Skip to main content

बेलायत डायरी

मौसम
हुन त मार्च महिना बेलायतमा पारिलो घाम लाग्ने बेला हो । हिउँले खाएका रूखहरूमा हरिया टुँसा पलाउने बेला हो । बाटो छेउका हरिया घाँसहरूमा प्याजी र गुलाबी रंगका मसिना फूल फक्रने बेला हो । तर यसपटक मौसमले पनि नयाँ रेकर्ड कायम गर्‍यो । मार्च महिना २७ वर्षयताकै सबैभन्दा चिसो मार्च बन्यो । हिउँ, पानी र बाढीले हजारौंलाई पीडा दियो । सुन्दर तटीय क्षेत्रमा बाढीले उल्का मच्चायो । ग्यास र बिजुलीको आपूर्ति नहुँदा रोगी, बूढाबूढीहरू मरे । मन्त्रीले ऊर्जा कम्पनीहरूलाई देाष दिए । चिसो मौसमकै कारण गाउँतिरका किसानहरूको भर्खरै ब्याएका भेडाका पाठापाठी मरेको र केही प्रजातिका पुतलीसमेत लोप भएको भन्ने किसिमका समाचार पनि देख्न सुन्न पाइयो । मौसम कार्यालयको 'खराब मौसम'को चेतावनीसँगै अघिपछि घमाइलो हुने मार्च महिनामा एका बिहानै सरकारी ट्रकहरू सडक र फुटपाथमा हिउँ पगाल्ने नुनिलो बालुवा छर्न व्यस्त देखिए । हामीलाई बेलाबखतमा बन्दले पिरोलेजस्तो बेलायतलाई हिउँले पिरोल्छ । राजमार्गमा गुड्दा गुड्दैका ट्रकहरू हिउँले पुरिन्छन् । मानिसहरू घन्टौंसम्म कारमै थुनिन्छन् । यसपालि बेलायती हिउँदले आफ्नो विस्तारित स्वरूप देखायो ।



महारानी

अघिल्लो वर्ष आफ्नो गद्दी आसनको ६० वर्षे हीरक जयन्ती धुमधामसँग मनाएकी थिइन् बेलायती महारानीले । १९५२ तिर केन्याको जंगल घुमिरहेकी एलिजावेथ आफ्ना बाउ, राजा जर्ज छैटौं मरेको खबरसँगै दौडेर बेलायत आएकी थिइन् र गद्दी सम्हालेकी थिइन् । ६० वर्षे शासनकालमा उनले १२ जना प्रधानमन्त्री भोगिसकिन् । बेलायतमै छँदा त्यहाँको आईटीभी भन्ने च्यानलले महारानीको बारेमा प्रसारण गरेको एउटा डकुमेन्ट्री 'हाम्री रानी' टीभीमा हेर्न पाइयो । प्रजातान्त्रिक र राज्यका अधिकांश अंगमा उच्च पारदर्शिता अभ्यास गर्ने बेलायतमा एउटा बैठक भने निकै गोप्य हुन्छ । रानी र प्रधानमन्त्रीबीचको बैठक । हरेक हप्ता प्रधानमन्त्री रानीलाई भेट्न जान्छन् र पोपको नियुक्तिदेखि, साइप्रसको मन्दीसम्मको विषयमा उनीहरूबीच कुराकानी हुन्छ । महारानीले यस्तो संवाद ६० वर्षमा १२ जना प्रधानमन्त्रीसँग हरेक हप्ता गर्दै आएकी छन् । त्यसैले विश्लेषकहरू भन्ने गर्दा रहेछन्, देशको वस्तुस्थिति र विकासक्रम महारानीले जति कसैले बुझेको छैन । भलै राजनीतिक निर्णयमा महारानीको कुनै भूमिका हुँदैन । हुन त, बेलायतका गणतन्त्रवादीहरूको एक समूहले राजतन्त्र फालेर निर्वाचित राष्ट्रप्रमुख हुनुपर्ने माग वर्षौंदेखि राख्दै आएको छ । तर पनि जनमत रानीकै पक्षमा छ । ७० प्रतिशत बेलायती जनता राजतन्त्रसँग खुसी छन् । आर्थिक हिसाबकिताबमा पनि दरबार नाफामै छ । सरकारले महारानीको खर्च र दरबार सञ्चालनको लागि केही पैसा दिन्छ । योबाहेक दरबार मातहत रहेका थुप्रै खेतीपाती र व्यापार व्यवसायले आत्मनिर्भर हुने गरी पैसा कमाउँछ । त्यो पैसा सरकार र दरबार दुवैले बाँड्छन् । राजसंस्थाले कर पनि तिर्छ । १९९० को दशकदेखि महारानीले आफैं कर तिर्ने चलन बसालेकी हुन् । मुख्य कुरा बेलायती पर्यटनको मुख्य आकर्षण महारानी नै हुन् । महारानी र दरबार हेर्न आउने विदेशी पर्यटकले करोडौं खर्च गर्छन् । त्यसैले बेलायतको राजतन्त्र नाफाको बिजनेस हो र राम्रो प्रतिफल दिने लगानी हो ।

अक्सफोर्ड र कलेज पर्यटन

अक्सफोर्डमा भर्ना हुन नपाउने अथवा अक्सफोर्ड विश्वविद्यालय सपनाभन्दा पनि टाढा, धेरै टाढा हुनेहरूले विश्वविद्यालय घुम्न भने पाउँछन्, पैसा तिरेर । टेक्निकल्ली भन्नुपर्दा लन्डनबाट धेरै टाढा नपर्ने अक्सफोर्ड सहरमा विश्वविद्यालयका पुराना भवनबाहेक केही छैनन् । अक्सफोर्ड विश्वविद्यालयका झन्डै ४० वटा क्याम्पस छन् सहरभरि । १४ औं शताब्दीदेखिका पुराना, कलात्मक घरहरू, चर्चहरू सबै विश्वविद्यालय हुन् । ती कलेजहरू अधिकांश पर्यटकका लागि घुम्न खुला हुन्छन् । तर विरलै मात्रै निःशुल्क होलान् । कलेजको इतिहास, विशेषता र पब्लिसिटी हेरी कम्तीमा २ पाउन्डदेखिको टिकट काट्नुपर्छ । भित्र गएर हेर्ने चीज खासै होइन, ढुङ्गामा कुँदिएका कला, भवनका टाकुरा, चर्च, पुराना तस्बिर कतैकतै चर्चमा भायोलिन रेटेर गीत गाइरहेका भक्त-भक्तिनीहरूको अर्केस्ट्रा । हरेक कलेजका इतिहासलाई फेरि विशिष्ट ढंगमा व्याख्या गरेर प्रचार गरिएका छन् । कुनै कलेजको भवनमा ह्यारी पोटर कथा बुनिएको रहेछ, कुनै कलेजको भवनमा एलिस इन वन्डरल्यान्डकी एलिस हराएकी रहेछिन् । हरेक कुरा बेच्न सकेको छ यो देशले । मंगोलियन अनुहारका सयौं पर्यटकहरू क्यामेरा तेस्र्याउँदै ढुङगा ढुङ्गालाई चारै दिशाबाट बिस्तारै नियालिरहेका देखिन्छन् । हामीकहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ, बेलायतमा ढुङ्गा ढुङ्गामा पैसाको बास छ । अक्सफोर्डमा पुग्दा त्यहाँ अक्सफोर्ड साहित्य महोत्सव पनि भइरहेको रहेछ । सहरका दस कुनामा दसवटा सत्र भइरहेका । हरेक सत्रमा भाग लिन पैसा तिरेर टिकट काट्नुपर्ने, कम्तीमा ११ पाउन्ड । टिकट पनि हप्तौंअघि बिक्री भइसक्ने । साहित्य महोत्सवको पोस्टर हेरेर चित्त बुझाउनुपर्‍यो । अनि केही हप्ताअघि जयपुर साहित्य महोत्सवलाई गाली गरेको सम्झें । कम्तीमा जयपुर निःशुल्क त थियो ।

चाइनिज मार्केट, भारतीय दुकानदार

बेलायतका सहरका हाइस्टि्रटहरूमा परम्परागत र कलात्मक घरमा थापिएका ब्रान्डेड पसलहरू धमाधम बन्द हुँदै रहेछन् । मन्दीका सिकार भएका पसलहरूको ठाउँमा सस्ता चिनियाँ मोबाइलका खोल बेच्ने भारतीय पसलहरू खुल्दै रहेछन् । स्टोर बन्द भएका र हुँदै गरेका जानकारी दिने ठूला अक्षरका सूचनाहरू यत्रतत्र देखियो । उपभोक्ताको आकर्षण पनि सस्ता तर उस्तै देखिने चिनियाँ सामानमा बढ्दै रहेछ । सेन्ट्रल लन्डनमा पर्यटकको घुइँचो लाग्ने क्षेत्रका फुटपाथमा पनि गुलाबी रङ मोबाइलका खोल र बेलायती झन्डा छापिएका कप र साँचो झुन्ड्याउने किरिङदेखि पैसा साट्ने सेवा दिनेहरूमा समेत भारतीय अनुहार धेरै देखियो । प्राइस वाटरहाउस कुपर्स नामको कम्पनीले गरेको एक अनुसन्धानअनुसार बितेको एक वर्षमा बेलायतमा दैनिक २० वटाका दरले हाइस्टि्रट पसलहरू बन्द भएछन् । नयाँ ठाउँमा हरेक माल १ पाउन्डमा पाइने सस्ता पसलहरू धेरै खुलेछन् ।

मन्दी र आप्रवासी

गएको वर्ष बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा -नेसनल हेल्थ सर्भिस- एनएचएस) ले गैरबेलायतीहरूको उपचारको लागि मात्रै ३ करोड ३० लाख स्टर्लिङ पाउन्ड खर्च गरेको तथ्याङ्क बाहिर आइरहँदा हिथ्रो विमानस्थलको प्रस्थान कक्षमा राखिएको विशाल टेलिभिजनमा केही एसियाली अनुहारहरू प्रधानमन्त्री डेबिड क्यामरुनको आप्रवासी नीतिसम्बन्धी एक कडा भाषणको प्रत्यक्ष प्रसारण हेरिरहेका थिए । क्यामरुन कराउँदै थिए, 'हाम्रो देशको स्वास्थ्य सेवा निःशुल्क राष्ट्रिय सेवा हो, निःशुल्क अन्तर्राष्ट्रिय सेवा हैन ।' निःशुल्क उपचार दिने बेलायतको स्वास्थ्य सेवा अब आप्रवासीहरूले सित्तै नपाउने नीतितर्फ संकेत गर्दै थिए प्रधानमन्त्री । सन् २०१५ को चुनावमा बेलायतमा आप्रवासीको मुद्दा कडा रूपमा उठ्ने निश्चित छ । तर बेलायतको लागि एसियाली र अपिकीभन्दा पनि युरोपेली आर्थिक क्षेत्रबाट आउने पूर्वी युरोपका लाखौं आप्रवासीहरू सबैभन्दा ठूलो बोझ भएको छ । जसले बेलायतमा बेरोजगार र सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । वर्तमान कन्जरभेटिभ सरकारले अब युरोपबाट आउनेहरूलाई पनि सजिलै आफ्नो देशको यस्ता सुविधामा मोज गर्न नदिने स्पष्ट पारिसकेको छ ।

बेलायतमा आप्रवासीहरूको पछिल्लो तथ्याङ्क हेर्दा सन् २०११ को तुलनामा २०१२ मा बेलायत छिर्ने आप्रवासीहरूको संख्या एक तिहाइले घटेको देखिन्छ । आप्रवासीका पक्षमा वकालत गर्नेहरूले उनीहरूले देशलाई पुर्‍याएको घाटा मात्र नभई दिएको योगदानको चर्चा गरिनुपर्ने बताउँछन् । लेबर पार्टीका एक पूर्वसांसद परमजित धन्दाले ट्विट गरेका छन्, 'हाम्रो कुल गार्हस्थ्य उत्पादनमा आप्रवासीहरूले जति लिन्छन्, त्यसभन्दा ६ प्रतिशत बढी दिन्छन् भन्ने कुरा बिर्सनुभएन ।'

फर्के नेपाली विद्यार्थी

कानुनी र आर्थिक रूपमा बेलायत त्यति उर्बर नभएको अवस्था बुझेर स्वदेश र्फकने नेपाली विद्यार्थीहरूको संख्या पनि बढ्दो रहेछ । सन् २००९ ताका बेलायतले आर्थिक मन्दीलाई मध्यनजर गरी हजारौं विदेशी विद्यार्थीलाई बेलायतमा सजिलै निम्तो दिएको थियो । त्यही मौका छोपेर बेलायत हानिएका थुप्रै विद्यार्थीलाई कालान्तरमा त्यहाँको मन्दीले काउन्टर मात्र दिएन, डेबिड क्यामरुन नेतृत्वको कन्जरभेटिभ सरकारको कडा नीतिले पनि च्याप्दै लग्यो । नेपालमा प्लस टु सकेर हतारमा बिहे गरेर श्रीमतीसहित बेलायत जानेहरू पछि कानुनको सिकार भए । पढाइ सकेपछि २ वर्ष काम गर्न पाइने भिसाको प्रावधान पनि हटाइयो ।

कम्तीमा २ वर्ष पोस्ट ग्य्राजुएट पढाइ गर्नेहरूले मात्र डिपेन्डेन्ट राख्न पाउने भए । यी तमाम कुराबाट आजित भएर नेपाल धमाधम फर्किन थाले विद्यार्थीहरू । 'तर जो, जति, जसरी फर्के, स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्साहका साथ फर्केका छन्,' लन्डन नजिकैको रिडिङ सहरमा बस्ने एकजना नेपाली विद्यार्थीले विश्लेषण सुनाए, 'अब बेलायतमा बस्नका लागि विद्यार्थीहरूसँग पढ्नुबाहेक अरू विकल्प छैन । पढेर कमाउँला वा पढ्दै कमाउँला भन्ने सोचले काम गर्ने अवस्था छैन ।'

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

Letter to Lady diana

Dear Lady Diana,   the coldness in Nagarkot was injecting the liquidity over our bones and vains, the moon was looking at us as you were restricted to join the party, i remember many of my family and frens were present at the party, my mom, her sisters, my cousins and frens of KTV, i fear my girlfriend was not there, Coz she was dancing at another discotheque in the downtown, the distance of 20 miles between me and her was not only meant to mean the absence of warmness. I was getting her texts frequently but, not sending the reply. by the time Lady Diana, you came there with a beautiful white wearings. Surprisingly Harry and William were not with her, but two little girls, i thought they were your daughters that the world never knew about, Diana, you seemed confused to be on that strange place for the first time. My father had told me that when you came to Nepal 20 years ago, you hadn't visited Nagarkot, so i thought this time you are in Nepal to vosit this beautiful places, Naga...

Letter to Reality

Dear Reality, You are really bitter. You are really unwanted. You are shocking, you are disgusting, you are disturbing, you are haunting, you are everything that I dont want you to be. But why you are always there behind the scene? Why you are playing the role of antagonist in my life. I know the reason, Because you are reality. I know you are reality but why I still hate you? I hate you that is the reality. Dear Reality, when I was dreaming to kiss the Mt Everest and drink the milk of paradise, you stopped me. You have always aborted the fetus of my dream. When I was saying I deserve, you were insisting that I dont. Reality, you are the jerk between the colorful transition between me and my angel. You are the reason why I love her and you are the reason why she doesnt. How dare you to be the reason of different feelings at a same time? Dont you ever feel guilty to change your mask frequently? Reality, Why you are always attached with me? you are the only thing conjoined with me th...

A day off

A day off from office, I am fighting with the lazy day in my flat outside the ring road. Ring road is a 20 miles long road that surrounds this crowded city. It has also helped the expansion of the crowd of the city. Ring road has been a status symbol for the neo urban people of this city. So where do you live? Somebody would ask me. I would say sukedhara....hmm what dhara? Is it inside or outside ring road? People inside the ring road think there is no Kathmandu outside ring road. New people who want to settle in kathmandu or want to begin their business prefer to be not far from ring road,