Skip to main content

छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि 'जनता' भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन ।



हुन त हामी हरेक वर्ष यस अवसरको चरम दुरुपयोगको सिकार हुँदै आएका छौं । आधुनिक नेपाली इतिहासका हरेक नयाँ वर्षमा कति शुभशुभ कामनाहरू गरिए होलान् । कति सपना देखाइए होलान् । पोहोर यसै बखतमा नयाँ संविधान बन्लाबन्लाजस्तो सपनाहरू अभूतपूर्व रूपमा वितरण गरिएका थिए । आज एक वर्षपछि ती सपनाहरू केवल पुराना भएका छन्, बितेको वर्षका दिनहरूजस्तै । उही महिना, गते र बारको नयाँ गणना सुरु हुन थालेजस्तै तिनै सपनाहरू अब फरक कलेबरमा फेरि बाँडिनेछन् सायद ।

पोहोर मैले यसै ठाउँमा लेखेको थिएँ, यो साल चुनाव हुने हो भने फेसबुक प्रयोगकर्ताहरूले निर्वाचित संस्थामा तेस्रो ठूलो दल हुने तागत राख्नेछन् । एक वर्ष बित्दा, संसार झन् साँघुरिएको छ । मान्छेका ज्ञान, बुझाइ, चेतना, झन् झाँगिएका छन् । आजको दिनमा फेसबुक चलाउने नेपाली २० लाख पुगेका छन् । जसमध्ये झन्डै पौने १८ लाख व्यक्ति १८ वर्षमाथिका छन् अर्थात् मतदाता । १८ लाखभोटले १ करोड चानचुन मत खस्ने निर्वाचनमा महत्त्वपूर्ण हिस्सा राख्दछ । गणितमै सही, नेपालको एउटा जुझारु, राजनीतिक वितृष्णाबाट वाक्क भएको पुस्ताले चाहने हो भने नयाँ वर्षमा हुने चुनावमा एउटा नाटकीय परिणाम दिने शक्ति राख्दछ ।

हामीमाझ एउटा सिङ्गो दशकले पनि बिदा लिएर गएको छ । नाफा नोक्सानका गणितहरू अलग्गै होलान् । तर बितेको दशकमा हामीले प्रशस्तै सामाजिक, राजनीतिक र आर्थिक कारोबारहरू देख्न पायौं । जुन कारोबारहरूले हामीले सोच्ने र गर्ने तरिकामा विशाल परिवर्तन ल्याइदिए । ६० साल सुरु हुँदै गर्दा ५० हजार इन्टरनेट प्रयोगकर्ता भएको देशमा ७० साल सुरु हुँदा त्यो संख्या ५० लाख पुगेको छ । इन्टेरनेट प्रविधिमात्रै होइन । त्योभन्दा बढी, यो एउटा समाज हो । समाजलाई एकतामा बाँध्ने सूत्र खोज्ने क्रममा पटक पटक नानाभाँतीका उदाहरण बाँडिने र बेचिने हाम्रो समाजमा कम्तीमा एउटा जवान प्रविधिले ५० लाखको समाजलाई बाँध्न सफल भएको छ । मोबाइल फोनले जनसंख्याको आधा आकाशलाई बाँध्यो । सडक सञ्जालले देशको ७३ जिल्लालाई बाँध्यो । बितेका दशकका यी महान् उपलब्धि हुन् । र, यी उपलब्धिका रफ्तार हेर्दा आउने दशकमा हामी झन् धेरै बलियोसँग एक अर्काप्रति बाँधिनेछौं । हामीबीचका दूरीहरू घट्नेछन् ।

बितेको दशकले झन्डै १० हजार किलोमिटर नयाँ सडक दियो देशलाई । देशका ६६ प्रतिशतभन्दा बढी परिवारका लागि नजिकैको बस चढ्ने ठाउँको दूरी आधा घन्टाभन्दा कम समयमा झर्यो । १० वर्षअघि ३७ प्रतिशत परिवार नजिकैको कालोपत्रे सडकबाट आधा घन्टाको दूरीमा थिए । ७० को दशक सुरु हुँदा देशका झन्डै ६० प्रतिशत घरबाट नजिकैको कालोपत्रे सडक पुग्न आधा घन्टाभन्दा कम समय लाग्छ । बितेको दशकले हामीबीच दूरी घटाएको छ । भलै रुकुमको दुर्गम गाउँबाट कतार जानको लागि काठमाडौंको हवाइजहाज बिसौनीसम्म आउने यात्रा अवधि किन नघटेको होस् । दूरदराज मरुभूमिमा भेडा चराइरहेका परदेशीसँगको दूरी मोबाइल फोनले घटायो । वित्तीय संस्थाका विस्तारले, पसिना भजाएर आएको कमाइ गाउँ आइपुग्ने दूरी पनि घट्यो ।

भूराजनीतिक परिधिभित्र हामी आउने दशकमा पनि उही स्थानमा नै हुनेछौं । उत्तरकोरिया र अमेरिकाको सम्बन्ध र इरानको परमाणु कार्यक्रमले हाम्रा लागि अखबारका विदेश पेजमा छापिने समाचारभन्दा खासै बढी अर्थ नराख्लान् । उसो त उत्तरकोरियाले दिने अणुबमको धम्की पनि उसले बर्सेनि मनाउने आफ्ना नेताको जन्मदिनको प्रचार प्रसारको सामग्रीभन्दा बढी कहिल्यै देखिएन । भारत र चीनसँगको सम्बन्ध पनि राजनीतिक वृत्तका तर्क वितर्कहरूमाझ नै अल्भिmरहलान् । अलिउग्र सोचाइ राख्नेले सिक्किमीकरणको खतरा बितेको दशकमा नि देखेकै थिए, आउने दिनमा देखिरहलान् । तर 'अमेरिकी साम्राज्यवाद' र 'भारतीय विस्तारवाद'को व्यावहारिक यथार्थको लागि भने संसारका पात्रोहरू धेरै अघि बढिसके । हामी आफैंले बनाइदिएका स्पेसहरूमा हुने सामान्य विदेशी चलखेलबाहेक राष्ट्रियतामा कुनै प्रस्ट खतरा हुनेछैन आउने दशकमा । त्यो सम्भव पनि छैन । स्वाभाविक रूपमा हुने भुइँचालोका धक्काबाहेक भूराजनीतिका अन्य सानाठूला धक्काहरूले हामीलाई खासै प्रभाव नपार्लान् ।

तर यस वृत्तमा उद्देश्यहीन गरमागरम छलफल, भाषण र बहसहरू भने अपेक्षा गर्न सकिन्छ । यी तपसिलका कुराहरू जे जस्ता भए पनि ६ करोड वर्षअगाडि ठडिएको सगरमाथा कहाँ पर्छ र २६०० वर्षअगाडि शाक्यमुनि बुद्ध कहाँ जन्मिएका थिए भन्ने बहस गर्नको लागि हामी पात्रोमा निकै अगाडि बढिसकेनौं र ?

बितेको दशक हाम्रा लागि शान्तिको दशक पनि रह्यो । ५० को दशकमा युद्ध भोगेको नेपाली समाजले ६० को दशकमा केही ठूला राजनीतिक परिवर्तनसँगै संकटकाल देख्न छाड्यो, निद्रा बिथोल्ने फायरिङ सुन्न छाड्यो, आमाहरूले छोराहरूलाई खाटमुनि सुताउन छाडे, लामो यात्रामा ठाउँ ठाउँमा हुने डरलाग्दा चेकिङ हुन छाडे, आफ्नै देशको जुनसुकै कुनामा घुम्न पनि डर लाग्न छाड्यो, सुतली बम र पाइपबमहरू समाचार बन्न छाडे र सबैभन्दा खुसीको कुरो त प्रेसर कुकरमाथिको अघोषित प्रतिबन्ध हट्यो ।

राजनीतिक पदावलीमा ठूलै घनत्व राख्ने परिवर्तनहरू भए पनि व्यावहारिक रूपमा त्यसका अर्थपूर्ण उपलब्धिहरू भने केही देखिएनन् । देशको लामो इतिहासमा १० वर्षले गौण अर्थ राख्ला । तर एउटा मान्छेको जिन्दगीमा १० वर्ष ठूलै हिस्सा हो । बितेको दशकमा जस्तै आउने दशकमा पनि सस्ता राजनीतिक कमेन्ट्ररीहरू र फुस्रा भाषणमा समाज केन्दि्रत भइरह्यो भने त्यसले नयाँ राजनीतिक अध्यायहरू जन्माउला तर एउटा व्यक्तिको जिन्दगीको गुणस्तर भने खासै उकास्न सक्दैन । औसत आयु ६० वर्ष भएका नेपालीले जिन्दगीका दसौं दस वर्ष सपनामात्रै देख्न खर्चिनु महँगो भएन र ? सपना देखाउनेका त पेसै सपना देखाउनु हो ।

भौतिक रूपमा शान्ति भए पनि मानसिक शान्ति भने खासै छाएन बितेको दशकमा । बेरोजगारीको रापले छटपटाएकाहरू झन् पोल्ने खाडीको गर्मीमा होमिन बाध्य भए । सायद नेपालको इतिहासमा सबैभन्दा धेरै युवाहरू बिदेसिए बितेको दशकमा । समाज बढी महत्त्वाकांक्षी भयो । पाखुरा लाग्नेबित्तिकै गच्छेअनुसार कोही खाडीतिर लागे कोही युरोप अमेरिका लागे । छिमेकीलाई छोरो अमेरिका छ भनेर धाक लगाउने आमाबाबुहरू बिस्तारै एक्लिए । आउने दशकमा नेपाली मध्यमवर्गीय समाजमा झन् धेरै एक्ला, निन्याउरा अनुहारहरू बढ्नेछन् ।

हेटौंडाको कर्रा टोलमा टोलबासी पाकाहरूले एउटा भजन मण्डली खडा गरेका छन् । 'पवित्र' तिथिमितिमा मन भुलाउन घरघरै साँझमा भजन गाउँदै समय कटाउने जमातका अधिकांशका छोराछोरी विदेशमा छन् । विदेशमा रहेका छोराछोरीका जन्मदिनका अवसरमा उनीहरू 'हरिहरि राम जपन, यो जिन्दगी सपना, राम जपन' भन्दै भजन गाउने गर्छन् । आउने दशकमा यी पाकाहरू आँखा कम देख्नेछन्, कान कम सुन्नेछन् । अनि भजन गाउने क्रम पनि बन्दहोला । टोल रित्तै होला सायद ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.