Skip to main content

डेरियो लोपेज: एउटा नामको कथा

हुन त विलियम शेक्सपियरले 'नाममा के नै छ र ?' भनेका थिए । तर गुल्मी जिल्लाको एउटा गाउँको साधारण परिवारमा जन्मेका सुदीप गौतमलाई जिन्दगीको यात्रामा त्यही नाम नै भारी भयो । ज्यादै पीडादायी थिए त्यस नामसँग जोडिएका संस्मरणहरू । त्यसैले एक दिन उनले आफ्नै नामै परिवर्तन गरेर नयाँ नाम राखे- डेरियो लोपेज । डेरियोको नाम परिवर्तनको प्रसंग अहिले क्लाइमेक्सतिर उल्लेख गरौंला । सुरुमा उनको सफलताकै कुरा ।

बेलायतमा बस्ने २३ वर्षका डेरियो लोपेजलाई १ वर्ष अघिमात्रै सञ्चारमाध्यमले चिनेको थियो, जतिखेर उनी अनलाइनमार्फत सामान बेच्ने प्रख्यात साइट इबेमा टप सेलर भएका थिए । टप सेलर हुनु भनेको बेलायतमा अधिकांशले सामान खरिद गर्न प्रयोग गर्ने वेबसाइट इबेमा वर्षभरिमा सबैलाई उछिनेर धेरै सामान बेच्नु हो । सबैजनालाई उछिन्नु भनेको चाहिँ इबेमार्फत सामान बेच्ने नाम चलेका ठूला कम्पनी र चेन स्टोरहरूलाई पनि उछिन्नु हो ।



डेरियो लोपेज १० वर्षअघि बेलायतमा विद्यार्थी भिसामा रहेका आफ्ना बाबुसँग रहन आफ्नी आमाको पछि लागेर गएका थिए । त्यतिखेर उनीसँग जीवनका विस्तृत उद्देश्यहरू तयार भइसकेका थिएनन् । बेलायतलाई २ वर्ष नियालिसकेपछि १४ वर्षको उमेरमा उनले एक दिन आमाको क्रेडिट कार्डबाट १० पाउन्ड मागे । उद्देश्य थियो एउटा वेबसाइटको नाम रजिस्टर गर्नु ताकि उनले इबेबाट कारोबार गर्न सकुन् । आमालाई वास्तविक उद्देश्य भनेको भए डेरियोले पैसा पाउँदैनथे होला । उनले अर्कै प्रयोजन बताएर पैसा मागेका थिए । वेबसाइट दर्ता गरेपछि उनले इबेमार्फत सामान बेच्न थाले । सुरुमा उनले मोबाइलको सिमकार्ड बेचे । त्यसपछि बिस्तारै मोबाइलका पाटपुर्जा र अन्य सामग्री बेच्न थाले । इबेमा सामान बेच्दा बेच्दा १० वर्षमा उनले निकै पैसा कमाए । अनि नाम पनि कमाए जब उनी टप सेलर भएर बेलायती सञ्चारमाध्यममा छाए ।

इबेसँगै उनले अहिले लन्डन म्याजिक स्टोर नामको व्यवसाय पनि सुरु गरेका छन् । डेरियोले २९ जनालाई जागिर दिएका छन् । उनले वर्षभरि ६० लाख पाउन्डको कारोबार गर्छन् । अर्को वर्ष २ करोड पाउन्डको टार्गेट राखेको बताउँछन् डेरियो ।

गुल्मीको अमरापुरमा जन्मे पनि डेरियोको बाल्यकाल काठमान्डुमै बितेको थियो, आमासँग । हरेक बालकको जस्तै डेरियोको पनि इच्छा आकांक्षा थिए । नयाँ खेलौना, लुगा अनि आकर्षक चीजहरू । र नेपालका धेरै बालबालिकाको जस्तै उनका पनि यी इच्छाहरू सपनामै सीमित हुने गर्थे । डेरियोलाई थाहा थियो, विद्यार्थी भिसामा बेलायतमा रहेका बाबु धेरै कमाउँछन् र आमासँग उनका इच्छा पूरा गरिदिने पैसा थिएन । त्यसैले उनी चित्त बुझाउँथे । सपना त उनले पाइलट बन्ने देखेका थिए । आकाशमा उडेका विमान हेेरेर तरंगित हुने गथ्र्यो उनको मन । उनले यो सपना साह्रै महँगो पर्छ भन्ने पनि बुझेका थिए । १२ वर्षको उमेरमा बेलायत आइसकेपछि पाइलट बन्न सकिएला कि भन्ने झिनो आशा नपलाएको होइन उनको मनमा । तर जब उनले इबेमा पसल थापे । त्यसपछि पाइलट बन्ने सपनालाई धनी बन्ने सपनाले जित्यो । र, यही सपनाले अघि डोर्‍यायो डेरियोलाई ।

हो, पैसा भए कतिपय सपना पूरा हुन्छन् । बाल्यकालको कलिलो मस्तिष्कमा गढेको प्लेन उडाउने सपनालाई डेरियोले सार्थकता दिएरै छाडे । अहिले उनी प्लेन उडाउन पनि सिक्दै छन् सोखको रूपमा ।

डेरियो बिहान ४ बजे उठ्छन् र राति ११ बजेसम्म निकै व्यस्त भइरहन्छन् । बाँकी ५ घन्टा पनि काम र व्यवसायकै कुरा मात्रै दिमागमा खेलिरहन्छ । इबेको काम पनि सजिलो कहाँ छ र ! उनी यसै टप सेलर भएका होइनन् । हरेक ग्राहकको जिज्ञासाको जवाफ दिँदै उनले धेरै रात अनिदो बिताएका छन् । कुनै असन्तुष्ट ग्राहकसँग माफी माग्न ग्राहककै ढोकासम्मै पुगेका छन् । लगनशीलता र कडा परिश्रम भयो भने जे गरे पनि सफल होइन्छ भन्ने मन्त्र छ डेरियोको ।

१२ वर्षको उमेरमा आमाको पछि लागेर बेलायत आउनु उनको जीवनमा टर्निङ पोइन्ट थियो । बेलायतले उनलाई स्वतन्त्रता र अवसर दियो । उनले त्यसको सदुपयोग गरे । 'नेपालमै भइरहेको भए पनि मलाई मन पर्ने केही न केही गरिरहेको हुन्थें, तर बेलायत नआएको भए मेरो जीवन बिल्कुलै यो अवस्थामा आइपुग्ने थिएन ।'

'यहाँ लोडसेडिङ र राजनीतिक हडतालहरू हुँदैनन् । हरेक कुरा सिस्टममा चलेका छन् । पठाएका पार्सल र पत्र एकै दिनमा गन्तव्यमा पुगिसक्छ । र, व्यवसाय गर्नेहरूलाई हरेक किसिमका सुविधा दिइएका छन्, विशेषगरी साना व्यवसायलाई,' आफूलाई सफल बनाउने बेलायती फ्याक्टरहरूबारे डेरियोले यसो भने ।

हुन त, डेरियो सन् २००२ मा बेलायत गएदेखि फर्केर नेपाल आएका छैनन् । मन नलागेर होइन, आउन नभ्याएर । छिट्टै नेपाल आउने योजना छ उनको । नेपालमा पनि थुप्रै अवसर रहेको बताउँछन् डेरियो । 'विशेषगरी प्रविधिमा अन्वेषण र प्रयोगको लागि उर्बर मानिएको विकासशील देशहरूमा अवसर बढी हुने' डेरियोको बुझाइ छ ।

हल्का गुनासो पनि छ डेरियोको नेपाली समाजप्रति, जहाँ राम्रो डिग्री भएका र डाक्टर, इन्जिनियरलाई मात्रै सम्मान गर्ने चलन छ । 'हामीकहाँ अन्तर्राष्ट्रियस्तरका होनहार युवाहरू प्रशस्तै छन्, तर विडम्बना युवाहरू केही गर्न सक्दैनन् भनेर बूढाहरू होच्याएर हेर्ने गर्छन्,' स्वाभाविक रूपमा आफ्नो जन्मभूमि आर्थिक र राजनीतिक रूपमा समृद्ध भएको हेर्ने चाहना छ डेरियोको । उनको बुझाइमा नेपाललाई आर्थिक क्रान्ति चाहिएको छ । त्यसपछि राजनीतिक समस्या आफैं हल हुन्छ ।

सन् १९९० को दशकको नेपाली समाजमा क्षत्री केटी र बाहुन केटाको प्रेम विवाह सजिलै पच्ने विषय थिएन । भयो त्यही । केटीलाई केटाको परिवारले कहिल्यै स्विकारेनन् । अझै पनि स्वीकार गरेका छैनन् । सुदीप गौतमले आफ्ना बाबुको परिवारले आफ्नी आमा र आफूमथि गरेको नमिठो विभेद बाल्यकालदेखि नै अनुभव गरेका थिए । त्यसैले किन किन उनलाई आफ्नो बाबुसँग जोडिएको थर सधैं बोझ लाग्ने गर्दथ्यो । आफ्नो छुट्टै परिचयमा बाँच्नुपर्छ भन्ने धारणा कायम गर्न बाल्यकालको तितो अनुभवले नि सघाएको हुनुपर्छ । त्यसैले सन् २००७ मा सुदीप गौतमले आफ्नो नामलाई पूर्ण रूपमा खारेज गरिदिए र केही कुरासँग साइनो नजोडिएको नयाँ नाम आफैंले रोजेर राखे- डेरियो लोपेज । 'हरेक व्यक्तिको आफ्नै परिचय हुन्छ । चाहे जुनसुकै जात धर्मको होस् आफ्नो जीवन बाँच्न पाउने अधिकार हुन्छ र मानवीय व्यवहारको अपेक्षा हुन्छ । मैले पनि मेरो आफ्नै परिचय चाहेको थिएँ,' डेरियो भन्छन् ।

डेरियोले जस्तै विलियम शेम्सपियरको रोमियो एन्ड जुलियटमा रोमियोले आफ्नो पिताको थर त्याग गरिदिएका हुन्छन् । अनि जुलियटले रोमियोलाई 'नाममा के नै छ र ?' भन्छिन् । जुलियटले त्यतिमात्रै भन्दिनन्, यो पनि भन्छिन्, 'गुलाफलाई जे नाम दिएको भए पनि यसको सुवास यस्तै मिठो हुन्थ्यो,' सायद डेरियो लोपेज बनेका सुदीप गौतम पनि सुवास छर्दै छन्, गुलाबजस्तै ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.