एकीकृत नेकपा माओवादीले सोमबार आव्हान गरेको बन्दका बेला म धुम्बाराही र सुकेधारा आसपासका शान्त र रापिलो चक्रपथको बाफिलो हावा खाँदै हिँडिरहेको थिएँ । मध्यान्हको १ बजेको थियो । सडकका दायाँ बायाँ घामले डढेका र पसीनाले भिजेका अनगिन्ति मान्छेको ताँती लागेको थियो । मान्छेले पाएको चरम दुःखको उदाहरण खोज्ने हो भने बन्दले सास्ति पाएकाहरुको अनुहार हेरे हुन्छ । थकान, चिन्ता, हडबडि, त्रास,र आक्रोश । धुम्बाराही चोकमा टायरहरुले थिचेर एउटा रातो झण्डा गाडिएको थियो । त्यसका वरपर ढुंगा र इँट्टा का लक्ष्मण रेखाले बाटो छेकेका थिए । बन्द गराउनेहरुको पनि आफ्नै चेन अफ कमान्ड हुँदो रैछ । एउटा टोली बीच बाटोमा उभिएर बन्दको अवज्ञा गर्नेहरुलाई टायरको हावा खोल्दिने, तोडफोड गर्ने, गाली गलौज गर्ने जस्ता भौतिक कारवाही गर्न ब्यस्त थियो । अर्को टोली चाहीँ नजिकैको प्रतीक्षालय, अथवा अलि शितल ठाउँमा बसेर गफ चुट्न र बेलाबेलामा सडकमा बसेकाहरुलाई निर्देशन दिन ब्यस्त देखिन्थ्यो। उनीहरु अलि सुपेरियर लाग्थे । प्रतीक्षालयमा बस्नेले ठूलो स्वरमा कराउँथ्यो, 'नछोड् नछोड्' सडकमा बसेकाहरु जोशिन्थे अनि बन्दको अवज्ञा गर्ने जो स...