Skip to main content

पूर्व चार नम्बर

ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन ।

धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि, बस, ट्रक, ट्याक्टर र डोजरसम्मले अरुण पार गर्छन् । अरुणपारि भोजपुर । वारि अरुणको तीरैतीर उँभो लागे खाँदबारी ।



भोजपुर बजारबाट दक्षिणतिर पर्ने टक्सार गाविसको पारपानी भन्ने ठाउँमा जान रातोमाटोका भिराला गोरेटा र बाँसघारी छिचोलेर झरिरहँदा सँगै गएका भोजपुरका एक युवा पत्रकार कम नेता युद्धकालको चर्चित गीत गुनगुनाइरहेका थिए, 'अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा बोकेर' ।

१० वर्षअगाडिको युद्धमा त अरुण र तमोर तरेका कुरा गरिन्थ्यो । अझै ७ पुस्ताअगाडि भोजपुर आएका काठमाण्डुका नेवारहरूले के के मात्र तरेनन् होला । अहिले त अरुणमा मात्र हो पुल बन्न बाँकी । तमोरमा धेरै पहिले पक्की पुल बनिसक्यो । राणा कालअघि नै धातुका टक बनाउनका लागि औद्योगिक क्षेत्रको रूपमा विकास भएको रहेछ टक्सार बजार । पछि नजिकैको तामाखानीमा तामा भेटिन छाड्यो । अनि तामाका सिक्का उत्पादन गर्ने टक्सारले काम पाउन छाड्यो । तर अझै पनि टक्सारमा दुई चार घर पुराना नेवारहरू दिनभरि भाँडाकुँडा ट्याक्क टुक्क पारेर बसिरहन्छन् । सडकबाटो हुँदै कच्चापदार्थ बाहिरबाट आउँछ, टक्सारका सिपालु हातले तिनीहरूलाई पोल्छन्, ठोक्छन्, पगाल्छन् अनि चिल्ला भाँडाकुँडा बनाएर बाहिर पठाउँछन् ।

राणाकालपछि सत्र सालसम्म पनि भोजपुरलाई पूर्व चार नम्बर भनेर चिनिन्थ्यो । भोजपुरेहरूको विश्लेषणमा उपत्यकाका ३ वटा जिल्लापछि सुगमताको हिसाबले भोजपुर चौथो नम्बरमा आउँथ्यो रे । त्यसबेला घोडा दौडने बाटो भएका ठाउँलाई सुगम मानिन्थ्यो । भोजपुरमा पक्की घोडेटो थिए । कुनै जमानामा सुगम भनेर चिनिने र अवसरको खोजीमा काठमाण्डुदेखि बसाइ सराइ हुने भोजपुरमा समय कहिलेदेखि टक्क अडियो थाहा छैन । ३ वर्षअघि मात्रै बाहिर दुनियाँसँग सडक बाटोले जोडिएको भोजपुरलाई त आजकल पूर्वको कणर्ाली पनि भन्दा रहेछन् ।

भोजपुरमा भेटिएका चिया पसलेदेखि, विद्यार्थी, नेता, वकिल, पत्रकार सबैको मुखबाट एउटै खाले टिप्पणी सुन्न पाइयो । भोजपुरले थुप्रै अब्बल दर्जाका नेता र प्रशासक जन्मायो तर कसैले भोजपुरलाई बाल दिएनन् । यति भनिरहँदा भोजपुर बजारका व्यापारीहरू दुई चार दिनपछि जिल्ला घुम्न आउने एकजना मन्त्रीको स्वागतमा दुई चार अक्षर लेखिएका फ्लेक्स ब्यानरलाई अआफ्नो पसलमाथि टाँग्दै थिए । मन्त्रीको सवारीलाई लक्षित गरी, प्रहरीहरू सडक नै ढाकेर राखिएका मासु पसल र सेकुवा पोल्ने चुलोलाई भित्र सार्न उर्दी जारी गर्दै हिँडिरहेका देखिन्थे । केन्द्रीय राजनीतिसँग प्रगाढ साइनो राख्न चाहने चल्तापुर्जाहरू घरीघरी मोबाइल थिच्दै आजै एयरपोर्ट आइपुग्ने योजना आयोगका एक पूर्वसदस्यका लागि गाडीको इन्तजाम गर्दै थिए । बजारका पुराना घरका भित्तामा टाँसिएका केपी ओली प्रमुख अतिथि भएको कार्यक्रमको पम्प्लेट दुई चार दिनयताको झरीले खुइलिँदै गएका थिए । केही हप्ताअघि मात्रै भोजपुर आएर जोडदार भाषण गरेर गएका केपी ओलीले भोजपुरबासीसमक्ष प्रस्तुत गरेका उखान टुक्का र किस्साहरू अझै पनि दाउरामै चिया पाक्ने बजारका होटलहरूमा जीवन्त थिए ।

३७ प्रतिशत राईहरू बसोबास गर्ने भोजपुर जिल्लामा, बजारमा एउटा चिया पसलमा किराँत वर्कस पार्टीका एक जल्दाबल्दा स्थानीय नेता पनि भेटिए । नेपाल एकीकरणमा माझकिराँतको विलयदेखि, हिन्दुवादी केन्द्रीय राज्यसत्ताले गरेका अन्याय अत्याचारका थुप्र्रै उदाहरण उनले हक्की रूपमा प्रस्तुत गरे । मदिराकी आविस्कारक सुम्निमा र आर्किटेक्ट इन्जिनियर पारुहाङलाई शिव-पार्वतीको रूपमा कसरी अपव्याख्या गरिन्छ भन्ने तर्क पनि दिए । नेता महोदयका गहकिला कुरा सुनेपछि यसो बजार घुम्न निस्किँदा बजारमा रहेको निकै सुन्दर, आकर्षक र प्रख्यात ढुंगेधारा 'सातधारा'तिर पुगियो । सातधारा व्यवस्थापन समितिको नाम मार्बलमा कुँदेर राखिएको थियो । नामहरू सरर पढेँ । एकजना पनि राई रहेनछन् त्यो समितिमा । थाहा छैन, गाउँको ढुंगेधारा बनाउने समितिमा कसरी केन्द्रीय राज्यसत्ताले बहुल राईहरूलाई पाखा लगाएछ ।

काठमाण्डुतिरै थोरबहुत संगत भएका युवा संगीतकार श्याम सामसोन संयोगवश भोजपुर बजारमै भेटिए । उनी विकटताको दोष नदीलाई दिन्थे । एकातिर दूधकोसी अर्कातिर अरुण । अनि पुल नभएको नदीबाट विकास के चढेर आउनु भोजपुरसम्म ?

उसो त ३ वर्षअघि सडक आएपछि भोजपुरमा फाट्टफुट्ट बैंक र निजी अस्पताल खुल्न थालेका छन् । मासु बेच्ने प|mेस हाउसहरू खुलेका छन् । लोकल कुखुराको मात्रै ससाना अण्डा पाइने चिया पसलमा विकासे अण्डा पनि पाइन थालेको छ । सेतो कमेरोले पोतेका घरहरूको ठाउँमा आधुनिक तरिकाका घर बन्न थालेका छन् । एनजीओ र आईएनजीओका गाडीहरू पनि आक्कलझुक्कल आउन थालेका छन् । गाउँबाट बजार बन्दै छ भोजपुर । तर अफसोस, ७ पुस्ताअघि थुप्रै नदी तरेर भोजपुर बसाइ आएकाहरू अब फेरि भोजपुर छाडेर फकर्ंदै छन् । कोही धरान धनकुटा र मधेस झर्दै छन् । कोही काठमाण्डुमा घरजम । 'हाम्रा केटाकेटीहरू यहाँ बस्नै मान्दैनन् नि' पुस्तौंदेखि भोजपुरमा खुकुरी उत्पादन गर्दै आएका एक श्रेष्ठ थरका व्यापारीले काठमाण्डुको इमाडोलमा घर किनेको सुनाउँदै थिए ।

बाटोसँगै सपना र आशा पनि भित्रिएका रहेछन् भोजपुरमा । विदेशी संस्थाले ट्र्याक खोलिदिएको बाटोले खोटाङको दिक्तेल भेट्दो रहेछ । बाटो पिच होला र सरर एकै दिनमा दिक्तेल, ओखलढुङ्गा हुँदै मध्यपहाडी राजमार्गमा काठमाण्डु पुगौंला भन्ने सपना पनि व्याप्त छ । तर वास्तविकता, एक झर पानी परेपछि सडकमा ट्याक्टरबाहेक केही गुड्न सक्दैनन् । भोजपुरबाट बस चढेर धरानपुगेर अर्को बसमा चढेर काठमाण्डु पुग्ने भाडा २५ सय तिर्नुपर्छ ।

घाँसे मैदानमा टक्सार विमानस्थल छ । सरकारीबाहेक अर्को एउटा निजी कम्पनीले पनि हप्तामा एकचोटि प्लेन ओराल्छ । टिकट पाउन ठूलै पहुँचवाला हुनुपर्छ । नेपाल एयरलाइन्सको काउन्टरबाहिर एउटा सूचना पढ्न पाइयो, 'फलानो फलानो गते फलानो मन्त्री आउने भएकाले यहाँबाट वितरण गरिने ८ वटा सिटमध्ये ७ वटा उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ ।'

विमानस्थल पायक ठाउँमा नभएकाले वैकल्पिक विमानस्थलको रूपमा दुई तीनवटा गाउँ प्रस्ताव गरिएको रहेछ । ती प्रस्तावित गाउँका मान्छे आफ्नो गाउँ छेउमा नयाँ एयरपोर्ट बन्ला भनेर आस गरेर बस्दा रहेछन् ।

भोजपुरमा विमानसम्बन्धी दुईटा रमाइला किस्सा सुन्न पाइयो । विमानस्थलमा अवतरण गर्ने नियमित रुटमा बादल लाग्दा विमान अर्कोतिरबाट एक चक्कर घुमाएर उचाइ कम गदर्ैै अवतरण गरिँदो रहेछ । तर बजारका मान्छेहरू भने भोजपुरकै एकजना पाइलटले प्लेन उडाएको दिन आफ्नो गाउँलाई एक चक्कर मारेर मात्रै ल्यान्ड गर्छ भन्दा रहेछन् ।

भोजपुर विमानस्थलमा जहाज बसेको हेर्न जाँदा बजारका तिनै पत्रकार कम नेता पनि सँगै थिए । उनले यत्ति रमाइलो गफ दिए कि, काठमाण्डु जाने जहाज उड्न ठिक्क परेको थियो । उनी जहाजको रुटबारे पूर्वानुमान गर्दै थिए 'ऊ त्यो डाँडो यस्सो नाघेर जान्छ होला ।' जहाज उड्यो । उनले भनेको डाँडो ननाघी जहाज सोझै गयो । उनले कुरा मिलाए, 'त्यो ट्याम्के डाँडो हो, त्यहाँबाट राम्रो दृश्य देखिन्छ । म भएको भए पाइलटलाई त्यतैबाट उडाएर लैजानु भन्थेँ ।' उनले जोक गरेको शैलीमा भनेका थिएनन् ।

कान्तिपुर कोसेलीमा प्रकाशित

Comments

Popular posts from this blog

गुगल गर्ने कि !

प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि गुगल प्रयोग गर्ने संसारका कूल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतमा तपाईं पनि पर्नु हुन्छ होला । त्यसो भए तपाईंले गुगलमा धेरै जसो के खोज्नु हुन्छ ? सूचनाको विशाल डाटावेश बोकेको गुगलको सर्भरबाट तपाईंले अत्याधिक फाइदा लिनु भएको छ त? हामीमध्ये कतिलाई त गुगलबाट के के समेत खोज्न सकिन्छ, अनि सही सर्च रिजल्टका लागि कसरी सर्च गर्ने भन्ने टीप्स एण्ड ट्रीक्स थाहा नहुन पनि सक्छ । आउनुहोस् आज हामी गुगलमा केही रमाइला अनि केही ज्ञानबर्द्धक सर्च गरौं।

ट्याक्सी नम्बर ५९५९

गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । गोरखपुरबाट बिस्तारै हिँडेको पूर्वान्चल एक्सप्रेस कहिले तुफान हुन्थ्यो कहिले कुनै अनजान पटरीमा अर्कोतिरबाट आएको रेलगाडीलाई साइड दिन घन्टौं कुरेर बस्थ्यो । रेलका हरेक डिब्बामा कम्तिमा चार वटा शौचालय हुन्छन् । तर यसरी अन्जान ठाउँमा रेल रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त जमीनमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । स्टेशन न स्टेशन, कोही कोही प

Question

I love questions without answers And answers without question Tell me Would you answer Or question? Sometimes no question is question And silence Is the best answer How many questions exist between One silence to another silence How many answers Lie between One question to another I love moments without memories And memories without moments Would you be My memory or moment? If you asked me same question I would rather be silent.