Skip to main content

पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

प्यारो म

मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त ।

मैले आफैंलाई प्यारो भनेर सम्बोधन गरेपछि मलाई माथीका हरफ फुरेका हुन्, सबभन्दा पहिला । अनि माथिका हरफमा धेरै ध्यान दिएर वर्षौं अथवा महिनौंपछि कुन संजोगले लेख्न थालेको पत्रको विषय नै बिर्सेछु । शायद अब यही 'प्यारो' को विषयमा  थप केही हरफ लेख्नु पर्ला ।

मेरो लेखाइ बिग्रेको हो कि मुड । पहिले जस्तो मजा आइरहेको छैन लेख्दा । जबर्जस्ति लेखेको जस्तो लागिराछ । अलिअलि जबर्जस्ती पनि हो । भाषा पनि बिग्रेछ । अगि जबर्जस्ति ह्रस्व लेखेँ । पछिल्लो लाइनमा दीर्घ ।

सामाजिक सन्जालमा पोखिएका वह साह्रै सस्तो लाग्छन् । त्यसैले मन लाग्दा लाग्दै पनि पोख्न सकिनँ । कतिचोटी लेख्दै मेट्दै गरेँ । हामीलाई सामाजिक मूल्याङ्कनदेखि डर लाग्ने बानी परेछ । लेनादेना केही नभए पनि । पूँजिको समाज । स्टाटस र इम्प्रेसनको समाज ।

अस्ति भर्खर ब्रीज अफ स्पाइज भन्ने फिल्म हेरेको थिएँ । त्यसमा एउटा साधारण संवाद थियो । जसले मलाई छोएको थियो । अँग्रेजीमा अर्कै थियो । नेपालीमा भन्न खोज्दा यस्तो हुन्छ 'तिमी आफू को हौ भनेर अरुलाई भनिरहनु पर्दैन' । अँह न्याय भएन त्यो संवादलाई । प्रसङ्ग यस्तो थियो फिल्ममा: रुसले पक्रेको अमेरिकन पाइलटलाई रुसीहरुले चरम यातना दिएर गोप्य सूचनाहरु चुहाउने प्रयास गर्छन् । फिल्ममा उसले सूचना चुहाएको वा नचुहाए दृश्य देखाइँदैन । अन्तिममा एउटा सम्झौता अनुसार उसलाई रिहा गरिन्छ । बाटोमा फर्किरहँदा प्लेनमा उसले उसलाई रिहा गराउने वकीललाई भन्छ 'मैले रसियनहरुलाई एउटा पनि सूचना दिइनँ' । त्यसपछि वकिलले भन्छ 'You know what you did. You dont need to tell others' । यो अँग्रेजीमा लेखेको पनि ठ्याक्कै त्यही संवाद नहुन सक्छ । तर यस्तै केही थियो ।

केही दिनअघि कसैले केही सोधेको थियो । सोधेको प्रश्न बिर्सिएँ । तर मैले दिएको जवाफ यस्तो थियो 'मान्छेलाई आफू असल छु भनेर प्रमाणित गरिरहन मन लाग्छ, आफूलाई असल प्रमाणित गर्न मान्छे जतिसुकै खराब हुन पनि चुक्दैन । '

मलाई झूठदेखि घृणा लाग्छ । झूटो बोल्नु र झूठमा धेरै फरक छ। कसैले मलाई कस्तो मान्छे मन पर्दैन भनेर सोध्दा मैले तुरुन्तै भनेको थिएँ 'ढोँगी' । ढोँगि भनेको के हो मलाई व्याख्या गर्न आउँदैन । अझै भन्नु पर्दा मलाई यो शब्दको एउटा पनि पर्यायवाची शब्द आउँदैन । (उमङ्गले सँधै आफूलाई नेपालीमा कमजोर भन्थी । तर भर्खरै मैले उसलाई synonym को नेपाली के हो भनेर सोधेँ । उसले नै पर्यायवाची भनेर सम्झाइदिई)

मेरो बुझाइमा झूठमा रमाउने मान्छे ढोँगी हुन् । आफूलाई असल प्रमाणित गर्न खराब हुने मान्छे ढोँगी हुन् ।

मलाई औपचारिकता मन नपरेजस्तै उदेश्य र लक्ष्य पनि मन पर्दैन । बडो बोझपूर्ण लाग्छन् मलाई यी शब्द । त्यसैले त निरुदेश्य लेखिरहेको छु । यति भन्दा भन्दै पनि कहिलेकाहिँ केही केही गरुँ गरुँ जस्तो चाहिँ लाग्छ । मलाई थाहा छ मैले सोचेका ती कुरा गर्ने आँट बटुल्न मैले थुप्रै सामाजिक मूल्याङ्कनलाई भत्काउनै पर्ने हुन्छ । ती कति टाढाका कुरा हुन् मैलै नापेको छैन । तर मनमनै कल्पेर बडो रमाइला रोडम्यापहरु बनाउँछु कहिलेकाहिँ ।

ह्या । कस्तो अमूर्त कुरा गरेको । त्यो ढोँगीपन ममा पनि होला अलिअलि ।

मेरा मनका सबै कुराहरुलाई व्यक्त गर्न सक्दिनँ । कत्ति कत्ति कुरा मनमा मात्र हुन्छन् । ती कुराको स्वरुप मनमा मात्र हुन्छ । बाहिर निकालेपछि जिरो ग्राभिटीमा हावा हराएजसरि हराउँछन् मात्र । मन प्यारो लाग्छ । म चाहिँ कुन्नि!

पछिल्ला दिनमा मलाई रोडम्यापहरुले साँच्चै सताइरहेका छन् । ती रोडम्याप कुनै दस्तावेज र भिजन नभएर केवल रोडम्याप नै हुन् । अर्थात् सडकका नक्सा । मलाई त्यस्तै नक्सामा भएका अथवा नभएका सडकै सडक । सडकै नभए पनि भीरै भीर, जंगलै जंगल कता कता जान मन्छ । आफूले जानेको काम भएर होला हातमा एउटा क्यामेरा नि बोकेर । आफ्नो कथा बिर्सिँदै, अरुको कथा सुन्दै ।

अफशोच । सामाजिक मूल्याङकनलाई भत्काउन यति सजिलो भएको भए सबै मान्छे गौतम बुद्ध हुन्थे होला ।

म पछिल्लो समय जागीर खोजीरहेको छु । म जागिरे हुँ । तर पनि । हिँडेर जाने बाटो अफ्ठ्यारो छ । चौतारामा कतिन्जेल बसुरहुँ, चौतारालाई पनि झ्याउ लागिसक्यो होला ।

फेरि पनि मूल्याङ्कन कै कुरा । इदर उदर ।

त्यही नक्सा भएका नभएका सटकमा भाग्न मन लाग्छ । तर पनि के ले रोक्छ केले । जागिर भन्ने कुरा यस्तो चुतिया लाग्छ । झन् नयाँ जागीरमा दरखास्त हाल्नका लागि लेखिएका बुँदाहरु यस्तो घटिया लाग्छ । जीवनका वास्तविकता अनुकुल हुँदै हुदैनन् । पुरा फेक ।

टेम्प्लेटमा बाँच्छन् कि क्या हो सबै जना ।

संसार यसमै रमाएको छ । आफू काम गर्ने सँस्थाको नाम सुनाउँदा नातेदार छिमेकीहरु 'प्रगति भएछ' भन्थे । मलाई प्रगति भन्ने सब्द सुनेर जरो आउँछ । (शब्द पनि अशुद्ध लेखेछु)  । सँगै काम गर्ने एक जना कम ढोँगी दाइ छन् । अस्ति फोनमा उनलाई नि कसैले यस्तै प्रगतिको कुरो सुनाएछन् क्यारे । उनी भन्दै थिए 'प्रगति र दूर्गतिसँग खासै सरोकार राख्दिनँ' । चित्त बुझेको थियो मलाई नि ।

लेख्दै थिएँ । अरु धेरै लेख्थेँ होला ।  उमङ्गले भात सेलायो भनेर धेरै चोटि भनीसकी । यो चाहिँ पारिवारिक मूल्याङ्कन हो ।

दाल, भात, अालु भुजिया, गोलभेडाको अचार र अमलेट । हाम्रो डिनरमा यति धेरै भेराइटी दुर्लभ हो । आज शनिबार हो ।

आफैंलाई लेखेँ कि अरुलाई लेखेँ । अरुलाई लेखेँ कि तिमीलाई लेखेँ । कति ठाउँमा ठीक्क पार्न लेखेँ होला ।
सामाजिक मूल्याङ्कनदेखि नडराउने प्रयास गर्दैछु ।


'You know what you did. You dont need to tell others'

तिम्रो म
२०१५ जनवरी २३
८:४८ साँझ














Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.