरु भयो, अमेरिकी गुप्तचरका गलत सूचनाका कारण सद्दाम लुकेको आशंकमा निहत्था किसानहरूको बस्तीमा बम खसाइयो ।

अमेरिकी ट्याङ्कहरूलाई बग्दादका गल्लीगल्लीमा दौडिन एक महिना पनि लागेन र बग्दादस्थित सद्दाम हुसेनको सालिक ढालियो । जर्ज डब्लु बुस दंग थिए । तर उनी 'अगाडि अझै खतरा देख्थे' । आक्रमण सुरु भएको दुई महिनामै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले क्यालिफोर्नियास्थित एक सैन्य आधारमा आयोजित विजय सभालाई सम्बोधन गरे । तर उनले युद्ध अन्त्य भएको घोषणा गरेनन् । किनभने अमेरिकाले आधिकारिक रूपमा इराक युद्धको घोषणा कहिल्यै पनि गरेको थिएन ।

आमविनाशकारी हतियार बोकेका भनिएका सद्दाम हुसेनलाई अमेरिकाले त्यही वर्ष बडो दयनीय अवस्थामा पक्राउ गर्‍यो । युद्ध अपराधको अभियोगमा सन् २००६ मा सद्दामलाई झुन्ड्याएर मारियो । सन् २००४ पछि इराक झन् बिथोलियो । जातीय विद्रोही संस्थाहरू सशस्त्र युद्धमा उत्रिए । इराकी-इराकी लड्न थाले । आत्मघाती बमहरू पड्किए । युद्धका बिभत्स घटना र दुव्र्यवहारका तस्बिर सार्वजनिक हुन थाले । र बाँकी इतिहास भए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिएपछि मुख र मन अमिलो बनाउने युद्धका बिभत्स सम्झनालाई बिर्सने चेष्टा भयो । शान्ति भन्ने शब्दले ठूलै प्लेटर्फम पायो । बडाबडा देश मिले र वाचा गरे संसारले जति युद्ध देख्नु थियो देख्यो । अब पाउने पुस्ताले युद्धको त्रासदी झेल्नुपर्ने छैन । सबै मिलेर संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखे पनि '...मानव जातिको जीवनकालमा दुईपटकसम्म कहिल्यै वर्णन गर्न नसकिने दुःख ल्याएको युद्धको चपेटाबाट भावी पुस्तालाई जोगाउन ...' लाग्यो संसारले अब कहिल्यै युद्ध देख्ने छैन । तर इराक युद्ध त दोस्रो विश्व युद्धभन्दा पनि लामो पो भयो त ।

राष्ट्रपति ओबामाका लागि इराक युद्ध घाँडो सावित भयो । यो त्यही युद्ध थियो जसको उनले खुलेर विरोध गरेका थिए र प्रमुख चुनावी मुद्दा बनाएका थिए, सन् २००८ मा राष्ट्रपति बन्नुअघि । तर गएको अक्टोबरमा युद्ध सकिएको औपचारिक घोषणा गर्दा अमेरिकी सेनाको बागडोर उनको हातमा थियो ।

आफैंले कडा विरोध गर्ने युद्धमा लडेका अमेरिकी सेनाको तारिफ कसरी गरे होलान् उनले ? लहडमा युद्ध सुरु गरिदिएका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस न्युयोर्क टाइम्सको सम्पादकीय पढ्दै कतै बल्छी थापेर माछा मारिरहेका बेला, त्यही युद्धको घनघोर विरोध गर्ने ओबामा राष्ट्रपतिको रूपमा त्यही युद्धको बचाउ गर्न व्यस्त थिए, बडो कन्फ्युजिङ मुद्रामा । सायद यही हो अंग्रेजीको 'प्याराडक्स' र नेपालीको विरोधाभासपूर्ण ।

इराकका केही प्रमुख सहरमा बिजुली, बाटो र बजार सामान्य भएका छन् । सद्दाम हुसेनको पालामा जस्तो अल्पसंख्यक सुन्नी समुदायका सम्भ्रान्तहरू मात्रै सरकारमा छैनन् । केही इराकी जनता र अमेरिकी सेना इराक युद्धको यो महान् उपलब्धिप्रति गर्व गर्छन् । एउटा फरक पाटो के छ भने, सद्दाम हुसेनको पालामा इराकी जनता बग्दादको कुनै ठूलौ चोकमा भेला भएर 'सद्दाम मुर्दावाद' भन्न सक्दैनथे । तर अहिले हरेक शुक्रबार सयौं जनता धर्मगुरुको प्रवचन सुनेपछि ढुक्कसँग 'अमेरिका मुर्दावाद' भन्न सक्ने भएका छन् ।

आइतबार बिहानै २ सय माइलभन्दा लामो राजमार्गमा बिस्तारै गुडेका माइनप्रुफ ट्याङ्कभित्र बसेका ५०० अमेरिकी सैनिकहरू कुवेती सीमातर्फ गइरहँदा उनीहरूको लस्करलाई थुप्रै शक्तिशाली हेलिकोप्टरले सुरक्षा दिएका थिए । अमेरिकी सेनाले ठाउँठाउँमा सडक वरपर रहेका फोहोरका थुप्रो हटाउन स्थानीय अगुवाहरूलाई पैसा दिएको थियो । ताकि ती फोहोरको डङ्गुरमा सैनिक लस्करलाई लक्षित गरी विद्रोहीहरूले बम नराखुन् ।

बितेका ४० वर्षदेखि इराक संसारकै सबैभन्दा अस्थिर मुलुक रहँदै आएको छ । १९७० मा इराकमा राजा फाल्न सद्दाम हुसेनलाई सघाएको अमेरिकाले दोस्रो खाडी युद्धमा त्यही सद्दाम शासनविरुद्ध हमला गर्‍यो । स्रोत र साधनमा त्यति कमजोर नभएको र संसारकै चौथो तेल उत्पादन गर्न सक्ने इराकलाई अहिले केवल भाग्यको खाँचो छ । अमेरिकी राष्ट्रपतिहरूलाई त के छ र युद्ध सुरु गरिदिन्छन्, कार्यकाल सकिन्छ अनि बल्छी बोकेर माछा मार्न हिँड्छन् र बाँकी सबै इतिहास हुन्छ ।

प्राचीन ग्रीक दार्शनिक एस्किलसले भनेका थिए, 'इन वार, ट्रुथ इज द फस्र्ट क्याजल्टी' -युद्धमा सबैभन्दा पहिले सत्य मारिन्छ) ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Monday, December 19, 2011

सम्झना दिदी र नेपाल बन्द


थानकोटमाथिको तामाङ बस्तीबाट
एकाविहानै
सम्झना दिदी
मुल सडकतिर फटाफट झरिरहँदा
आमाको सुकेको छाती
अघाउन्जेल चुस्न नपाएको
काखे छोरोको अतृप्त रुवाइ
बाक्लो हुस्सुबीच पातलिँदै जान्छ,
पर सडकमा
अलिअलि घाम पोखिन्छ
देखिन्छन् नौला मान्छेहरु
टायर बलेर निस्केको धुँवाको मुस्लो,
रङ्गीन झन्डाहरु
र प्रायोजित नाराको समिश्रणमा
मनमनै  अर्थ खोज्दै
सम्झना दिदी छोरोको सम्झना बोकेर
एकनाश चालिरहन्छिन् पाइलाहरु ।

२ घन्टा १७ मिनेट
लगातार हिँडेपछि
नारायणचौरको साहुको अफिसको
चिसो सिँढीमा थचक्क बस्छिन् सम्झना दिदी
कापकापबाट निस्केका ताता पसीना
सेलाउँछन् बिस्तारै
चिस्याउँछन् भित्रैदेखि सम्झना दिदीलाई
शीतको थोपा सरी

घरैघरैको जंगलपारि
उठेका धुवाँका काला मुस्ला हेर्दै
बेलाबेलामा सुनिने गस्तिका साइरनसँग झस्किँदै
सम्झना दिदी दिनभरि उमालिरहन्छिन्
फिक्का चिया
र छोरोको सम्झना ।

सम्झना दिदी
फटाफट पाइला चाल्छिन्
नेपाल बन्दको साँझ
उनलाई थानकोटमाथि पुग्नुछ हिँडेर
चुक पोखिएका अँध्यारा सडकमा
जँड्याहा,
फटाहा,
लुटेरा,
भुस्याहा कुकुर
र प्रहरीबाट
जोगाउनुछ सम्झना दिदीले आफूलाई
२ घन्टा १७ मिनेट हिँडेर
पुग्नुछ थानकोट
र चुसाउनुछ अतृप्त छोरोलाई
सुकेका छाती ।

Thursday, December 8, 2011

एउटा पुरानो कविता


एउटा पुरानो कविता
लेखिएको थियो बादलको धर्कामा
देखिएको थियो जुनमा
पोखिएको थियो
घाम डुब्नै लाग्दा
क्षितीजभरि

कोरेको थिएँ तिम्रो तस्बिर
शब्द शब्दमा
हाँस्दा हाँस्दै
तप्प झरेका दुइ थोपा आँशुको मसीले,
नापेको थिएँ सपनाको दूरी
मायाको कसीले

गुनगुनाउँदै
'कोरा कागज था ये मन मेरा'
लेखेको थिएँ तिम्रै नाम
आकाशजस्तै फराकिलो मुटुमा
देखेको थिएँ तिम्रो तस्बिर
मुटु जस्तै फराकिलो आकाशमा

तिम्रा ओठ, आँखा, परेली
र कान नजिकैबाट
तर्ल्याङ तुर्लुङ झरेका
कपाललाई
पालैपालो चुमेका हावाले
कान नजिकै आएर
खुसुक्क केही भन्दा
ज्वलन्त फुरेको थियो त्यो पुरानो कविता
मनको कुनै कुनामा

याद छ अलिअलि
अझै छ धमिलो तस्बिर
बादलका धर्का जस्तै शब्दहरुको
सम्झनाको एउटा कुनामा
सम्झना भएर बसेको छ
एउटा पुरानो कविता ।।

Saturday, November 26, 2011

जसले बोल्दा आगो बल्छ

नाकको दाहिने पटि छेडेर झुन्ड्याइएको चाँदीको पातलो मुन्द्रि । गहीरा हरिया आँखा । बादलजस्ता झाँगिएका लामा, काला केश । रहस्यमयी अनुहार । अनि साइज जिरो शरिर । २३ वर्षकी क्यामिला भ्यालेजोको सुन्दरतालाई एक शब्दमा वर्णन गर्ने हो भने ‘खतरनाक’ भन्ने शब्द नै चाहिन्छ । तर क्यामिलालाई जिउडालले भन्दा पनि अर्कै कुराले धेरै सुन्दर बनाएको छ । त्यो यस्तो सुन्दरता हो जुन एक जुगमा एक चोटि आउँछ । उथलपुथल लिएर आउँछ । वाद र अपवादहरुलाई विथोल्दै आउँछ ।

इन्टरनेटमा गुगलमार्फत खोज्ने हो भने क्यामिलाबारे पछिल्ला २४ घन्टामा मात्रै झण्डै ८० हजार पृष्ठ लेखिएका छन् । ट्वीटरमा क्यामिलाका ३ लाख ४० हजार फलोअर्स छन् । एक वर्ष अगाडिसम्म क्यामिला विश्वविद्यालयका अन्य साधारण युवतीहरु जस्तै थिइन् जो टाइट जिन्स र खुकुलो टिसर्ट लगाउँथ्यो । जसलाई सडकमा प्रहरीसँगको मुठभेडमा भन्दा कुनै फेसन सो मा बढि सुहाउँथ्यो । तर क्यामिला अचानक यसरि देखिने र सुनिने भइन् जसले ल्याटिन अमेरिकाको सबैभन्दा विकसित र व्यवस्थित मुलुकलाई एक्कासी हल्लाइदियो ।

Wednesday, November 2, 2011

बा, मकै र शान्ति


४७ सालतिर
एकाविहानै भोटे कुकुर डोर्याउँदै
दैलोमा आएका
गाउँका ठूलाबाले भनेका थिए
'बहुदल आयो'
सानै थिएँ म
सोधेँ कुकुरको नाम
भने ठूलाबाले
'माले'
बासँगै मकै गोडिरहेको मलाई
भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

दुइ चार वर्षपछि
म पढ्ने स्कुलमा आएका
गाउँकै मामा पर्नले भने
'माओवादी आयो'
६ कक्षाको नैतीक शिक्षाको
उपदेश कविता
र मामाले भनेको माओवादीको नाम
दुबै बुझिनसक्नु थिए मेरा लागि
स्कुलबाट घर फर्किँदा
बा मकै गोड्दै थिए

शहरमा क्याम्पस पढिरहँदा
अचानक हल्ला खल्ला भयो
सुनियो 'राजा आयो'
अघिल्लो दिन भनेको थियो क्याम्पसको साहुले
'फिस नतिरे जाँच दिन नपाउने'
मेरा लागि राजा भन्दा
क्याम्पसको साहु भयानक थियो
कर्फ्यु लाग्ने बेलामा
गाउँ पुग्दा
बा मकै गोड्दै थिए

आउने र जाने क्रममा
शहरमा भिड आयो
सेना आयो
पुलिस आयो
भूत आयो
अमेरिका आयो
भारत आयो
लोकतन्त्र आयो
मलाई तलब आउनुको मात्र चिन्ता थियो
बालाई मकैमा घोगा आउनुको मात्रै चिन्ता थियो

आज एकाविहानै
चोकको पसलेले भन्यो
शान्ति आयो
फोन गरेँ बालाई
लाग्यो होला तपाईंलाई
मेरा बा अझै मकै गोड्दैछन्
अँह
बा त मकै गोड्नै नसक्ने गरी
बुढो भइसके ।।

Saturday, October 22, 2011

स्टिभ जब्सः जो बाँच्यो

जीवन बाँच्नुमा मात्र होइन नबाँच्नुमा पनि सार्थकता छ । सफल हुनुमा मात्र होइन असफल हुनुमा पनि अर्थ छ । बाटो पहिल्याउनुमा मात्र होइन बाटो हराउनुमा पनि गन्तव्य छ । स्टिभ जब्सको ५६ वर्षको जीवन यिनै कुराको जोडदार उदाहरण बन्यो ।

जीवनलाई व्याख्या गर्ने सजिलो दर्शनले भनिदिन्छ जीवन घाम-छाया हो । एक पाटो घाम अर्को पाटो छाया । तर स्टिभले जीवनको दुवै पाटो घमाइलो हुन्छ भनी देखाइदिए । जीवनका अन्तिम ७ वर्षमा उनी क्यान्सरले थलिए र उनलाई थाहा थियो उनी ढिलो होइन चाँडो मर्दै छन् । तर मृत्युको उल्टो गन्ती भइरहँदा उनले सबैभन्दा घनिभूत जीवन बाँचे । कामलाई सबैभन्दा धेरै पूजा गरे । उनका आविष्कारले प्रविधिको संसारलाई नयाँ युग दियो ।

Thursday, October 13, 2011

मजदुर र मट्टीतेल


मेरो जहानका आँशुले
चुलो बल्ने भए
कति जाति हुन्थ्यो
किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल

पसलेले
मस्यौरा पोको पारेर दिएको अखबारमा
छापिएका हत्यारा मन्त्रीका
भँगेरे अक्षर समाचारले
कुनै अर्थ राख्दैन मलाई
केवल अर्थ राख्छ
बहिनीलाई हात हाल्न खोज्ने
पुलिसलाई चड्काएको निहुँमा
खोरमा सडाइएको छोरोको सम्झनाले
जसको यादमा
यसपालिको दशैं भिज्यो

जहानको आँशुले पनि अर्थ राख्थ्यो होला
शायद,
त्यो आँशु नभएर मट्टीतेल भएको भए
यसपालि दशैंमा
मेरो घरमा पनि चुलो बल्थ्यो कि !

Friday, September 16, 2011

प्रधानमन्त्रीको इमेल

प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो।

तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो।
इन्टरनेटको माध्यमबाट पठाइने सन्देशलाई इमेल भनिन्छ। सामान्यतः इमेलमा लेखिने सन्देशको लमाइ र प्रकारको कुनै सीमा हुँदैन। इमेल पठाउनेले अक्षरमात्र होइन, तस्बिर, आवाज र भिडियो पनि पठाउन सक्छन्। तर के देशको प्रधानमन्त्रीले जनताका कुरा सुन्न प्रविधिलाई नै साथ लिँदा पनि इमेल नै सबैभन्दा प्रभावकारी होला त?
एउटा उदाहरण दिऊँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक इमेल ठेगानाको त्यति धेरै प्रचारप्रसार गरेको पाइँदैन। हालै मैले एक जना सहयोगीमार्फत् प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेल ठेगाना इन्फो एट ओपीएमसीएम डट नीओभी डट एनपी को एक झलक हेर्ने मौका पाएको थिएँ। त्यहाँ हजारौं इमेल थिए। सर्वसाधारणका गुनासा थिए। जिल्लाजिल्लाबाट आएका उजुरी पनि थिए। तर त्यो इमेल न कसैले नियमित हेर्छ न त कसैले इमेल पठाउनेलाई सम्बोधन नै गर्छ। प्रचारप्रसारबिना नै सरकारको ठेगानामा यति धेरै इमेल आएका छन् भने अत्याधिक प्रचार प्रसारमा आएको भट्टराईको इमेलमा कति धेरै सन्देश आउलान्? आएका सबै इमेल सन्देश पढ्न भ्याइएला?
नेपाली समाजमा निराशा र गुनासा व्याप्त छ। सँगसँगै विद्वान कहलिएका प्रधानमन्त्रीबाट जनताले चाहिनेभन्दा धेरै आशा गरेका छन्। ती आशा, निराशा र गुनासा इन्टरनेट चलाउने जनताको सानो हिस्साले मात्रै पनि प्रधानमन्त्रीलाई पठायो भने इमेलको बाढी लाग्छ। ती सबै इमेल पढ्ने फुर्सद त प्रधानमन्त्रीलाई पक्कै हुँदैन होला। प्रधानमन्त्रीका एक जना सहयोगीले छानीछानी इमेल पढेर त्यसबाट पनि छानेर प्रधानमन्त्रीलाई बताए भने बाँकी इमेल नपढिनेका लागि धोका हुनेछ। यतिमात्र होइन जसले प्रधानमन्त्रीको इमेल पढ्छ ऊ निष्पक्ष र योग्य छ भनेर कसरी थाहा पाउने?
यस्तै, एउटा स्वतन्त्र देशका प्रधानमन्त्रीले कुनै अमेरिकी कम्पनीको नाम झुन्डिएको इमेल प्रयोग गर्नु कत्तिको शोभाजनक होला? अंग्रेजीको ब्रान्ड शब्द सरकारका लागि लागु हुन्छ कि हुँदैन? नेपाल सरकारका प्रधानमन्त्रीले आफ्नो ब्राण्ड कायम गर्नुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले मन्त्रिपरिषद्कै वेब साइटको नाममा आफ्नो इमेल बनाउन सजिलै सक्थे। उनले जीमेल नै किन रोजेका हुन्?
देशका प्रधानमन्त्रीले जनताका कुरा सुन्न इमेल नै रोज्नु वैज्ञानिक पनि होइन। उनले जनताको गुनासाकै लागि कुनै एउटा वेब साइट खोल्नसक्थे। त्यहाँ जनताले आफूलाई लागेको गुनासा, सुझाव र प्रतिक्रिया राख्न सक्थे। वेब साइटमा आएका जनताका विचारलाई अरूले पनि सकारात्मक अथवा नकारात्मक भोट दिन सक्छन्। सकारात्मक भोट धेरै पाएका विचार स्वतः प्राथमिकतामा पर्छन् र नकारात्मक भोट धेरै भएका विचारलाई जनताले नै हटाउन सक्छन्। प्रधानमन्त्रीले त्यहीँबाट प्राथमिकतामा परेका विषयलाई सम्बोधन गर्न सक्छन्। यसो गर्दा इमेलमा जस्तो कुन इमेल पढ्ने कुन नपढ्ने भन्ने झन्झट हुँदैन। एकैथरीका समस्या भएका थुप्रै इमेल पनि आउन सक्छन्। तर यस्तो व्यवस्थामा एकथरी समस्या भएका सबैको विचार साझा हुन्छ। प्रधानमन्त्री र उनको सहयोगीको निष्पक्षता र आग्रहमा पनि शंका उठ्दैन। धेरै जनताले रुचाएको मुद्दा प्रधानमन्त्रीको प्राथमिकतामा पर्छ। धेरैले नरुचाएका तथा व्यक्तिगत स्वार्थ र आग्रहयुक्त सन्देशलाई नकारात्मक मतदानले स्वतः पछि पार्छ। यो प्रजातान्त्रिक प्रणाली न खर्चिलो नै हुन्छ। विश्वविद्यालय पढ्ने कम्प्युटरका विद्यार्थीलाई आह्वान गर्ने हो भने निःशुल्क नै पनि तयार हुनसक्छ। वर्ल्ड लिङक र मर्कन्टाइलजस्ता ठूला कम्पनीले पनि यस्तो सकारात्मक काममा नाफा नखोज्लान्।

Friday, September 9, 2011

गजल वाचन

एक दिन अफिसमै बस्दा एउटा 'गजल' फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।


बाथरुम गायक

स्वर भए नि नभए नि रहरै लागेर मच्चि मच्चि गाउनेलाई बाथरुम सिङ्गर भन्छन् भने म पनि त्यो वर्गमा पर्छु । कहिले काहिँ मोबाइलमा, कहिले कम्प्युटरमा गीत यसो रेकर्ड गरेर इको सिको इफेक्ट हालेर आफैंले सुन्दा रमाइलो लाग्छ । अस्ति स्टुडियोमा छिरेको बेला माइक देख्ने बित्तिकै एउटा गीत ठोक्न मन लागि हाल्यो । सहकर्मी भानुले पनि रेकर्ड गरिदिएछन् । यो ब्याकग्राउन्डमा बजेको गिटार चाहिँ सहकर्मी शिरिषको देन हो । मलाई गीत गाइरहेको देखेर उनी पनि तात्तिए । शिरिषलाई व्यवसायिक संगितकर्मी नभए नि उनले आफ्नै स्वरमा एउटा एल्बम निकालिसकेका छन् । उनको एल्बमल् बजार पिटेको थियो केही महिना अघि । शिरिष जस्तो सृजनशील मान्छेले साथ दिएपछि म पनि हौसिएँ र एउटा गित गाएँ । त्यही गीत हो यो । सुन्नुहोला । मेरी श्रीमति चाहिँ यो गित सुनेर धेरै हाँसिन् :-)

Wednesday, September 7, 2011

सपना टुटेर के भो


सपना टुटेर के भो
म फेरि पनि निदाइदिन्छु
म दोबाटोमा छुटेर के भो
म अर्कै गोरेटो भेटाइदिन्छु

मलाई छैन चाहत
त्यो झूटो राहतको
यो मन फाटेर के भो
मनै त हो फेरि सिलाइदिन्छु
सपना टुटेर के भो

न, भाग तिमी
न, खोज मलाई
दर्पण फुटेर के भो?
म शुन्य हुँ शुन्यमै बिलाइदिन्छु
म फेरि पनि निदाइदिन्छु ।।

I declare this song as 'open source'. Anybody can re-use it, edit it, sing it or make fun of it for any commerical/non-commercial purpose.

Wednesday, July 27, 2011

अरब सपनाहरु

कास्कीको धम्पुस पुगेको थिएँ ३ महिना अघि । कथा मिठो सारङ्गीकोको नाटक रेकर्डिङको सिलसिलामा । झण्डै एक हप्ते बसाइमा स्थानीय परिवेशलाई केही बुझ्ने मौका पाइयो । त्यहाँ रेकर्ड गरिएको नाटक वैदेशिक रोजगारीमा जाने महिलाका समस्याबारे थियो । संयोगवश धम्पुसमा पनि अधिकांश महिला पुरुष कामको लागि खाडी मुलुक जाने चलन रहेछ । सरसर्ती हेर्दा हरेक घरका कम्तिमा एक सदस्य काम गर्न खाडीमा गएकै हुन्थे । कतै चिया पसलमा चिया खान बस्दा पनि विदेश जान टिकाटालो गरेर हिँडेका अथवा भर्खरै विदेशबाट फर्कँदै गरेका युवालाई भेट्नु सामान्य थियो ।

अधिकांश 'दलित' बस्ने यो गाउँ घुम्दै हिँड्दा म ४ कक्षामा पढ्ने मिलन बिक को घरमा पुगेँ । उनकी आमाको समस्या फेरि अर्कै ठूलो छ । आफन्त पर्नेको गर्भबाट मिलन जन्मेका रहेछन् । ती पुरुष चाहिँ खाडिमै बेपत्ता छन् । सम्पत्तिको हक र छोरालाई दिइने सामाजिक परिचयको लागि वर्षौं देखि अड्डा धाइरहेकी आमाको समस्या आफ्नै ठाउँमा छ । जुन कुरा म यहाँ उल्लेख गर्न चाहन्न ।

मैले मिलन लगायत उनका दाइभाइ पर्ने सहकक्षीहरुसँग सामान्य कुराकानी गरेको थिएँ । भिडियो आफैं बोल्छ । धेरै उल्लेख गर्नु जरुरी छैन । तर यति सानै उमेरदेखि नै भविष्यमा अरब गएर पैसा कमाउने सपना बोकेर बाँचेका यी वालकहरु देख्दा म निकै भावुक भएँ ।


Thursday, June 23, 2011

कठै जुम्ला


डाँफे लेकमा
उड्दथ्यो,
फुल्दथ्यो सपनाका गुराँसहरु

हावा चल्दा
नाच्दथे
बेसीँमा धानका बालाहरु
सुसाउँथिन् तिला
माधूर्य बैँसमा

पसीना पोखिन्थ्यो माटामा
सपना फूल्दथ्यो माटैमा
स्याउ फल्दथे गालामा

कठै जुम्ला
अमूर्त सपनाका दोकानहरुले
बस्तीलाई कुरुप बनाएका छन्
पसीना पोखिन्छ विदेशको चौकिदारीमा
डाँफे लेकको डाँफे
कैद छ स्नोल्याण्ड होटलमा
जहाँ खचाखच एन जि ओ कार्यकर्ताहरु
कथित विकटताको खेतमा
रोप्दैछन् सपनाका विजहरु

कठै जुम्ला
रोपे हुन्थ्यो नि बरु
स्याउका बोटहरु

Friday, June 3, 2011

सुनौली जाने बसमा

खै के खै के
जिन्दगीबाट विरक्तिएर
खै कता खै कता
जान हिँडेका दुई युवती
टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा
सडक जस्तै पुरानो
सुनौली जाने बसमा

गोरखपुरको रेल समात्न हिँडेको एउटा ठिटो
पहेँलो वान्ता कट्कटिएको झ्यालबाट
आधा जिउ निकालेर बाहिर
अन्तर्वार्ता लिँदैछ
डेन्ड्राइट सुँघ्दै
एक रुप्पे मागीरहेको बालकसँग
'घर काँ?'
'नागढुँगा'
'बाउ छ?'
'छैन'

पढ्न अल्छी लागेर
बसमा हिँडेको
धादिङको खलाँसी केटो
दौडिँदैछ भित्र-बाहिर
सोच्दै होला
त्यो फूटपाथमा हिँड्ने सबै जना
चढेदेखि हुन्थ्यो नि
सुनौली जाने बसमा ।

Monday, May 16, 2011

रातोमाटे, रिसोर्ट र सपनाहरु

म मजदूर
रातोमाटेको यो डाँडामा
खन्दैछु कुनै रिसोर्टका जगहरु
चुहाउँदैछु पसीना
तप्प तप्प

 

सम्झिन्छु
यहि रातो डाँडामा
रातै सपना देखेको जेठो छोराले
रातो रगत चुहाएको थियो कुनै दिन
तप्प तप्प

 

तल
बगरभन्दा अलि माथि
मेरो छाप्रोमा
बेथा लागेकी स्वास्नीलाई
घिस्सार्दै अस्पताल लाँदा
रनक्क रन्किएको बगरका राता बालुवामा
चुहिएका थिए स्वास्नीका दुई थोपा आँशु
र एक मुठी सास
तप्प तप्प

 

रिसोर्ट बन्नेछ कुनै दिन
आउनेछन् मालिकहरु
सपनाको दस्तावेज बोकेर
उन्माद् चुहाउनेछन्
रातोमाटेको यो डाँडामा
मदिरा र वीर्य
तप्प तप्प

 

म मजदूर
रातोमाटेको यो डाँडामा
खन्दैछु कुनै रिसोर्टका जगहरु
चुहिँदैछन् सपना
तप्प तप्प

--

12/05/2011

Kathmandu

Monday, April 4, 2011

देशमा केही गर्ने मन छ? इन्टरनेट चलाउनुहोस्!

यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध नेपालको विश्वव्यापी पहिचान र बहुलबादको सँस्कारलाई समेत बढावा दिन्छ।

Thursday, March 17, 2011

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ ।

वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

Friday, March 11, 2011

A day off

A day off from office, I am fighting with the lazy day in my flat outside the ring road. Ring road is a 20 miles long road that surrounds this crowded city. It has also helped the expansion of the crowd of the city. Ring road has been a status symbol for the neo urban people of this city. So where do you live? Somebody would ask me. I would say sukedhara....hmm what dhara? Is it inside or outside ring road? People inside the ring road think there is no Kathmandu outside ring road. New people who want to settle in kathmandu or want to begin their business prefer to be not far from ring road,