Skip to main content

जसले 'भगवान’ खोजिन्

यो रहस्यै रहस्यको दुनियाँ हो । मानवजाति र ब्रह्माण्डका धेरैजस्ता रहस्यहरूलाई या त कविहरूले अन्टसन्ट व्याख्या गरिदिएका छन्, या धर्मशास्त्रले या त विज्ञानले । विज्ञानको व्याख्या पनि कहाँ सधैं स्थिर छ र ? कुनै समय त्यही विज्ञानले गरेको व्याख्या कालान्तरमा झूटो सावित हुन्छ र त्यही विज्ञानले नयाँ परिभाषा जन्माउँछ । मान्छे मात्र होइन, सत्य पनि जन्मन्छ र मर्छ ।

विज्ञानका सत्यहरू, या भनौं व्याख्याहरू थुप्रै अनुसन्धान, खोज र वस्तुगत प्रयोगबाट जन्मिएका हुन्छन् । त्यसैले सूर्य किन आकाशमा छ ? जून किन चम्किन्छ, तारा किन उदाउँछन् जस्ता प्रश्नबारे कविहरूले दिने व्याख्याभन्दा विज्ञानले दिने व्याख्या यथार्थ नजिक हुन्छ ।



यी तमाम प्रश्नहरूको केही हदसम्मको जवाफ संसारले गएको जुलाई महिनामा पायो । ब्रह्माण्डमा कुनै पनि वस्तुको अस्तित्वको कारण पत्ता लगाउँदै छ एउटा विशाल प्रयोगले । साधारण तरिकामा भन्ने हो भने यो प्रयोगको उद्देश्य नै आकाशमा किन जूनतारा छन्, हामी किन छौं । हामी कहाँबाट आयौं भन्ने कुराको जवाफ खोज्नु नै हुनेछ । युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगले एउटा सनसनीपूर्ण नतिजा दिनेछ । जसले भौतिक विज्ञानले संसारलाई हेर्ने दृष्टिकोणमा एउटा अभूतपूर्व उपलब्धि सिर्जना गरिदिनेछ ।

स्विट्जरल्यान्ड र प|mान्सको सिमानामा जमिनबाट १ सय मिटर तल झन्डै २७ किलोमिटर लामो सुरुङको रूपमा रहेको प्रयोगशालामा ३ वर्षदेखि ३ हजारभन्दा बढी वैज्ञानिक रातदिन खटिरहेका छन् । उनीहरूले यसै वर्ष घोषणा गरिदिए, 'अहिलेसम्म अनुमानमात्रै गरिएको, तर छ कि छैन भनेर प्रमाणित हुन नसकेको हिग्स बोसोन नामक पदाार्थको अस्तित्व भेटियो है ।' वैज्ञानिकहरूको शब्दमा यो पदार्थ नै सृष्टिकर्ता हो । कसैले ईश्वरलाई सृष्टिकर्ता मान्छ भने यो पदार्थलाई ईश्वर मान्दा हुन्छ ।

गएको जुलाई महिनामै 'हिग्स बोसोन'को अस्तित्व रहेको सार्वजनिक भए पनि थप प्रमाण र व्याख्याको खोजी भइरहेको छ । दशकौं लामो खोजको नतिजालाई यथेष्ट प्रमाण र प्रयोगबिना फ्याट्टै घोषणा गरिदिन कहाँ मिल्छ । जमिनमुनि सुरुङमा भौतिकशास्त्रको अहिलेसम्मकै ठूलो प्रयोगशालाले यो विशाल उपलब्धिलाई घोषणा गर्न पनि केही प्रमाण र प्रयोग पर्खिरहेको छ ।

लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशालामा खोजीमा लागिपरेको ३ हजार वैज्ञानिकहरूको टोलीलाई नेतृत्व गर्ने व्यक्तिचाहिँ एक महिला हुन् । फेबियोला जियानोट्टी । भौतिक विज्ञान सधैं पुरुषप्रधान रहिआएको छ । यस विज्ञानको पनि एउटा महान् अन्वेषणलाई नेतृत्व दिनु चानचुने काम होइन । फेबियोला यस वर्ष 'टाइम' पत्रिकाको वर्ष व्यक्तिको दौडमा अमेरिकी राष्ट्रपति बाराक ओबामा नजिकै थिइन् । तर कहिल्यै नाम नसुनिएकी एउटी महिला वैज्ञानिकले एउटा नेतालाई कहाँ जित्न सक्छ र त्यसमाथि मिडियाले दिने उपाधिमा । त्यसैले ओबामा वर्ष व्यक्ति भए, फोबियोला पाँचौं नम्बरमा परिन् ।

५१ वर्षकी फेबियोलाको पृष्ठभूमि आमभौतिकशास्त्रीको भन्दा फरक छ । धेरैजसो वैज्ञानिकजस्तै उनी बाबुको साइकल पसलमा अथवा ग्यारेजको ल्याबमा हुर्केर वैज्ञानिक भएकी होइनन् । उनकी आमा साहित्य र संगीतको विद्यार्थी थिइन् भने बाबुचाहिँ भूगर्भविद् । शैक्षिक जीवनको प्रारम्भमा फेबियोलाले आमाको बाटो समातिन् । उनी साहित्य र दर्शन पढ्न थालिन् । साहित्यका कल्पनाशील दुनियाँ र दर्शनशास्त्रका असीमित प्रश्नहरूमा घोत्लिँदै गर्दा एक दिन उनको दिमागमा फुर्‍यो, 'साहित्य र दर्शनले उब्जाएका यी प्रश्नहरूको जवाफ केवल विज्ञानले दिनेछ । भौतिक विज्ञानले ।'

हुन त फेबियोला एकैचोटि ब्रह्माण्डको रहस्य लुकेको हिग्स बोसोन पदार्थको खोजीमा लागेकी होइनन् । सायद त्यतिबेला उनलाई रुचि पनि थिएन । तर विज्ञानमा पनि छुने र स्पर्श गर्ने विधामा रुचि राख्ने उनी बिस्तारै पदार्थ विज्ञान र यसका रहस्यतिर आकषिर्त भइन् । जीवनको उत्तरार्द्धमा उनी विज्ञानको एउटा रहस्य पत्ता लगाउन चौथाइ शताब्दी लामो प्रयासबाट जन्मिएको एउटा विशाल, विशाल प्रयोगशालाको नेतृत्वमा पुगिन् ।

कलाको इतिहास र रोमन दर्शन पढिरहेकी एउटा विद्यार्थीले हाम्रो अस्तित्व किन ? भन्ने एउटा ठूलो प्रश्नको जवाफ खोज्न भौतिक विज्ञानलाई रोजिन् । उनी कार्यरत प्रयोगशालाकै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा फेबियोलाले भनेकी छन्, 'दुर्भाग्य नै भन्नुपर्छ भौतिक विज्ञानलाई पुरुषप्रधान, रूखो र संवेदनाविहीन विधाका रूपमा व्याख्या गरिन्छ । तर त्यो सत्य होइन, भौतिक विज्ञान कला हो, सुन्दरता हो र लय हो ।'

लार्ज हेड्रोन कोलाइडर नामको प्रयोगशाला चानचुने हैन । जमिनमुनि २७ किलोमिटर लामो बाटोमा पदार्थका प्रोटोनहरूलाई विपरीत दिशामा झन्डै प्रकाशको गतिमा कुदाएर ठोकाइन्छ र ठोक्किँदा भएको विस्फोटबाट जन्मेका पदार्थ नै हिग्स बोसोन हुन सक्छन् र ब्रह्माण्डका केही रहस्यहरू ।

जुलाई महिनामा हिग्स बोसोनको अस्तित्व फेबियोला नेतृत्वको प्रयोगशालाले पत्ता लगाएपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो । कतिपयले यसलाई 'भगवान पदार्थ'को संज्ञा दिए । तर भौतिक विज्ञानको यो अन्वेषणलाई बुझ्नु आम मानिसका लागि चानचुने कुरा भने होइन । आममानिसले चन्द्रमामा पाइला राखेको कुरा बुझ्छ, कुनै गम्भीर रोगविरुद्धको सुई पत्ता लगाएको बुझ्छ, विनाशकारी बम निर्माण भएको बुझ्छ तर स्वयं वैज्ञानिकहरूलाई नै दशकौंसम्म रनभुल्ल पारेको हिग्स बोसोनलाई कसरि बुझ्ने ?

विश्व ब्रह्माण्ड, तपाईं, हामी । हामीले वरपर जे देखिरहेका छौं, हरेक चीज, हो हरेक वस्तु पदार्थले बनेको हुन्छ । पदार्थ एटम र मोलिक्युलले बनेका हुन्छन् । तर ती पदार्थलाई मास अथवा पिण्ड अथवा अलि अवैज्ञानिक तर सजिलो शब्दमा भन्दा रूप दिने कामचाहिँ हिग्स बोसनको हो । भौतिक विज्ञानका सूत्र र सिद्धान्तहरूमा हिग्स बोसोन पहिलेदेखि नै थियो । तर यसको अस्तित्व पुष्टि र प्रमाणित भइसकेको थिएन । जुन त्यही युरोपियन आणविक अनुसन्धान संगठनको प्रयोगशालाले लगभग पुष्टि गरेको छ ।

७ हजार टन वजन भएको प्रयोगशालाको दैनिकी, वैज्ञानिक रणनीतिहरू र सम्पूर्ण दैनन्दिनी फेबियोलाको काँधमा छ । जुलाईमा हिग्स बोसनको अस्तित्व पत्ता लागेपछि, फेबियोला हिरो भइन् । प्रयोगशालाका एक वैज्ञानिकले भनेका थिए, 'उनलाई संंसारले पहिले नै चिन्नुपथ्र्यो । ढिलै भए पनि चिन्यो ।'

हिग्स बोसन पत्ता लाग्नु फेबियोलाकै शब्दमाआगमनविन्दु र प्रस्थानविन्दु दुवै थियो । यो दशकौंदेखिको खोजको निष्कर्ष थियो । हिग्स बोसन पत्ता नलागेको भए भौतिक विज्ञानका अहिलेसम्मका सिद्धान्त र सूत्रहरूले हावा खान्थे । सायद नयाँ सिद्धान्त जन्मिन्थे । यो पत्ता लागेर पनि सबै रहस्यको अन्त्य भएको छैन । बरु थप रहस्योद्घाटन गर्न बाटो खुलेको छ । डार्क म्याटर -कालो पदार्थ) भनिने चीज जसले ब्रह्माण्डको ८० प्रतिशत हिस्सा ओगटेको छ । त्यो के हो ? जस्ता प्रश्न अनुत्तरित नै छन् ।

सपना, कल्पना, भावना यी सबै सधैं विज्ञानका नजिक छन् । विज्ञान धेरै हदसम्म कल्पनाशीलताबाट जन्मिन्छ । फेबियोलालाई वैज्ञानिक बनाएको पनि साहित्य र दर्शनले हो । सृष्टिकर्ता पदार्थ हिग्स बोसन पनि अनुमान र कल्पनाबाटै जन्मिएको हो । हिग्स बोसनको अस्तित्व थिएन त बच्चु कैलाशले 'कल्पनाको गगन मुस्कुराउने चन्द्र वदन' नि भन्न पाउने थिएनन् । किनभने हिग्स बोसनबिनाको ब्रह्माण्डमा चन्द्र, सूर्य, पृथ्वी, तपाईं हामी यो अवस्थामा हुने थिएनौं । रहस्यै रहस्यको यो दुनियाँमा मानिसलाई थाहै नभएका कुराको तुलनामा थाहा भएका कुरा धेरै कम छन् ।

आखिर सपना देख्नु नै त रहेछ हरेक कुराको सुरुवात् । फेबियोलाले आफ्ना प्रशंसकहरू, जो धेरैजसो महिला नै हुने गर्छन्, उनीहरूलाई भन्ने गरेकी छन्, 'सपना देख्न नछोड । सपना त्याग्यौ भने जीवनको कुनै मोडमा पछुताउनुपर्नेछ ।'

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.