Skip to main content

खोइ मेरो देश ?

मुस्ताङ जिल्लाको जोमसोम नपुग्दै आउने मार्फा गाउँमा कालिगण्डकी नदीपारि एउटा बस्ती छ । जीर्ण झोलुंगे पुललाई चौबीसै घन्टा हुर्रेर चल्ने हावाले लिन्ठिङ-लिन्ठिङ हल्लाइरहन्छ । हावाले ज्यानसमेत हल्लाइदिन्छ कहिलेकाहीँ । बुद्ध धर्मका मन्त्र लेखिएका ध्वजापताका पुलभरि बाँधिएका छन् । पुलका फलामे डोरीलाई चपक्क समातेर मुन्तिर गडगडाएर बगिरहेको कालो गण्डकीलाई नियाल्दै लामो सास फेरेर यो पुल तर्छ यहाँ पुग्ने कुनै नौलो मान्छे ।

पुलपारि जंगल छ । स्याउको जंगल । जंगल छिचोलेपछि भेटिने बस्तीको ठेगाना राजनीतिक नक्सामा भए पनि यहाँका मान्छेहरूको मनमा न कुनै देश छ न कुनै ठेगाना ।

तिब्बती क्याम्पको नामले चिनिने यो बस्तीमा ४५ घर छन् । जनसंख्या २ सयभन्दा अलि बढी होला । बस्तीको सुरुमै समुदायले चलाएको एउटा गेस्टहाउस भेटिन्छ । यदाकदा तिब्बती शरणार्थीहरूप्रति दया पलाएर यो सामान्य गेस्टहाउसमा पाल्ने कुइरेहरूबाट उठेको रकम यही बस्तीकै हितमा खर्च गरिन्छ ।

कम्युनिटी गेस्टहाउसमा यसपटक दादुराको खोप लगाउन आएको टोली झुलुक्क झुल्कियो । गाउँभरिका बच्चालाई खोप लगाएपछि डाक्टरको सल्लाहमा चार कक्षासम्म पढाइ हुने स्कुलमा पनि हाफ डे छुट्टी भयो । दादुराको खोप लगाउन आएको टोलीले हात चाट्दै भात खाएर बिदा भएपछि गेस्टहाउसका म्यानेजर र स्कुलका पि्रन्सिपल डाक्पा किचनको कुनामा बसेर स्याउको छ्याङ खान थाले एक्लै भावुक भएर । एक ग्लास घिउ कलरको छ्याङ टक्य्राउँदै उनले भने, 'सर प्योर हो । प|mुट्सबाट बनाएको टिब्बेटन वाइन । काठमाण्डुको जस्तो केमिकल मिसाएको होइन ।'

डाक्पा त्यतिखेर ४, ५ वर्षका मात्र थिए जतिबेला उनका आमाबाबु बिते । पोखराको हेम्जामा शरणार्थी क्याम्पमै जन्मेका डाक्पालाई तिब्बतबाट नेपाल भागेर आउँदाका कथा सुनाउने कोही भएनन् । नेपालमा जन्मेर ४० नाघिसकेका डाक्पा आफ्नो परिचयबारे सधैं कन्फ्युज्ड छन् । आफूलाई टिबेटन भन्छन् । तर तिब्बत त एकादेशको कथा पो हो त । १९४९ मा चिनियाँ आक्रमणपछि धेरै तिब्बतीहरू भागेर नेपालमा शरण लिन आइपुगेका हुन् । डाक्पा दोस्रो पुस्ताका शरणार्थी हुन् । जो नेपालमा जन्मिए । डाक्पाले पनि धेरै नेपालीले जस्तै तिब्बतीको बारेमा किताबमा लेखिएका कुरा मात्रै पढेका छन् । नदेखेको र नपुगेको एउटा बिरानो भूमिसँग जोडिएको ६० वर्ष पुरानो परिचयको त्यान्द्रो समातेर डाक्पा अझै भन्न बाध्य छन्, 'म टिब्बेटन हो ।'

हेम्जामा बाआमा बितेपछि डाक्पा भारतका बालमन्दिरहरूमा पढ्न पुगे । १९९८ मा मुस्ताङको यो क्याम्पमा फर्केर आए र स्कुलमा बालबालिकालाई पढाउन थाले । जिन्दगी यसैगरी चलिरहेको छ । डाक्पा न सुखी छन् न दुःखी छन् । उनको हाँसो मिठो छ । राष्ट्रियताको कित्तामा डाक्पाजस्ता अरू थुप्रै तिब्बती शरणार्थीहरू कहाँ उभिने हो उनीहरूलाई नै थाहा छैन ।

मैले निष्ठुरी भएर डाक्पालाई फ्याट्टै सोधेँ, 'नेपालको माया लाग्छ कि लाग्दैन ?' डाक्पाको सहज र कन्पिmडेन्ट जवाफ आयो, 'लाग्छ, किन लाग्दैन । नेपाल सुखी भयो भने हामी सुखी हुन्छौं, नेपाल दुःखी भयो भने हामी दुःखी हुन्छौं । यहाँको पोलिटिक्सले हामीलाई पनि चिन्ता लाग्छ ।'

समस्या परिचयको मात्रै रहेछ । राज्यले सही गरेर दिने एउटा कागजको टुक्रा, जसलाई नागरिकता भनिन्छ, त्यही नागरिकता नपाउनुले डाक्पाजस्ता तिब्बतीहरू नेपालमा जन्मेर ४ दशकभन्दा बढी बाँचिसक्दा पनि परिचयविहीन छन् । डाक्पा भन्छन्, 'आईए बीए पढेका, सीए पढेका, डाक्टर पढेका सबै छन् यहाँ । नागरिकताबिना काम नपाइने रैछ । प्रब्लम छ ।'

आफूले दिनदिनै स्कुलमा पढाउने नानीहरू ः जो नेपालमा जन्मेका तेस्रो पुस्ताका अनागरिक हुन्, नेपालमै जन्मेका आमाबाबुबाट जन्मेका यी गैरनेपाली नानीहरूको भविष्य पनि डाक्पाले सुन्दर देखेका छैनन् ।

िि

गिाउँपारि बजार छ । मार्फा बजार । मार्फा बजारका पुराना गल्लीहरूमा यही क्याम्पका थुप्रै शरणार्थीहरूको उपहार पसल छ । आजकल बजारमुन्तिर सडकमा बस र जिप चल्छन् । पहिलेजस्तो कुइरेहरूको भीड लाग्दैन पसलमा । सुनसान गल्लीका उपहार पसलमा ग्राहक ढुकेर बसेका देखिन्छन् तिब्बती शरणार्थीहरू ।

मिङमारको उमेर ३३ वर्ष भयो । उनी पनि नेपालमै जन्मेकी हुन् । उनका दुई नानीहरू पनि छन् । मिङमार दिनभरि पसलमा ग्राहक कुरेर बस्छिन् । पसलअघिल्तिर हिँडिरहेका कुइरे देखिन् भने 'प्लिज कम इनसाइड' भनेर बोलाउँछिन् । बेलाबखतमा थर्मसमा राखिएको घिउ हालेको चिया कपमा खन्याउँछिन् । कानमा लगाउने झुम्का र हातमा लगाउने तिब्बती गहनाका पुराना मक्केका धागोमा नयाँ धागो हालेर बसिरहन्छिन् । वर्षमा एक दुईचोटि छोरीहरूलाई घुमाउन भारतका केही तीर्थस्थल जान्छिन् । उनका छोरीहरू पनि क्याम्पकै स्कुलमा पढ्छन् । मिङमार त्यति राम्रो नेपाली बोल्दिनन् । उसो त मिङमार मात्र होइन क्याम्पका अधिकांश नेपालीमा बोल्न सहज महसुस गर्दैनन् । यहीँ जन्मेर दशकौं बाँचिसक्दा पनि नेपाली भाषा अझै सहजसँग बोल्न नसक्नुले यो समुदायको अरू समुदायसँग हुने अन्तरक्रिया कति पातलो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । भन्न खाजेको यो समुदाय कति एक्लो रहेछ ।

मिङमारको पसलमा कुनै सामान बार्गेन नगरी किनिदिने सर्तमा पनि उनले माइक्रोफोन अगाडि अन्तर्वार्ता दिन मानिनन् । कारण उही दोहोर्‍याउँथिन्, नेपाली राम्रो छैन । उनले 'अर्को साल आउनुस् अनि अन्तर्वार्ता दिउँला' भनिन् ।

मिङमारकै पसलमा झुलुक्क आइपुगिन् थुक्तेन डोल्का । ४४ वर्षकी थुक्तेनलाई आमाले डोल्पामा पाएको रे । आमाबाबु तिब्बतबाट भागेर नेपाल आइरहँदा बाटोमा जन्मेकी हुन् थुक्तेन । पछि बाआमा भर्खरकी छोरी बोकेर काठमाण्डुमा स्वयम्भू र बौद्धको दर्शन गर्न गए । अनि फर्केर आई यही हिमालको काखमा रहेको शिविरलाई आफ्नो थलो बनाए ।

एउटा मान्छेको जिन्दगीमा ४४ वर्षले के अर्थ राख्छ ? थुक्तेन त आफ्नो जिन्दगी दुःख सुखमा बितिसकेको बताउँछिन् । उनलाई फेरि छोराछोरीको पो चिन्ता छ त । १२ कक्षासम्म जसोतसो पढाए पनि त्यसमाथि पढ्न पैसा चाहिन्छ । पढेर पनि के गर्ने शरणार्थीलाई कसले काम दिन्छ र । काम गर्न नागरिकता चाहिन्छ ।

मिङमारको पसलभन्दा अलि पर कर्माको पसल छ । कर्माका दिनहरू पनि धेरैजसो ग्राहक कुरेरै बित्छ । खास भन्ने हो भने, मेरो पहिलो भेट कर्मासँगै भएको थियो । उनको पसलमा राखिएको एउटा पुरानो श्यामश्वेत तस्बिरबाट सुरु भएको कुराकानीका क्रममा उनले नै क्याम्पमा जान अनुरोध गरेका थिए । झोलुङ्गे पुल तरेर क्याम्प पुगेको थिएँ म । क्याम्पका युवाहरू पनि बोल्न साह्रै हिच्किचाएको अनुभव फर्केर आएर कर्मालाई सुनाएको थिएँ । कर्मा भन्दै थिए, 'टिबेटनहरू साह्रै सोझा हुन्छन् । हाम्रोभित्रको मिटिङमा मुठ्ठी कस्छन्, बाहिर बोल्न पनि सक्दैनन् ।'

कर्माको उमेर ३५ वर्ष भयो । उनी पनि नेपालमै जन्मेका हुन् । भनिरहन पर्दैन उनी पनि गैरनेपाली हुन् । अहिलेसम्म बिहे गरेको छैन । बिहे गर्न पनि मन छैन । कारण भन्छन् कर्मा, 'बिहे गरेपछि भविष्य र देश नभएको अर्को पुस्ता जन्मिन्छ ।'

कमसेकम बोलीमा कर्मा सबैभन्दा क्रान्तिकारी देखिए । आफ्ना समस्या भन्न पनि डराउने यो समुदायमा कर्माले समस्या धेरैलाई पोखिसकेका छन्, गाउँ डुल्न आएका पूर्वराजा ज्ञानेन्द्रदेखि अमेरिकी राजदूतसम्मलाई ।

देश नहुनुको पीडा कस्तो हुँदो रहेछ कर्मा ? निकै दबेको आवाजमा कर्माले भने, 'संसारमा सबैभन्दा ठूलो पीडा नै शरणार्थी भएर बाँच्नु रहेछ । आमा नहुनुको पीडाजस्तै हुन्छ देश नहुनुको पीडा ।'

तिब्बती हस्तकलाको कर्माको पसलमा एउटा पुरानो तस्बिर छ । श्यामश्वेत तस्बिर । १९६४ को तस्बिर हो त्यो । जहाँ कर्माका बाबु बन्दुक बोकेर उभिएका छन् । कर्माका बाबु खम्पा विद्रोही थिए । तिब्बत कब्जा गरेको चिनियाँ सेनाविरुद्ध लड्न तयार पारिएको भूमिगत विद्रोही जत्थाका एक ठूलै कमान्डर थिए कर्माका बाबु । कर्मा भन्छन्, 'सीआईएले हात झिक्यो । विद्रोह असफल भयो ।' कर्माका बाबु त्यो फोटो खिचाउँदा सीआईएको तालिम लिन अमेरिकाको कोलोराडो गएका थिए ।

एउटा योद्धा बाबुको छोरा पसलमा हस्तकला बेचेर बस्छ । भात खाने मेलो त्यही हो । जुन देश छोडेर बाआमा आए त्यो देश त आफ्नो हुँदै भएन, जुन देशमा जन्मेर ३५ वर्ष काटियो त्यो देश पनि आफ्नो हुन सकेन । अरू धेरैका जस्तै कर्माको पनि समस्या परिचयको हो जसले उनलाई जिन्दगीभर दोधारमा पारिरह्यो । कर्माको देश खोइ ? सायद उनी शरणार्थी क्याम्प जाने बाटोमा पर्ने झोलुङ्गे पुलजस्तै हुन् जुन दुई किनारमा बाँधिएको छ । न वल्लो किनाराको हो, न पल्लो किनाराको । अनि हावाले बेजोडले हल्लाइरहन्छ, लिन्ठिङ-लिन्ठिङ ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.